Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनएसएल भर्सेस ‘ए’ डिभिजन क्लब, एन्फा मुकदर्शक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १९ २०७८
  • 13.1K
    SHARES

काठमाडौं । व्यापारिक घराना चौधरी ग्रुपलाई फुटबलमा भित्र्याउन अखिल नेपाल फुटबल संघले ठूलो प्रयास गर्‍यो ।

चौधरी ग्रुपको नेपाल स्पोर्टस म्यानेजमेन्ट, नेपाल सुपर लिग (एनएसएल) गर्न तयार भएपछि एन्फाको नेतृत्वले नेपाली फुटबल विकासको क्रान्तिकारी कदमको संज्ञा दिएको थियो । दोस्रो संस्करणमा पुग्दा नपुग्दै एनएसएल विवादमा परेको छ । एनएसएल आयोजक र ए डिभिजनका क्लबहरुबीच विवाद चर्किरहँदा एन्फा भने मुकदर्शक बनेको छ ।

के हो विवाद ?

शहीद स्मारक ‘ए’ डिभिजन लिग र मोफसलमा हुने नकआउट प्रतियोगिता नेपाली फुटबलका ठूला प्रतियोगिताहरु हुन् । पछिल्लो समय ठूलो पुरस्कार राशीका नकआउट प्रतियोगिताको संख्या बढेको छ, जसलाई क्लबहरुले छुटाउन चाहँदैनन् ।

यो वर्ष ए डिभिजन लिग १३ फागुनमा सकियो । लगत्तै क्लबहरुले मोफसलका प्रतियोगिता लक्षित तयारी सुरु गरे । खप्तड गोल्डकप बिहीबार सुरु भइसकेको छ भने बुढासुब्बा गोल्डकप, बाग्मती गोल्डकप, सिमरा गोल्डकप लगायतका प्रतियोगिताहरु पनि आयोजनाको तयारीमा छ ।

तर नेपाल स्पोर्टस म्यानेजमेन्टले एनएसएलको दोस्रो संस्करण चैत अन्तिम सातादेखि हुने निर्णय गरिदियो । शुक्रबार अक्सन राखेर ३ क्याटेगोरीमा २४२ खेलाडीको नाम सार्वजनिक गर्‍यो । अक्सनअघि फ्रेन्चाइज टिमहरुले धमाधम मार्की प्लेयर घोषणा गरेपछि ए डिभिजन क्लबहरुले भने आपत्ति जनाएका छन् ।

त्यसको मुख्य कारण हो, नकआउट टुर्नामन्टहरु हुने बेला एनएसएल आयोजना गर्नु ।

पहिलो संस्करण वैशाखमा भएको थियो । कोरोना महामारीका कारण मोसफलका प्रतियोगिताहरु रद्द भएकाले ए डिभिजन क्लबहरुले केही बोलेनन् । यो पटक मोसफलका प्रतियोगिताहरु हुने बेलामा एनएसएल राखेपछि क्लबहरु असन्तुष्ट भएका हुन् ।

‘क्लबले करोडौंको बजेट तयार पारेर लिग र गोल्डकपहरु खेल्ने योजना बनाएको हुन्छ । खेलाडीहरु एनएसएलमा अनुबन्ध हुँदा क्लबलाई घाटा पर्छ,’ लिग च्याम्पियन मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ भन्छन्, ‘मछिन्द्रले त एएफसी कपको प्रारम्भिक चरणमा खेल्दैछ । यदि हामी अर्को चरणमा पुग्यौं भने एनएसएल खेल्ने मछिन्द्रका खेलाडीले सुरुआती खेल गुमाउँछन् ।’

क्लबको कमजोरी

लिग च्याम्पियन मछिन्द्रसहित न्यूरोड टिम (एनआरटी), सातदोबाटो युथ क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स गरी ८ क्लबले संयुक्त विज्ञप्ति जारी गर्नेदेखि एन्फालाई पत्र समेत लेखेका छन् ।

१५ फागुन बिहान एनएसएलको नयाँ टिम झापा एफसीले अञ्जन विष्टलाई मार्की खेलाडी घोषणा गरेकै दिन ८ क्लबले संयुक्त विज्ञप्ति जारी गर्दै क्लबको स्वीकृति विना अन्य खेलाडी अनुबन्ध नगर्न आग्रह गरेको थियो । थप मार्की प्लेयर घोषणा हुनुका साथै २० गते अक्सन तय भएएपछि ए डिभिजन क्लबहरुले एन्फा अध्यक्षलाई पत्र लखेरै ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले आफ्ना खेलाडीहरु क्लबको अनुमति विना फ्रेन्चाइज टिममा आबद्ध नहुन चेतावनी दिएका छन् ।

तर क्लबहरु पनि कमजोरीरहित छैनन् । विभागीय टोलीलाई छाडेर मनाङ र थ्रीस्टारबाहेक अन्य क्लबले वार्षिक सम्झौता गरेका छैनन् । लिग च्याम्पियन मछिन्द्रले केही खेलाडीलाई चैतसम्म र केहीलाई वैशाखसम्मका लागि सम्झौता गरेका छन् । अन्य क्लबहरुले मूलतः लिगसम्मका लागि मात्र सम्झौता गरेका छन् ।

दोहोरो भूमिकामा शर्मा, एन्फा मौन

एन्फाका लिग संयोजक विज्ञानराज शर्मा आफैं विभागीय टिम आर्मीका खेलाडीलाई अनुबन्ध गर्न अघि सरे । शर्मा निर्देशक रहेको साविक विजेता काठमाडौं रेजर्सले त्रिभुवन आर्मीबाट स्वीकृति नलिई विकेश कुथुलाई मार्की प्लेयर घोषणा गरेको छ ।

‘दुई क्लबसँग एकैपटक सम्झौता हुन मिल्दैन । तर हाम्रोमा यही अनुसार अभ्यास भएकाले गरेको हो,’ शर्माले आफ्नो बचाउ गर्दै भने, ‘सुरुमा अनुबन्ध मात्र हो । क्लबले छाडेन भने खेलाउदैनौं । चाँडै गर्न पर्ने भएकोले यो कार्यक्रम गरेको हो ।

शर्माले अघि भने, ‘यो कुराहरु पहिला एन्फाले क्लियर गर्नुप‍र्‍यो । एन्फा, एनएसएल र क्लबबीच सहमति बनिनसक्दा यसरी गर्नु हुन्थेन । केही कनफ्लिक्ट छ, यसलाई चाँडै निवारण गर्नुपर्छ ।

मार्की प्लेयरका रुपमा आवद्ध भएका विकेशले पनि फुटबलको विकासका लागि क्लबले सहयोग गर्दै आइरहेको र भोलिका दिनमा पनि गर्ने बताए । भन्छन्, ‘रिलिज लेटर प्रोसेमा छ । केही गरी रिलिज नमिल्ने भयो भने म एनएसएल खेल्दिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४