पुष्कर खड्का
रामेछाप । दोलखाको भीमेश्वर नगरपालिकामा एक युवकको शव फेला परेको छ ।
भीमेश्वर नगरपालिका वडानम्बर -३ स्थित जलदेवी मन्दिर नजिकै भालुखोलाको तल खोँचमा सडकबाट करिव सय मिटर तल एक युवकको हातखुट्टा बाँधेको अवस्थामा शव फेला परेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिएसपी गंगाप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पौडेलले दिएको जानकारी अनुसार हिजो दिउँसो स्थानीय बालवालिका बाँदर धपाउन जानेक्रममा अन्दाजी २०/२२ वर्षिय युवकको शव हात खुट्टा बाँधिएको र मुखमा टेप टाँसिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
त्यस लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले मृतक युवकको हातखुट्टामा र मुखमा घाउमा लगाउने सेतो पट्टी बाँधिएको र आधा शरीर खाल्डो खनेर पुरेको अवस्थामा गलिसकेको शव फेला पारेको थिय ।
मृतक युवकको शव सडेर शरीरको छाला सबै उक्किन लागिसकेकाले उनको पहिचानमा समस्या भएको दोलखा प्रहरीले जनाएको छ ।उनको शवलाई सुरक्षित गर्नका लागि आजै काठमाडौंको टिचिङ अस्पतालमा पठाउने तयारी भइरहेको दोलखा प्रहरीले जनाएको छ।