Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनिल खरेलको उत्कृष्ट पुनरागमन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ५ २०७८
  • 6.5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले समूह चरण पार गर्न सकेन । तर टोलीका युवा स्पीनर अनिल खरेल प्रतियोगिताकै उत्कृष्ट बलर बन्न सफल भएका छन् । यसले अनिलका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणको ढोका खोल्ने सम्भावना बढेको छ ।

नेपाल अर्को महिना ओमानमा हुने टी-२० विश्वकपको ग्लोबल क्वालिफायरको तयारीमा छ । त्यहीकारण एकदिवसीय प्रधानमन्त्री कपको फर्म्याट परिर्वतन गरेर टी-२० बनाइएको छ । बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेको छ ।

नकआउट चरण पुग्न नसकेको लुम्बिनीले समूह चरणका चारमध्ये दुई खेल जित्यो भने दुईमा हार व्यहोर्‍यो । कुल १३ ओभर बलिङ गरेका अनिलले मात्र ७८ रन दिएर १० विकेट लिए । त्यही कारण राष्ट्रिय टिमबाट खेलिसकेमा सिनियर बलरहरु समेतलाई उछिन्दै अनिल प्रतियोगिताकै उत्कृष्ट बलर बने ।

प्रतियोगितामा सर्वाधिक १४ विकेट नेपाल पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले लिएका छन् भने एपीएफका अविनाश बोहोराले १२ विकेट लिएका थिए । तर दुवैले अनिलले भन्दा २ खेल बढी खेलेका थिए । एपीएफकै किशोर महतोले पनि १० विकेट लिएका छन्, तर उनले पनि ६ खेल खेलेका छन् ।

त्यो फुच्चे अनिल

२१ वर्षका अनिल नेपाली क्रिकेटका लागि नयाँ नाम भने होइन । सन् २०१४ मा मलेसियामा भएको एसीसी यू-१६ प्रिमियर क्रिकेटमा १३ वर्षका अनिलले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाललाई उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका उनले त्यो प्रतियोगितामा ५ खेल खेल्दै १३ विकेट लिएका थिए । १३ वर्षकै उमेर सनसनी मच्चाएका अनिल प्रोमिसिङ प्लेअरको अवार्ड जित्न सफल भए ।

उनको उत्कृष्ट प्रदर्शन १६ रन खर्चेर ६ विकेट लिनु थियो । जुन प्रतियोगिताकै उत्कृष्ट स्पेश थियो । प्रतियोगिताका उत्कृष्ट बलर भने नेपालकै जितेन्द्र सिंह बनेका थिए, जसले सर्वाधिक १५ विकेट आफ्नो नाममा लेखाएका थिए ।

त्यो बेला अनिलसंगै नेपाली टिममा रहेका आसिफ शेख र पवन सर्राफले राष्ट्रिय टोलीमा स्थान बनाइसके । सुमित महर्जन, रविन्द्र जंग र सुशान्त थापा पनि घरेलु क्रिकेटमा खेलिरहेका छन् । अनिल भने क्रिकेटमा छाउन सकेका थिएनन् ।

प्रधानमन्त्री कपमा प्रदर्शन

अनिलले तेस्रो पटक प्रधानमन्त्री कप क्रिकेट खेलेका हुन् । यसअघि खासै राम्रो गर्न नसकेपनि यस पटक भने बेस्ट बलर बन्ने प्रदर्शन गरे ।

प्रतियोगिताको पहिलो खेलमा उनले १ विकेट लिए । मुलपानीमा बागमती प्रदेशविरुद्ध अनिलले ३ ओभरमा १७ रन खर्चिए । उक्त खेलमा लुम्बिनी पराजित भयो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश २ विरुद्ध भएको दोस्रो खेलमा भने अनिलले धातक बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन मात्र खर्चेर ५ विकेट लिँदै प्रदेश २ को इनिङ्स ध्वस्त पार्दा लुम्बिनीले पहिलो जित हात पार्‍यो ।

मुलपानीमा भएको एपीएफ विरुद्धको तेस्रो खेलमा भने उनले विकेट लिन सकेनन् । फेरि टीयू मैदानमै भएको गण्डकीविरुद्ध चौथो खेलमा अनिल चम्किए । उनले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । यो खेल पनि लुम्बिनीले नै जित्यो ।

४ खेलमा १० विकेट लिएका अनिल बेस्ट बलर बन्दा खुसी छन् । तर टिम सेमिफाइनल पुग्न नसकेकोमा सन्तुष्ट छैनन् । ‘टिम राम्रै भएजस्तो लाग्थ्यो तर पहिलो खेलमै बागमतीसँग हार्‍यौ । सेमिफाइनल पुगेको भए हामी अझै खुशी हुन्थ्यौं,’ अनिलले भने ।

उमेर समूहको प्रतियोगिता नहुँदा गाह्रो भयो

एसीसी यू-१६ प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि अनिल भविष्यका लागि सम्भावना बनेको खेलाडीको रुपमा देखिएका थिए । उनीसँगै खेलेका अन्य खेलाडीहरु राष्ट्रिय टिमसम्मै पनि पुगिसके । तर अनिल भने बिचमा हराएको जस्तै भए ।

उनका अनुसार एकातिर पढाईका दबाव थियो । स्कुल लेभलका प्रतियोगिताहरु खेले पनि राम्रोसँग प्रशिक्षण गर्न पाएनन् । त्यही बेला यू-१९ प्रतियोगिताहरु पनि भएनन् । भन्छन्, ‘सिनयर टिममा पर्न यू-१९ नै हेर्ने हो । त्यो नहुँदा पनि पछि परेँ जस्तो लाग्छ ।

११-१२ को परिक्षा दिएपछि प्रशिक्षणहरु समय दिए । फ्रेन्चाइज लिगहरुमा प्रयास गरे । पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा उनी इमर्जिङ प्लेअर घोषित भएका थिए । गत वर्ष मेयर्स कपमा काठमाडौं मेयर टिमबाट खेलेका उनको प्रदर्शन ठिकठाक रह्यो । पछिल्लो संस्करणको एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्स टिममा थिए । तर धेरै खेल्ने अवसर पाएनन् । उनले चितवन टाइगर्स विरुद्ध खेल्दै ३ ओभरमा १९ रन खर्चेर १ विकेट लिएका थिए ।

अब तयार छु

अब भने अनिल क्रिकेटका लागि तयार भएका छन् । प्रधानमन्त्री कपमा गरेको प्रदर्शनले पनि त्यही संकेत गर्छ ।

‘यू-१९ राष्ट्रिय प्रतियोगिताहरु नभएपछि सिधै सिनियर टिममा पर्न गाह्रो छ । हाम्रो प्रदेशमा अली प्रतिस्पर्धा पनि छ, त्यसले सिनियरमा आउन समय लाग्यो,’ अनिल भन्छन्, ‘यस (प्रधानमन्त्री कप)लाई पुनरागमन रुपमा पनि लिन सकिन्छ ।

प्रधानमन्त्री कपमा राम्रै प्रदर्शन गरेका उनलाई आश छ, राष्ट्रिय टोलीको ढोका खुल्नसक्छ ।

टी-२० ग्लोबल क्वालिफायरका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाउन सक्छ भन्ने लागेको छ । भन्छन्, ब्याट्सम्यान हावी भइरहेका बेला स्पीनरमा सर्वाधिक विकेट लिएकाले क्याम्पमा पर्नुसक्छु जस्तो लाग्छ । परेँ भने अझ मिहिनेत गर्छु ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले ३० खेलाडी छनोट गर्दै बन्द प्रशिक्षण सुरु गरिसकेका छन् । तर प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गर्ने नयाँ खेलाडीहरुलाई पनि समावेश गर्ने बताएकाले अनिल आशावादी हुनु स्वभाविक हो ।

बुटवलकै मणिमुकुन्दमा ब्याचलर दोस्रो वर्ष व्यवस्थापन संकायमा अध्ययनरत अनिल भन्छन्, ‘अहिले धेरै कुरा सिकेको छु । अब चाँही खेल्ने रेडी नै भा’छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४