काठमाडौं । पछिल्लो समयमा काठमाडौंमा महँगा नाइट क्लबहरु सञ्चालित छन् । कोरोना कहरका कारण घरमै खुम्चिएका तन्नेरी पुस्ता पछिल्ला केही समययता क्लबमा रमाउन थालेका छन् । यसैले क्लब सञ्चालकहरुले पनि ग्राहकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् । यस्ता क्लबहरुमा नेपाल र भारतका चर्चित गायक–गायिकाहरुको कार्यक्रम आयोजना हुने गर्दछन् ।
यसैबीच डिसेम्बर ४ मा काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा इन्डियन–अमेरिकन र्यापर ‘द राजा कुमारी’को भव्य कन्सर्ट आयोजना हुने भएको छ । राजा कुमारीले अमेरिकामा विज खलिफा जस्ता चर्चित र्यापरसँग स्टेज शेयर गरिसकेकी छन् । यस्तै, उनी ग्रामी अवार्डमा समेत नोमिनेसनमा परिसकेकी छन् ।
यो कन्सर्ट हेर्नका लागि दर्शकले १ हजार र २ हजारका टिकट खरिद गर्न सक्नेछन् । क्लब फरेनहाइटका सीइओ मिलन श्रेष्ठको अनुसार, नेपालमा समेत राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याउन लागिएको हो । उनले यो कन्सर्ट ठमेलको पर्यटन क्षेत्र विस्तारका लागि पनि आयोेजना गर्न लागेको बताए ।
क्लब फरेनहाइटले यसअगाडि पनि भारतका चर्चित कलाकार ल्याएर कन्सर्ट गरिसकेको छ । यसअघि फरेनहाइटमा आदित्यनारायण झा, टोनी कक्कड लगायतले प्रस्तुति दिइसकेका छन् ।
