काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनमा मतपत्र नै प्रयोग हुने भएको छ ।
बिहीबार पार्टी कार्यालयमा सानेपामा बसेको १३औं निर्वाचित केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनमा मतपत्रको नै व्यवस्था गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
शर्माले भन्नुभयो, ‘कांग्रेसमा डिजिटल भोटिङको विषयमा चर्चा भइरहँदा कागजमै भोट हाल्ने निर्णय भएको छ ।’
यस्तै, बैठकले महामन्त्रीको प्रतिवेदन, लेखा प्रतिवेदन र पार्टीको नीति अनुसन्धान प्रशिक्षणसम्बन्धी प्रतिष्ठानसम्बन्धी प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । अब यी प्रतिवेदनलाई छलफलका लागि पार्टीको महाधिवेशनमा प्रस्तुत गरिनेछ ।
पदाधिकारी र केन्द्रीय सदस्य थप गर्ने प्रस्ताव भने लगिएन । दुई सहमहामन्त्री र ५८ केन्द्रीय सदस्य थप्ने प्रस्ताव ठिक्क पारिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि प्रकट गरेसँगै यी प्रस्तावहरु नलगिएको हो ।
यद्यपि प्रवक्ता शर्माले भने महाधिवेशनको मुखैमा पदाधिकारी र केन्द्रीय सदस्य थप गर्दा महाधिवेशन प्रभावित हुनसक्ने तर्क प्रस्तुत गर्नुभयो ।