Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिलाको क्षमता नस्वीकार्ने, चरित्रलाई अस्त्र बनाउने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ३० २०७८
  • 5.1K
    SHARES

सात वर्ष पहिलेको कुरा हो । एक दिन मेरो श्रीमान्ले भने, ‘म एउटा विषय भन्छु लेख न ।’ उनले शीर्षक पनि दिए ‘फरक अरू महिला र आफ्नी छोरीमा ।’ अझसम्म पनि लेख्न नसकेको यो विषय मलाई अहिले लेख्नुपर्छ भन्ने लाग्यो ।

६ वर्षयता महिलाका विषयले राम्रो स्थान पाउन थालेका छन् । छापिन मात्र हैन महिलाका विषय पुरुषले गर्वका साथ लेख्न थालेका छन् । एक दिन अचम्म परेर मैले एक जना वरिष्ठ पत्रकारलाई सोधें ‘दाइ आजभोलि पुरुषहरू महिलाको विषय मन छोएरै लेख्न थालेका हुन् कि अरू केही कारण छ ?’

उनले भने ‘तिमीलाई थाहा छ ? तिनीहरूमध्ये धेरैजना छोरीका बाबु हुन् ।’ हुन पनि उनीहरूले जब महिलाका मुद्दामा आफ्नी छोरीको अनुहार हेरेर सोच्न थाले अनि अवस्था बदलियो । उनीहरू आफ्नी छोरीलाई शायद आमा, दिदीबहिनी र श्रीमतीभन्दा बढी माया गर्छन् । अनि त समस्याले छुन्छ नै ।

तर अहिले पनि हामीले आफ्नी छोरीलाई जसरी आत्मविश्वास बढाउन वातावरण बनाउँछौं, अर्काको छोरीलाई त्यो वातावरण बन्न नदिन बाधा पुर्‍याउँछौं । आफ्नी छोरीलाई जस्तै अरूको छोरीको लागि गर्न कसैले सक्दैन तर एउटा छोरीको क्षमता र आत्मविश्वास गिराउन तिमी साधन नबन । मेरो श्रीमान् यही भन्न चाहन्थे ।

उनले सात वर्षदेखि मलाई लेख भन्न नछोडेको विषयको मूल कुरा हो । चितवनमा कार्यरत हुँदाको समय मेरा श्रीमान् र उनका सहकर्मीहरूलाई एउटा कार्यक्रममा बेलुकीको खानाको लागि बोलाइएको थियो । खानपिनको आयोजना गर्ने संस्थाको नेतृत्व गर्ने मध्ये एउटा महत्वपूर्ण पदमा महिला थिइन् । आयोजक हुनुको नाताले आफ्नो संस्थाले बोलाएका पाहुनाको स्वागत सत्कार गर्नु उनको कर्तव्य थियो ।

उनले आफ्नो संस्थाका अरू केटा पदाधिकारीले जसरी नै सत्कार गरेको कुरालाई त्यहाँ उपस्थित केही पाहुनाले गफ र मनोरञ्जनको विषय बनाए । यतिसम्म कि उनीहरूको पूरै समय नै तिनै महिलाको विषयमा कुरा गरेर सकियो । श्रीमान्ले मलाई सुनाएका केही शब्द यस्ता थिए– ‘यस्तो राम्रो रेस्पोन्स गरेकी छिन् सँगै बसौं कि क्या हो ?’

कार्यक्रममा बस्ने व्यवस्था छ भनेको कुरालाई उनीहरूले यसरी गफ बनाए कि, ती महिला उनीहरूसँग यौनसम्बन्धको लागि तयार छिन् । बस्ने व्यवस्था पनि छ भनेर पुरुषले भन्दा कार्यक्रममा भएका सुविधाको जानकारी दिनुहुने तर केटीले भन्दा नहुने ? मान्छे त स्मार्ट छिन् पनि भन्छन् रे अनि यिनले यो पोष्ट त्यसै त पाएकी होइनन् होला पनि भन्छन् रे !

एउटी महिला कुनै पदको लागि योग्य हुन स्मार्ट हुनुले अर्थ राख्दैन ? के यो क्षमता होइन ? त्यही कार्यक्रममा जो सबैभन्दा बढी ती महिलाको विषयमा गफ बनाएर मनोरञ्जन गरिरहेका थिए । उनले भोलिपल्ट मेरा श्रीमान्लाई आफ्नी छोरीले स्वयंसेवा गरिरहेको स्थानमा लिएर गएछन् । डाक्टरको समूहमा महिला कमै थिए । तीमध्ये उनकी छोरी स्मार्ट थिइन् । ती व्यक्तिले आफ्नी छोरीको स्मार्ट हुनुको वर्णन गरे– ‘अरूलाई रेस्पोन्स गर्ने, नयाँ मानिससँग पनि बोलिहाल्ने र केटाहरूको समूहलाई पनि नेतृत्व गर्न सक्ने क्षमता उनीमा छ ।’

हामी क्षमतावान छोरीको आत्मश्विास मार्न वा बदनाम गर्न चरित्रहत्याको सहारा लिन्छौं भने अरूले पनि यही हतियार प्रयोग गर्दैनन् भन्ने के छ ? नेतृत्व र क्षमता स्वीकार गर्न नसकेपछि महिलालाई कमजोर पार्न सबैभन्दा बढी प्रयोग गरिने हतियार चरित्र हो ।

उनकी छोरी साँच्चिकै उनले भनेकै जस्तै थिइन् । तर, मेरो श्रीमान्लाई अहिलेसम्म लागेको कुरा उनका बाबाले ती कार्यक्रममा भेटेकी महिलालाई जस्तै अरू पुरुषले उनकी छोरीको स्मार्टनेसलाई चरित्रसँग जोडेर अवमूल्यन गर्छन् कि गर्दैनन् होला ?

के हामीले स्मार्ट हाम्रा सम्बन्धहरू जस्तै आमा, छोरी, श्रीमती, प्रेमिका, दिदीबहिनी, फुपूमा मात्र देख्छौं कि आम महिलामा देख्छौ ? यस विषयमा बहस गर्नुपर्छ भन्ने मेरो श्रीमान्लाई लागेको छ र मलाई लेख्न भनिरहेका छन् । यो विषय लेख्न लाग्दा मैले धेरै अनुसन्धान गरें तर यस विषयमा अनुसन्धान भएको पाइनँ ।

हामीले क्षमतावान छोरीको आत्मश्विास मार्नको लागि वा उनीहरूको बदनाम गर्न चरित्रको सहारा लिन्छौं भने अरूले आफ्ना छोरीको लागि पनि यही उपाय अपनाउँदैनन् भन्ने के छ ? युद्धका त नियम हुन्छन् भने पेशामा प्रतिस्पर्धाका नियम हुन्छन् कि हुँदैनन् ? महिलाको नेतृत्व र क्षमता स्वीकार गर्न नसकेपछि उनलाई कमजोर पार्न सबैभन्दा बढी प्रयोग गरिने हतियार हो चरित्रहत्या ।

यो अन्यत्र पनि होला तर मेरो बुझाइमा सबैभन्दा बढी राजनीति र पत्रकारिता गर्ने महिलामा प्रयोग गरिन्छ । एक दिन स्याङ्जाको एउटा पसल जहाँ मानिसको भेटघाट हुनेगर्थ्यो; सरकारी जागिर खाने र रेडियोको पत्रकार हुँ भन्ने एक व्यक्तिले भने ‘केटीहरूलाई सकाउन चरित्र जोडे भैहाल्छ तर तिम्रो त्यस्तो केही छैन ।’

म एउटा पत्रिकाको संवाददाता भएर त्यहाँ पुगेकी थिएँ । घरबाट पहिलोपटक बाहिर निस्किएकी मलाई समाचार लेख्ने क्षमता र काम गर्न सक्छु भन्ने आत्मविश्वास बाहेक अरू धेरै कुरा थाहा थिएन । तिमीलाई कमजोर बनाउन तिमीसँग सम्बन्ध नै नभएका भ्रामक कुरा प्रचार गरिन्छ भन्ने के थाहा ? म त्यहाँ जाँदासम्म स्थलगत रिपोर्टिङ शून्य जस्तै थियो । म फिल्डमा नगई लेख्नै नसक्ने।

एउटा पर्यटनमा लागेका संघसंस्थाको टोलीले ग्रामीण पर्यटनको लागि पदयात्रा थालेको थियो । पदयात्रा सकेर सदरमुकाम के झरेकी थिएँ, हल्ला चलेछ– ‘बसन्तीले लोकल रक्सीमा वियर मिसाएर खाई रे !’ जसलाई भेट्यो प्रश्न नै त्यही हुन्छ । बजारभरि निस्किसक्नु थिएन ।

रक्सी खानु नखानु व्यक्तिगत कुरा हो । म अहिले रक्सी खान्छु तर त्योबेला छुँदैछुन्नथें । ममा रक्सी खानु नराम्रो होइन भनेर प्रतिवाद गर्ने क्षमता पनि थिएन । मैले खाएकै भए पनि मेरो परिवारमा कुनै प्रश्न उठ्ने वातावरण थिएन । तर पनि अन्जान व्यक्ति भएका ठाउँमा मलाई अप्ठ्यारो पार्ने गरी त्यसबाट मेरो आत्मबल गिराउने र त्यहाँबाट हटाउने खेल खेलियो ।

हटाउन त म भन्दा पहिला गएका पत्रकारलाई पनि हटाइएको थियो । तर उनलाई लखेट्न प्रयोग गरिएको थियो, विश्वासिलो व्यक्तिबाट खराब सूचना दिन लगाएर समाचारमा फसाइएको थियो ।

तर मलाई शुरू गरियो रक्सीको हल्लाबाट । एक दिन राति २ बजे मेरो बुवाआमालाई फोन गरेछन् र भनेछन्, ‘तिम्रो छोरी गायव छिन् ।’ बुवाआमाले घर फर्कन भन्नुभयो तर म हारेर फर्किनेवाला थिइनँ । दलालको समाचार लेखेकै भरमा मलाई मार्ने धम्की दिइयो । उनीहरूलाई केही दिन थुनियो पनि । त्यसपछि मलाई यस्ता तुच्छ फोन आउन थाले ।

नेपालको नम्बर मैले ब्लक गरेपछि भारतको नम्बरबाट फोन आउन थाल्यो । यताबाट गर्दा अफ गरिहाल्ने । दैनिकजसो फरक नम्बरबाट आउने ती फोनमा बोलिने शब्द म लेख्न सक्दिनँ । भर्खर करिअरको उकालो लाग्दै गरेको, घरबाट एक्लै बसेर काम गर्दै गरेकी, मानसिक र आर्थिक रूपमा सक्षम नभइसकेकी एउटी केटीमा त्यस्ता फोनले के बित्यो होला तपाइँहरू कल्पना समेत गर्न सक्नुहुन्न ।

स्याङ्जाको चाँपको बोटमुनि पुग्दा त्यही फोनको कारण मलाई जीवनमा पहिलो पटक आत्महत्या गर्न मन लागेको थियो । महिला भएकै कारण मैले अपनाएको पेशाको दुश्मनी साध्न मुद्दामा कुरा नगरी अश्लील शब्द बोलेर दिनदिनै हैरान बनाइन्थ्यो । यी सब कुरा गर्न न म नजिक मेरा साथी थिए न आफन्त । भए पनि मैले रोजेको पेशामा यस्तो भइरहेछ भन्ने थाहा पाएपछि पेशा छोड्नुपथ्यो ।

मलाई के गर्ने, कसरी कानूनी उपाय खोज्ने भन्ने थाहा थिएन । रातभर ढोका हान्दा समेत म प्रहरी बोलाउन सक्दिनथें । तिनीहरू भागे र पक्राउ परेनन् भने मलाई लाज हुन्छ भन्ने सोच्थें । लाज र इज्जत भनेर हामीलाई कसरी हुर्काइएको थियो भने काम गर्दा समेत हामी पेशामा प्रतिस्पर्धा होइन, कुनै इज्जत प्रतियोगितामा भाग लिइरहेका छौं जस्तो लाग्थ्यो ।

डाक्टर समीक्षा कोइरालाका अनुसार महिलाको चरित्रलाई समाजले सधैं तराजुमा जोखिराखेको हुन्छ । महिलाको बौद्धिकता पेशाभन्दा पनि महिलाको घरायसी भूमिका र आचरणलाई उसको पहिचान मान्दै आएको छ । उनले भनिन्, ‘कसैलाई प्रतिस्पर्धामा दबाब अनुभव हुन थाल्यो भने महिलाको क्षमता, काम र प्रमाणपत्रमा प्रश्न गर्दा प्रमाण पेश गर्नुपर्ने तर चरित्रसँग जोडिदियो भने प्रमाण पेश गर्न नपर्ने कारण हराउनको लागि अन्तिम अस्त्रको रूपमा चरित्र जोड्ने गर्छन् ।’

कसैको चरित्रमा नभएका कुरा जोडेर धावा बोल्दा बोल्नेको इज्जत जानुपर्ने र आरोप लगाउनेलाई कारबाही गर्ने संयन्त्र दरिलो बनाउनुपर्ने उनको सुझाव छ ।
पेशामा हराउन चरित्रसँग जोडिएका कुरा लेखेर साध्य नै छैन, जागिर पाएको र समाचार आएको कुरामा समेत चरित्र जोडिन्थ्यो । मानौं केटीको लागि कसैले समाचारको ‘कोट’ दिनु पनि शंका हो ।

अर्को एउटा घटना छ मनभित्र सधैं चिमोट्ने पीडितको जीवन र मनोदशा कस्तो अवस्थामा होला भनेर । तनहुँको एउटा कलेजको फिचर थियो– शिक्षकले विद्यार्थीलाई यौनहिंसा गरेको । यो समाचारको स्रोत मेरै आफन्त र छिमेकी हुन् । उनीहरूले आफू शिक्षकबाट हिंसामा परेको समाचार लेख्नको लागि होइन दिदीको नातामा भनेका थिए मलाई ।

उनीहरूलाई यो विषयमा समाचार लेख्नुपर्छ भन्ने नि थाहा थिएन । यो कारण उनीहरू मानसिक तनावमा थिए । पढाइ राम्रो थिएन । मैले यस विषयमा कोटको लागि कलेजकी स्ववियू उपसभापतिसँग सोधेकी थिएँ । उनीसमक्ष उजुरी नै लिएर एक जना विद्यार्थीकी दिदी आएकी थिइन रे ! परीक्षा दिइरहेकी छात्रालाई ती शिक्षकले स्तनमा यसरी समाएछन् कि पीडाले उनी परीक्षा नै छाडेर हिंडिछन् र फेल भइन् ।

यही कोट दिएको भन्दै अर्का शिक्षक तैंले कलेजको बेइज्जत गरिस् भनेर ती उपसभापतिलाई गाली गर्न गएछन् । मेरो विषयमा हल्ला फिजाइएछ । मैले ती शिक्षकसँग विवाह गर्न चाहन्थें उनी नमानेपछि मैले यस्तो समाचार लेखें रे ! इज्जत भेटेजति छात्रालाई यौनहिंसा गर्ने शिक्षकको होइन मेरो गयो रे ! त्यहाँका क्याम्पस प्रमुखले समेत यसो भन्दै हिंडेको भनेर मलाई सुनाइयो ।

त्यहाँका अरू शिक्षक र प्रमुखले समेत एउटा शिक्षकले गरेको हिंसा बाहिर आउँदा आफूहरूको इज्जत जाने र यो कुरा आउनुहुँदैनथ्यो भन्नेमा लागे । मलाई अहिले पनि भित्रैबाट चिमोट्ने कुरा हो । ती हिंसामा परेर परीक्षा छोडेर गएका कति छात्राको मनोदशा र भविष्यको चिन्ता कुनै शिक्षकलाई भएन ?

के हाम्रा शैक्षिक संस्थाबारे बाबा, दाइ–भाइ र श्रीमान् यस्ता विषयमा चिन्तित छन् ? उनीहरूलाई लाग्दो हो यस्ता समस्या भोगेर छोरी आफ्नै घरमा हुर्किरहेकी त छैनन् ? जसरी आफ्ना बावुले आफ्ना लागि घरमा सहज वातावरण बनाएका छन् त्यो घरबाहिर अरूका लागि न्यायको लागि समेत बोलिदिएका छन् ?

घरमा धेरै छोरीका लागि सहज वातावरण होला । तर घरबाट निस्कनासाथ खडा हुने काँडाका बाटोहरू पार गर्न छोरीहरूले के केसम्म गरेनन् होला ? यसको जिम्मेवार कुनै दिन बुझ्ने भएपछि छोरीले बाबालाई पनि मानेको दिन के तपाईं बाबा भइरहन सक्नुहुन्छ आफ्नी छोरीको नजरमा ?

हामी हाम्री छोरी स्मार्ट देख्न चाहन्छौं । आमा, दिदीबहिनी, प्रेमिका, श्रीमती पनि स्मार्ट देख्छौं तर आम महिला किन स्मार्ट देख्न चाहँदैनौं ? किनकि आफ्नै विचार, नेतृत्व क्षमता र कमाइ भएकी केटी उनीहरूका खराब कुरा सहेर बस्न सक्दिनन् । उसलाई ढाँट्न सकिंदैन । प्रश्न गर्छे ।

तर प्रश्न गर्ने काम केटीको होइन बस सहने हो । पुरुष समकक्षी भन्दा महिला जान्ने हुनु, उसका समाचार स्रोत राम्रो हुनु र राम्रो लेख्न सक्ने गुण चरित्रहीन भएपछि मात्र आउँछ ? अनि यस्तै गुण केटाको आउँदा चाहिं के भएर आउँछ ? गुण भएका पुरुष पत्रकारको कुरा पछि गरौंला । पेशामा स्थापित हुन कुनै केटाले चरित्रको सामना गर्नुपर्छ ?

यो त प्रश्नै होइन जो साँञ्चिकै चरित्रहीन छन् त्यस्ता केही पुरुषहरूलाई हामीले सेलिब्रेटी बनाएका छौं । मानौं उनीहरू क्रान्तिको युद्ध छेडेर आएका हुन् । युग परिवर्तनको जस उनीहरूलाई नदिनु अपराध हो । विवाहित पुरुषले श्रीमती भएकै समयमा डिभोर्स नगरी बच्चा पाउनु आफूभन्दा आधा उमेरकी केटी च्यापेर हिंड्नु उनीहरूको सबल पक्ष हो ।

सुन्दरी र सुराको अन्तर्वार्ता लिनु र दिनु केटाहरूको लागि शानको विषय हो । रक्सी खाएर सडकमा सुतेका र केटीका चरित्रहत्या गर्दै लेखिएका किताबले उनीहरूलाई पुरस्कृत गर्दै सेलिब्रेटी बनाएको छ । तर त्यही पेशाको महिलाले समाचारको स्रोत भेट्नु र फिल्डमा हिंड्नु खराब चरित्र हुन्छ ।

यी सबका बावजूद मिहिनेत गरेर घर, बच्चा धानेर चरित्रहीनको भाषण सुनेर गरिने यी काम त्यसै भएका होइनन् होला । मानसिक र घरायसी जिम्मेवारी अवरोध फोडेर कति चाहिं केटाले पत्रकारितामा आफ्नो स्थान बनाएका छन् ? यसको दाँजोमा महिलाले गरिरहेको काम सम्मान गर्न लायक होइन ? यति नबुझ्ने हुनु भनेको के उनीहरूमा समस्या छ ? उनीहरू महिलाको नेतृत्व घर बाहिर स्वीकार्न तयार छैनन् ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४