आबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १८.३ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । आयरल्याण्डका लागि कप्तान एन्डी बेलब्रिनले सर्वाधिक ४१ र कर्टिस क्याम्परले २४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आयरल्याण्डलाई अलआउट गर्न श्रीलंकाका महिश थिक्शानाले ३ तथा चमिका करुणारत्ने र लहिरु कुरमाले दुई/दुई विकेट लिए । थिक्शानाले ४ ओभरमा १७ रन खर्चँदा लहिरुले २२ रन खर्चिए । वानिन्दु हसारंग दे शिल्भाले चार ओभरमा १२ रन मात्र खर्चेर एक विकेट लिए । दुशमन्थ चमिराले पनि एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले सात विकेट गुमाएर १७१ रन बनाएको थियो । ८ रनमै तीन विकेट गुमाएको श्रीलंकाको इनिङ्स ओपनर पथुम निसाका र अलराउण्डर वानिन्दु हसरंगाले सम्हालेका थिए । चौथो विकेटका लागि यी दुईले १२३ रनको साझेदारी गरे । हसरंगाले ४७ बल खेल्दै १० चौका र १ छक्का मद्दतमा सर्वाधिक ७१ रन बनाए । निसाकाले ४७ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ६१ रन जोडे । कप्तान दसुन सनाकाले ११ बलमा २ चौका र १ छक्का प्रहार गरी अविजित २१ रन बनाए ।
बलिङमा आयरल्याण्डका जोस लिटलले चार ओभरमा २४ रन खर्चेर ४ तथा मार्क एडेरले दुई विकेट लिए ।
