सुपर १२ मा पहिलो खेलमा बंगलादेशलाई हराएको श्रीलंकाको यो पहिलो हार हो । वार्नरले अर्धशतक बनाएपछि अष्ट्रेलियाले १५५ रनको लक्ष्य १७ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्यो । वार्नरले ४२ बल खेल्दै १० चौका मद्दतमा ६५ रन बनाए । पहिलो विकेटका लागि वार्नर र कप्तान आरोन फिन्चले ७० रनको साझेदारी गर्दै अष्ट्रेलियालाई राम्रो सुरुवात दिलाएका थिए । फिन्चले २३ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ३७ रन बनाए ।
तेस्रो नम्बरमा ब्याटिङ गरेका ग्लेन म्याक्सवेल ५ रन बनाएर आउट भए । स्टिभ स्मिथले २६ बलमा अविजित २८ रन बनाए । यस्तै मार्कुस स्टोइनिसले ७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित १६ रन जोडे ।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए भने कप्तान दासुन सन्नाकाले १ विकेट लिए । त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।
श्रीलंकाका लागि कुशल परेरा र चरिथा असालंकाले समान ३५ रन बनाए । यस्तै भानुका राजापक्षले २६ बल खेल्दै अविजित ३३ रन जोडे । अष्ट्रेलियाका मिचेल स्टार्क, प्याट कमिङ्स र एडम जाम्पाले २-२ विकेट लिए । ४ ओभर बलिङ गर्दा जाम्पाले १० रन मात्र खर्चिएका थिए भने स्टार्कले २७ र कमिङ्सले ३४ रन खर्चिए ।
