Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चार लोकदोहोरी गायिका : पहिलो गीत कसरी रेकर्ड गरे ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २९ २०७८
  • 12.8K
    SHARES

काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रमा थुप्रै गायक–गायिका चर्चाको शिखरमा पुगेका छन् । तीमध्ये कति अहिलेसम्म पनि सांगीतिक क्षेत्रमा सक्रिय नै छन्, कतिले फाट्टफुट्ट गीत गाइरहेका छन् । यहाँ लोकदोहोरीमा चर्चाको शिखरमा पुगेका चार गायिका बीमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ र मुना थापा मगरको पहिलो गीतबारे चर्चा गरिएको छ ।

उनीहरु कुनै समय लोकदोहोरीमा निकै चर्चामा रहेका गायिकाहरु हुन् । उनीहरुलाई रेकर्डिङ स्टुडियोमा गीत गाउन भ्याइनभ्याइ हुन्थ्यो । एकैदिन आधा दर्जन भन्दा बढी गीत रेकर्ड गराउँथे उनीहरु । उनीहरुका थुप्रै गीतलाई स्रोता–दर्शकले रुचाए । तर, धेरैलाई जानकारी नहुन सक्छ, उनीहरुको पहिलो गीत कुन थियो ? उनीहरुले आफ्नो पहिलो गीत कसरी रेकर्ड गराएका थिए ? कुनै समयका चर्चित चार लोकदोहोरी गायिकाको पहिलो गीत रेकर्डबारे जानकारी दिँदैछौं ।

बीमाकुमारी दुरा

लोकदोहोरीमा चर्चाको शिखरमा पुगेकी बीमाकुमारी दुराको स्वरमा पहिलो गीत २०४६ सालतिर सार्वजनिक भएको थियो । गीतको बोल थियो, ‘छोरीको जूनी’ । देशव्यापी दोहोरी प्रतियोगितामा भाग लमजुङदेखि काठमाडौं आएको समयमा उनले यो गीत गाउने अवसर पाएकी थिइन् ।

राष्ट्रिय सभागृहमा आयोजित दोहोरी प्रतियोगितामा आएको बेला साथीहरूको आग्रहमा उनी रेडियो नेपालको सो समयको लोकप्रिय कार्यक्रम चौतारीमा गाउन पुगेकी थिइन् । सोहीबखत लोकदोहोरी गायक एवं संगीतकार नारायण रायमाझीसँग भेट भएपछि रायमाझीले बीमालाई गीत रेकर्ड गर्ने अवसर दिएका थिए । बीमाको आफ्नै पहिलो एल्बम भने ‘छुट्यो मायाजाल’ हो ।

पहिलो गीत रेकर्ड गराएको केही वर्षपछि सार्वजनिक उक्त एल्बम त्यसबेला सर्वाधिक  बिक्री हुनेमध्येमा परेको थियो । ‘छुट्यो मायाजाल’पछि उनको ‘फूल्यो निमपत्ता’, ‘डाँडैको देवी देउराली’, ‘भञ्ज्याङको सुसेली’, ‘माझीदाइ पोखरा’, ‘जम्मु कश्मीरमा’, ‘हङकङ आईडीले’, ‘खैरेनीमा गेट’, ‘वनको काफल वनकै चरीलाई’, ‘यो दाजुको मिर्मिर आँखा’, ‘पानसमा बत्ती बालेको’, ‘लडाइँको लाहुरे’, ‘दमौलीमा गेट’ लगायत अडियो क्यासेटले बिक्रीको रेकर्ड कायम गरेका थिए । बीमा अहिले पनि फाट्टफुट्ट लोकदोहोरी गीत गाइरहेकी हुन्छिन् ।

लक्ष्मी न्यौपाने

लोकदोहोरीमा चर्चाको शिखरमा पुगेकी अर्की गायिका हुन्, लक्ष्मी न्यौपाने । उनले २०५१ सालमा पहिलोपटक गीत रेकर्ड गराएकी थिइन् । गायक एवं संगीतकार नारायण रायमाझीको ‘तीजको रमझम आयो बरिलै’ एल्बमका लागि उनले दुईवटा गीत रेकर्ड गराएकी थिइन् । उनी घुम्नका लागि काठमाडौं आएको समयमा ‘चौतारी’ कार्यक्रममा गीत गाउन पुगेकी थिइन् । सोहीबखत लक्ष्मीको स्वर सुनेपछि रायमाझीले गीत रेकर्ड गराउन प्रोत्साहन दिएका हुन् । रायमाझीकै स्टुडियोमा लक्ष्मीले गीत रेकर्ड गराएकी थिइन् ।

उनले आफ्नै पहिलो एल्बम भने २०५५ सालमा सार्वजनिक गरेकी हुन् । सो एल्बम थियो, ‘नजाऊ है रेलैमा’ । त्यसयता उनका एकपछि अर्को गीत स्रोताले रुचाए । सयौं गीतमा स्वर दिएकी लक्ष्मीका ‘कालीपारे दाइ’, ‘फुलबुट्टे चोलीमा’, ‘लडाइँको लाहुरे’, ‘मुग्लिनको बजार’, ‘माछापुच्छे्र शिर’, ‘मौरी फूलमाथि’ ‘फूलमा भमरा’, ‘वनमा काँडा छ’, ‘सिमसिम पानी रइछौं बेइमानी’ लगायत गीत चर्चित छन् । यस्तै ‘मिर्मिरेको घाम’, ‘सारङगी रेटौंला मौका मिले फेरि भेटौंला’, ‘टलटल टल्किनलाई’, ‘तीज आयो राजै’, ‘झल्को माइतीको’, रुन्छ नि मन किन रुँदैन’, ‘पूर्वमा झ्याल राखे’, ‘चरी भए आउँथे उडेर’,’फूलको थुंगामा’, ‘यो मायाको संसार विचित्र’, ‘मधु वनैमा’, ‘अब त आँटम भो’, ‘माइतीको काख’ जस्ता थुप्रै रुचाइए । पछिल्लो समय लक्ष्मीका गीतहरु धेरै आउन छाडेका छन् ।

शर्मिला गुरुङ

स्रोता-दर्शकको मन जितेकी अर्की लोकदोहोरी गायिका हुन् शमिला गुरुङ । उनले आफ्नो पहिलो गीत पोखरामा दोहोरी साँझमा काम गर्दा रेकर्ड गराएकी थिइन् । उनको स्वरबाट प्रभावित गायक पुरुषोत्तम न्यौपानेले आफ्नै एल्बममा शर्मिलालाई गाउने अवसर दिएका थिए । गीत थियो, ‘निलो पछ्यौरी’ । शर्मिलाको पहिलो गीत नै हिट भएको थियो । यो गीत उनले २०५५ सालतिर गाएकी हुन् ।

त्यसयता उनलाई थुप्रै गीतबाट अफर आउन थाल्यो । सयौं गीतमा स्वर दिएकी शर्मिलाका दर्जनौं गीत रुचाइए । उनले गाएका ‘मिर्मी मुनी काली थुनेको’, ‘बल्लै भो भेट’, ‘रानी घाटैमा’, ‘फूलको थुंगा’, ‘फर्क मुग्लानी’ जस्ता गीत लोकप्रिय छन् । शर्मिला पछिल्लो समय पनि गायनमा नै सक्रिय छिन् ।

मुना थापामगर

लोकदोहोरी क्षेत्रमा मुना थापामगर पनि चर्चाको शिखरमा पुगिन् । २०६५ सालदेखि एक दशक उनी लोकदोहोरी गायनमा निक्कै सक्रिय रहिन् । विशेषगरी प्रेम विरहका लोक गीतमा मुनालाई स्रोता–दर्शकले रुचाए । पछिल्लो तीन वर्षयता भने उनी अमेरिकामा बस्दै आएकी छन् । उनको पहिलो गीत हो, ‘केबुलकारमा गेट’ ।

उनले यो गीत गोरखाबाट काठमाडौं नआउँदै गाउने अवसर पाएकी थिइन् । उनको आफ्नै पहिलो एल्बम भने ‘छोरी’ हो । २०६५ सालतिर सार्वजनिक यो एल्बम मुनाले मैना रेश्मी मगरसँग मिलेर ल्याएकी थिइन् । । सो एल्बममा समावेश गीत ‘चिसो चिसो हावा सरर’ मुनाको सबभन्दा पहिले चलेको गीत हो । सयौं गीतमा स्वर दिएकी मुनाका दर्जनौं गीत रुचाइएका छन् । ‘तिते करेलीले’, ‘मैले मन पराएको छु’, ‘यो संसारको रीत’, ‘तिमी राम्रो हाँसोले’, ‘सरसर’, ‘मुटुमा बसेको माया’, ‘पिरतीमा फेल’ लगायतका गीतहरु उनका रुचाइएका गीत मानिन्छन् । यतिबेला नेपाल आएकी मुना केही गीत रेकर्डिङको तयारी गरिरहेकी छन् । गीत सार्वजनिक गरेर मात्रै अमेरिका फर्किने उनको सोच छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४