काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा बैठक भइरहेको छ ।
सत्ता गठबन्धनले एमसीसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको छलफललाई सघन बनाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा साँझ प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुको बैठक बसेको छ ।
यसअघि आजै संसद भवन बानेश्वरमा उहाँहरुबीच छलफल भएको थियो । त्यसक्रममा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै त्यसका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताउनु भएको थियो ।
उहाँले एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताउनु भएको थियो । प्रधानमन्त्रीको प्रस्तावबारे पार्टीमा छलफल गरेर पुनः कुराकानी गर्ने जवाफ अध्यक्ष ओलीले दिनु भएको थियो । प्रधानमन्त्री देउवासँगको भेट लगत्तै एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता गर्नु भएको हो ।
भेटमा एमालेबाट अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी रहेको थियो ।