काठमाडौं । नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण भएर सञ्चालन भएको तीन हप्ता बितेको छैन । तर, आकाशेपुलको सुरक्षाको सन्दर्भमा प्रश्न उब्जिएको छ ।
काठमाडौंमा सबैभन्दा धेरै पैदलयात्रुको चाप हुने स्थानमा बनेको स्टिल स्ट्रक्चरको आकाशेपुलका कतिपय भागका ‘प्लेट’मा नटबोल्ट कसिएको छैन । कतिपय प्लेटका ‘प्वाल (होल)हरु त्यसै खाली छाडिएका छन् । स्ट्रक्चरल इन्जिनियर डा. राज सुवाल समान्यतयाः यस्तो स्ट्रक्चरको सबै ‘होल’हरुमा नटबोल्ट कसिनुपर्ने बताउँछन् । कतिपय अतिरिक्त होलहरु बनाइएको हुनसक्ने भएपनि होलहरु खुला छोड्न नहुने उनको तर्क छ ।
‘प्वाल खुला छाड्दा सुरक्षामाथि प्रश्न जन्मिन्छ,’ उनले भने,‘प्वाल खुला छोड्न नहुने मात्रै हैन, त्यसमा नट बोल्ट कतिसम्म कस्ने भन्नेसम्मको मापदण्ड हुन्छ ।त्यसअनुसार काम भएको हुनुपर्छ ।
नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ करिब ५० मिटर टाढा बनाइएको यो आकाशे पुल निर्धारित समयभन्दा करिब एक वर्ष ढिला गरेर तयार भएको थियो । सडक विभाग अन्तर्गतको काठमाडौं सडक डिभिजन कार्यालयले करिब ३ करोड रुपैयाँको लागतमा यो पुल निर्माण गरेको हो । यो आकाशेपुल ‘मुभेबल’ अर्थात् भविष्यमा खोलेर अर्को स्थानमा लैजान सकिने खालको छ ।

