Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट, नेपाल कति जोखिममा ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १० २०७८
  • 3.1K
    SHARES

काठमाडौं । दक्षिण अफ्रिकामा हालै भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘बी.१.१.५२९’ बढी जोखिमपूर्ण भएको वैज्ञानिकहरुले बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन बैठक बोलाएको छ भने बेलायतले ६ वटा अफ्रिकी मुलुकबाट हुने हवाई उडान अस्थायी रुपमा बन्द गरेको छ ।

के हो नयाँ भेरियन्ट ?

दक्षिण अफ्रिकामा फेला परेको नयाँ भेरियन्ट ‘बी.१.१.५२९’ बाट २२ जना संक्रमित भएका छन् । नयाँ भेरियन्ट हङकङ र बोत्स्वानामा समेत फेला परेको छ । इजरायलमा मलाबीबाट आएका एक यात्रुमा समेत नयाँ भेरियन्ट पुष्टि भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्टमा पटक–पटक एउटै प्रकारको म्युटेसन हुने ‘मात्रा अस्वभाविक’ देखिएको छ ।

म्युटेसनको ‘अस्वभाविक मात्रा’का कारण नयाँ भेरियन्टले शरीरको रोगप्रतिरोधी क्षमता छल्न सक्ने र थप संक्रामक बन्न सक्ने चिन्ता वैज्ञानिकहरुको छ । केही दिनभित्रै नयाँ भेरियन्ट कति संक्रामक र गम्भीर छ भनेर पत्ता लाग्ने वैज्ञानिकहरुले बताएका छन् ।

नेटवर्क फर जिनोमिक सर्भिलेन्सका टुलियो डी ओलिभियराले म्युटेसनको क्षमता निकै उच्च रहेकाले कारण पुनः संक्रमण देखिएको बताएका छन् ।

दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट भेटिएपछि डब्ल्यूएचओले आपतकालीन बैठक बोलाएको छ । शुक्रबार विशेष आपतकालीन बैठक बस्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायतले दक्षिण अफ्रिका, नामिबिया, बोत्स्वाना, जिम्बाब्बे, लेसोथो र इस्वाटिनी गरी ६ वटा अफ्रिकी मुलुकबाट हुने हवाई उडान अस्थायी रुपमा बन्द गरेको छ ।

युरोपेली आयोगले समेत दक्षिण अफ्रिकी क्षेत्रबाट हुने सबै उडानमाथि रोक लगाउने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले ट्विटरमार्फत् आफूहरूले आपतकालीन कदम चाल्नसक्ने बताइन् । ‘आयोगले सदस्य राष्ट्रसँगको समन्वयमा चिन्ताको विषय बनेको बी.१.१.५२९ भेरियन्टका कारण दक्षिण अफ्रिकी क्षेत्रबाट हुने हवाई यात्रा रोक्नेसम्बन्धी प्रस्ताव पेश गर्नेछ’, उर्सुलाले भनिन् ।

सिंगापुरले ७ अफ्रिकी मुलुकबाट हुने यात्रामा शनिबारदेखि ४ हप्तासम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

नेपालसँग सीमा जोडिएको छिमेकी मुलुक भारतले पनि बोत्स्वाना, दक्षित अफ्रिका र हङकङबाट वा ती मुलुक हुँदै आउने यात्रुलाई स्क्रिनिङ र परीक्षण गर्ने निर्णय गरिसकेको छ ।

चीनको शंघाईमा तीन जनामा संक्रमण देखिएपछि सयौं उडान रद्द गर्नुका साथै केही विद्यालय बन्द गरिएको छ । यद्यपि यो कुन भेरियन्ट भन्ने खुलेको छैन ।

नेपालमा के छ जोखिम ?

जनस्वास्थ्यविदहरुले नेपालमा पनि नयाँ भेरियन्ट भित्रिनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । कोरोना महामारीको दोस्रो लहर मत्थर हुँदै गएपछि सरकारले विभिन्न मुलुकसँग नेपालको सिधा हवाई उडान खुला गरिसकेको छ । हवाई उडानमार्फत आउने नागरिकले नयाँ भेरियन्ट नेपाल भित्र्याउने जोखिम उच्च रहेको उनीहरु बताउँछन् ।

भारतसँगको खुला सीमा, विभिन्न मुलुकसँगको सिधा हवाई सम्पर्कका कारण नयाँ भेरियन्ट नेपाल भित्रिन सक्ने तर्क उनीहरुको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट अन्य मुलुकहरुमा पनि देखिन थालेकाले नेपाल सतर्क हुनुपर्ने बताउँछन् । ‘अहिले विभिन्न मुलुकसँग सिधा हवाई सम्पर्क सुचारु छ । नयाँ भेरियन्ट भेटिएको मुलुकसँग सिधै हवाई सम्पर्क नभएपनि अन्य मुलुक भएर त्यहाँका नागरिकहरु नेपाल आउन सक्छन्’ भन्छन्, ‘यो नयाँ भेरियन्ट नेपाल भित्रिने उच्च जोखिम चाहिँ छ ।’

उनका अनुसार नयाँ भेरियन्ट र नेपालको जोखिमलाई तीन वटा पक्षबाट हेर्नुपर्छ ।

पहिलो– यो नयाँ भेरियन्ट डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको अवस्थामा बढी जोखिम हुनसक्छ । भेरियन्ट बढी संक्रामक हुँदा संक्रमण तीव्र रुपमा फैलाउन सक्दछ, जसले उपचार प्रणालीमा समस्या ल्याउनसक्छ ।

दोस्रो– नयाँ भेरियन्ट बढी घातक छ कि छैन ? वैज्ञानिकहरुले यो नयाँ भेरियन्टबारे अध्ययन गरिरहेका छन् । यदि नयाँ भेरियन्ट बढी घातक भएको अवस्थामा मानवीय जीवनमा ठूलो समस्या ल्याउन सक्छ ।

तेस्रो– यो भेरियन्टले हामीले प्रयोग गरिरहेका खोपलाई छल्ने क्षमताको त विकास गरेको छैन ? नयाँ भेरियन्टमा प्रयोगमा आइरहेको खोपलाई समेत छल्ने क्षमता पाइए अर्को ठूलो समस्या ल्याउने छ ।

नेपालमा दैनिक कोरोना संक्रमित पुष्टि हुने संख्या अझै पनि ३ सयको हाराहारीमा रहेकोले कुन भेरियन्ट सक्रिय छ भनेर पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्न डा. पुन सरकारलाई सुझाव दिन्छन् ।

के छ सरकारी तयारी ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल समेत नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावना रहेको स्वीकार्छन् । यद्यपि सरकारले उच्च सकर्तता अपाउन थालिसकेको उनले बताए । डा. पौडेल भन्छन्, ‘सरकारले निगरानी प्रणालीलाई अलर्ट बनाइसकेको छ । नयाँ भेरियन्ट भेटिएको मुलुकबाट आउनेलाई विमानस्थलमै हेल्थ डेक्स राखेर टेस्ट गर्ने र क्वारेन्टिनमा राख्न निर्देशन दिएका छौं ।’ नयाँ भेरियन्ट भेटिएको मुलुकबाट आएका व्यक्तिमा संक्रमण पुष्टि भए जिन सिक्वेन्सिङ गरिने उनले बताए ।

‘नयाँ भेरियन्ट भेटिएका मुलुक दक्षिण अफ्रिका, बोत्स्वाना लगायतका मुलुकसँग नेपालको सिधै हवाई सम्पर्क छैन । अन्य मुलुक भएर आएको पाइएमा विमानस्थलमै उनीहरुको परीक्षण गर्ने र क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएका छौं,’ उनले अघि भने, ‘नेपालसँग सिधा हवाई सम्बन्ध भएको हङकङमा सर्भिलेन्सको आधारमा नयाँ भेरियन्ट भेटिएको भन्ने छ, केस नै बढेको भने होइन ।’

भारत लगायत सिधै हवाई सम्पर्क हुने मुलुकमा नयाँ भेरियन्ट बढेमा सरकारले नयाँ निर्णय लिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेल बताउँछन् ।

साथै नेपालमा अहिले कुन भेरियन्ट सक्रिय छ भन्नेबारे पहिचान गर्न जिन सिक्वेन्सिङ भइरहेको भन्दै उनले भने, ‘अर्को साता नतिजा आउनसक्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४