©नेत्र बहादुर कार्की
काठमाडौँ । महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा सहभागी हुनेबारे छलफल शुरू गरेको छ । यसबारे आधिकारिक छलफलसँगै आवश्यक निर्णय लिनका लगि बुधबार (भोलि) केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै छ । उक्त बैठकले यसबारे थप छलफल गर्ने र आवश्यक निर्णय लिने नेताहरूले बताएका छन् ।
लोसपाले सरकारमा सहभागी हुनका लागि मापदण्ड बनाउन र आवश्यक मागमुद्दा सरकारलाई सम्बोधन गराउनका लागि एक कार्यदल नै बनाएको छ । नेताद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला सम्मिलित कार्यदलले अहिलेको सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेससँग विभिन्न चरणमा वार्तासमेत गर्दै आएको छ । तर, ठोस सहमति भने जुटिनसकेको केन्द्रीय कार्यकारिणी समिति सदस्य एकवाल मियाँले बताए । ‘सरकारमा सहभागी हुने कुरा नयाँ होइन,’ उनले भने, ‘यसमा विभिन्न चरणमा हाम्रो कुराकानी भइरहेको छ । तर, ठोस सहमति भने भएको छैन ।
त्यसो त शेरबहादुर देउवा नेतृत्वको सरकारलाई लोसपाले शुरूदेखि नै समर्थन गर्दै आएको छ । असार २९ गते प्रधान मन्त्रीमा नियुक्त भएका देउवाले साउन ४ गते सदनबाट विश्वासको मत लिएका थिए । त्यक्तिबेलै पनि लोसपाले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । पछिल्लो एमसीसीको सन्दर्भमा पनि लोसपाले सरकारको कदमको समर्थन गरेको छ । नेपाली कांग्रेसकै जोडबलमा सदनबाट पारित भएको एमसीसीमा लोसपा पक्षमा उभिएको थियो ।
कांग्रेसले पनि लोसपालाई सरकारमा तान्नका लागि प्रयास गरिरहेको छ । हुन त उसलाई अंकगणितीय रूपमा लोसपाको आवश्यक्ता पर्दैन । तर, कांग्रेसले प्रतिनिधि सभामा १३ सिट भएको लोसपा पनि आफैँसँग भए राम्रो हुने विश्लेषण गरिरहेकाे छ । खासगरी प्रमुख प्रतिपक्ष दल एमालेसँग मिल्न नदिनका लागि पनि कांग्रेसले यो रणनीति अपनाएको विश्लेषण राष्ट्रिय राजनीतिक वृत्तमा हुने गरेको छ । के यो साँचो हो त ? भन्ने प्रश्नमा एक कांग्रेस नेता भन्छन्, ‘ठ्याक्कै त्यसो नै हो भनेर त भन्ने अवस्था छैन र हुँदैन पनि । तर, देशको विकास, समृद्धि र सामाजिक न्यायको पहरेदाहरूबीच गठबन्धन भयो, एकता भयो अथवा ती दलहरू मिलेको खण्डमा देशको लागि राम्रै हुन्छ, प्राप्त उपलब्धिहरूका लागि राम्रै हुन्छ भन्ने हो ।
लोसपाले सरकारमा सहभागी हुँदैगर्दा आफ्नो मागमुद्दाहरूको सम्बोधन हुनुपर्ने माग उठाइरहेको छ । नागरिकता, कैद बनाइएका आफ्नो दलका नेता/कार्यकर्ताहरूको रिहाइलगायतका विषयलाई आफ्नो मूल माग बनाएको लोसपाले यसको सम्बोधन नभए सरकारमा सहभागी नहुने बताउँदै आएको छ ।
गत भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको लोसपाका अध्यक्ष ठाकुर र प्रधान मन्त्री देउवाबीच पटक-पटक छलफल भएको छ । तर, सहभागी भने जुटेको छैन । अब पुनः एकपटक छलफललाई तीव्रता दिने लोसपाका एक नेताले बताएका छन् । ‘त्यसपछि सहमति जुट्यो भने सरकारमा सहभागी पनि भइहाल्ने भन्ने छ हाम्रो पनि । त्यसपछि मात्रै थप कार्यक्रम अघि सार्ने भन्ने खालको लोसपाको भनाइ छ,’ ती नेताले भनेका छन् । भनेपछि लोसपा सरकारमा सहभागी हुन चाहन्छ ? भन्ने जन प्रहार प्रतिनिधिको जिज्ञासामा ती नेताले भनेका छन्, ‘स्थानीय निर्वाचनअघि नै सहभागी हुन चाहन्छ । तर, आवश्यक कुराहरू मिल्न बाँकी नै छ ।
लोसपासहितको सहभागितामा मन्त्रिपरिषद् पनःगठन हुने ?
लोसपासमेतलाई सरकारमा सहभागी गराउनेगरी मन्त्रिपरिषद् पुनःगठनको कसरत भइरहेको छ । यसको परपुष्टि सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि गरेका छन् । उनले भनेका छन्— ‘मन्त्रिपरिषद् विस्तार हुन सक्छ । स्थानीय निर्वाचनअघि नै यो विस्तार हुन पनि सक्छ ।
तर कहिले हुन्छ भन्नेबारे भने केही ठोस कुरा बाहिर आएको छैन । तर, गठबन्धनमा भने छलफल भइरहेको एक माओवादी नेताले बताएका छन् । यसमा कहिले, कति-कति मन्त्रालय, कुन कुन दलको सहभागितामा भन्ने विषयमा भने छलफल हुन बाँकी नै रहेको ती नेता बताउँछन् । लोसपासहितको सभागितामा मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ? भन्ने प्रश्नमा ती नेताले भने— ‘प्रयास त्यस्तै छ ।
त्यसो त सरकारले मन्त्रिपरिषद् पुनःगठनको तयारी गरिरहेकै छ । यसमा लोसपासमेतलाई सरकारमा सहभागी गराउने नेताहरूले बताएका छन् । ती नेताले स्वीकारे— ‘सहमति जुट्यो भने लोसपा पनि यो पटक सरकारमा सहभागी हुन्छ ।
