Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकीकृत समाजवादीको पहिलो बैठकमा जे देखियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १३ २०७८
  • 2.7K
    SHARES

 काठमाडौं । नेकपा एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आइतबार पहिलो पटक बस्यो ।

संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बिहान ११ बजे बोलाइएको बैठकका लागि अधिकांश सांसदहरु समयमै पुगे । ढिला गरी अध्यक्ष माधवकुमार नेपाल हलभित्र छिरेपछि सांसदहरुले उठेर अभिवादन गरे । नेपाललाई पछ्याउँदै सांसदहरू मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमेश हमाल मञ्चतिर गए ।

मञ्चमा अध्यक्ष नेपाललाई नेता भुसालले एउटा कागज थिए । कागज हेर्दै उनले संसदीय दलको पहिलो बैठकको एजेण्डा के के हुन सक्छ ? भन्दै छलफल शुरु गरे ।

‘औपचारिक बैठक बस्नुपर्ने भएकाले त्यो भन्दा अगाडि एजेण्डाको बारेमा केही डिस्कस गरौं’ भन्दै नेपालले संसदीय दलको बैठकका एजेण्डाबारे धारणा माग गरे ।

नेता नेपालले एक एक गरी ३० जना सांसदको नाम लिए । नेपालले आफ्नो नाम लिँदा सांसदहरुले उठेर उपस्थितिको जनाउ गरे ।

एजेण्डा र त्यसको प्रक्रियाबारे नेपालले सँगै रहेका बेदुराम भुसालसँग नेपालले पटक–पटक स्टेजमै सल्लाह लिए । उनले फ्लोरबाट पनि पटक–पटक सुझाव मागे । अध्यक्ष नेपालले निर्वाचन आयोगले आफूहरुको दल दर्ता भएको भनी संघीय संसद सचिवालयलाई लेखेको पत्र वाचन गरेर सुनाउने प्रस्ताव राखे ।

कि कसो रामकुमारी कमरेड ?

सबै सांसदको नाम लिइसकपछि नेपालले संसदीय दलको पहिलो बैठकले के के गर्नुपर्छ ? भनी सांसदहरुसंग राय मागे ।

सांसद रामकुमारी झाँक्रीले पहिलो बैठकबाट प्रतिनिधिसभाको संसदीय दलको नेता चयन गर्ने, राष्ट्रिय सभाको संसदीय दलको नेता चयन गर्ने प्रस्ताव राखिन् । ‘संसदीय दलको नेता चयन भएपछि बाँकी कामहरु अगाडि बढाऔं’ उनले भनिन् ।

एजेण्डा र त्यसको प्रक्रियाबारे नेपालले सँगै रहेका बेदुराम भुसालसँग नेपालले पटक–पटक स्टेजमै सल्लाह लिए । उनले फ्लोरबाट पनि पटक–पटक सुझाव मागे । अध्यक्ष नेपालले निर्वाचन आयोगले आफूहरुको दल दर्ता भएको भनी संघीय संसद सचिवालयलाई लेखेको पत्र वाचन गरेर सुनाउने प्रस्ताव राखे ।

‘निर्वाचन आयोगबाट संसद सचिवालयमा आयो अनि हाम्रो जानकारीमा आयो हैन ? पहिले यो पढेर सुनाउने, ठीकै होइन ?’ नेपालले सोधे । फ्लोरबाट सांसदहरूले ‘हुन्छ’ भने ।

नेपालले नामै किटेर सोधे ‘कि कसो रामकुमारी कमरेड ?’ रामकुमारी झाँक्रीले ‘ठीक हो कमरेड’ भनिन् ।

त्यसपछि अध्यक्षबाट सम्बोधन हुने र संसदीय दलको नेता चयन गर्ने लगायतका एजेण्डामा प्रस्तुत गर्ने प्रस्ताव नेपालले अगाडि सारे ।

नेपालले फ्लोरलाई नै सोधे, ‘दलको नेता चयन भएपछि उपनेता चयन गर्ने, प्रमुख सचेतक, सचेतक चयन हुन्छन् । राष्ट्रिय सभामा संसदीय दलको नेता राष्ट्रिय सभाले चयन गर्ने हो कि दलको नेताले चयन गर्ने हो ?’

सबैले भने, ‘फ्लोरबाट, संसदीय दलबाटै चयन गर्ने हो ।’

त्यसपछि माधव नेपालले थपे, ‘दुईटा कुरा छ । संविधानको व्यवस्था, प्रतिनिधिसभा, राष्ट्रिय सभाको नियमावलीको व्यवस्था हेरेर पार्टीको संसदीय दलको विधान बनाएर त्यसअनुसार गर्नुपर्छ ।’

संसदीय दलको विधान आवश्यक पर्ने भएकाले त्यसका लागि मस्यौदा समिति गठन गर्ने प्रस्ताव पनि उनले राखे । यी प्रस्तावित एजेण्डाहरुमा नेपालले एकएक गरी सांसदहरुको राय लिएर अन्तिम रूप दिए ।

नेपाले सोधे, ‘अरु केही छन् ?’

सांसदहरुले ‘छैन’ भनेपछि नेपालले ‘केही छैन भने’ औपचारिक रूपमा कार्यक्रम सञ्चालन गर्न ‘को आउनुहुन्छ ?’ भनी सोधे । कुनै एक जनाले सांसद विरोध खतिवडाको नाम लिए । नेपालले खतिवडालाई स्टेजमा बोलाए ।

खतिवडाले शुरुमा शहीदहरुको सम्झनामा एक मिनेट मौन धारण गर्न लगाए । त्यसपछि सिधै अध्यक्षलाई सम्बोधन गर्न बोलाए । तर, सांसदहरुले रोक्दै ध्यानाकर्षण गराए, ‘राष्ट्रिय गान गाउनुपर्छ ।’

उनले मोबाइलमा राष्ट्रिय गान खोजेर माइकनजिक लगे । सबैले उठेर राष्ट्रिय गान गाए ।

त्यसपछि १ घण्टा २० मिनेट सम्बोधन गरेका अध्यक्ष नेपालले अधिकांश समय एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे । उनले माओवादी केन्द्रसंग एकीकरण हुने भनी भएको चर्चाको खण्डन गरे ।

सांसदहरुलाई उत्साही बनाउने उनको भरपुर प्रयास थियो । कम्युनिस्ट पार्टी स्थापना भएदेखि नै नेतृत्व दणिपन्थी हुने र विद्रोह हुने क्रम चल्दै आएको उल्लेख गर्दै अध्यक्ष नेपालले दक्षिणपन्थी धारमा गएकाहरु समाप्त भएको र विद्रोह गर्नेहरुले कम्युनिस्ट पार्टीको नेतृत्व गर्दै आएको जिकिर गरे । ‘कसिंगर जति बढारियो कोठा त्यति सफा हुन्छ, पार्टी त्यति शुद्ध हुन्छ’ नेपालले भने, ‘एमाले प्रवृत्ति यहाँ दोहोर्‍याउने होइन ।’

चार प्रस्ताव सर्वसम्मत

माधव नेपालको सम्बोधनपछि बन्द छलफल शुरु भयो । बन्द छलफलले चारवटा प्रस्ताव पारित भयो ।

पहिलो प्रस्ताव थियो– दलको नेता चयन । सांसद मुकुन्द न्यौपानेले माधव नेपाललाई संसदीय दलको नेतामा प्रस्ताव गरे । फ्लोरले ‘परर’ ताली पिट्यो । माधव नेपालले मञ्चबाटै भने, ‘सर्वसम्मत भयो, कसैको केही छैन ?’

दोस्रो प्रस्ताव थियो– राष्ट्रिय सभाको दलको नेता चयन । राष्ट्रिय सभा सदस्य उदया शर्मा पौड्यालले अर्का राष्ट्रिय सभा सदस्य बेदुराम भुसाललाई दलको नेता प्रस्ताव गरिन् । फ्लोरले सर्वसम्मत पारित गर्‍यो ।

‘माधव नेपाल ठीक छ हैन ?’ भन्दै सांसदहरुको सहभागिता खोजिरहेका थिए ।

तेस्रो प्रस्ताव– विधान मस्यौदा समिति गठन । कार्यक्रम सञ्चालक विरोध खतिवडाले नै विधान मस्यौदा समितिमा रहने सांसदहरुको नाम प्रस्ताव गरे । भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी । यीमध्ये खापुङ र चौधरी प्रतिनिधिसभा र कुँवर र पुरी राष्ट्रियसभा सदस्य हुन् । यसलाई बैठकले सर्वसम्मत पारित गर्‍यो ।

चौथो प्रस्ताव पनि खतिवडाले नै राखे । ‘सरकारमा जाने हाम्रो निर्णय छ । यसका सन्दर्भमा …निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं संसदीय दलको नेता माधव नेपाललाई अधिकार दिऊँ ।’ यो प्रस्तावमा पनि सहभागी सबैले सहमति जनाए ।

त्यसपछि माधव नेपालले थप प्रस्तावहरु केही छन् कि ? भनी सोधे ।

सांसद जीवनराम श्रेष्ठले कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई भन्नुपर्ने, बाढी पहिरो रोकथामको योजना र पीडितका लागि राहत ल्याउन सरकारलाई खबरदारी गर्नुपर्ने बताए ।

सांसद रामकुमारी झाँक्रीले निर्वाचन आयोगले भदौ २२ गतेसम्म एमालेबाट निर्वाचित भएका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले नयाँ दल रोज्न पाउने भएकाले पार्टीले यसमा ख्याल गर्नुपर्ने बताइन् ।

सांसद प्रेम आलेले मेरो पनि केही छ कमरेड भन्दै भनाइ राखे । उनले संसदीय समितिमा नेकपा एकीकृत समाजवादीको प्रभाव र उपस्थिति बढाउनुपर्ने बताए । ‘संसदीय समितिमा को को लाई पठाउने हो ? हाम्रो उपस्थिति यता पनि बढाउन पर्‍यो’ उनले भने । बैठकले यी विषयलाई पनि प्रस्तावका रुपमा समेट्ने निर्णय गर्‍यो ।

कम्युनिस्ट अभ्यास

सांसदहरुले बैठकमा आफूहरुले पनि बोल्न पाएकामा खुशी व्यक्त गरे । सांसद समिना हुसेनले एमालेमा हुँदाको बैठक सम्झिइन् । ‘उता हुँदा बोल्नै पाइन्नथ्यो, आयो गयो जस्तो हुन्थ्यो’ उनले भनिन् ।

अर्का सांसद पार्वती कुमारी बिशुंखेले पार्टीको बैठक साँच्चै लोकतान्त्रिक भएको बताइन् । ‘व्यक्ति भन्दा विधिलाई अवलम्बन गरेको हो । त्यसकारण माधव नेपाललाई रोजेको हौं’ उनले भनिन्, ‘केपी ओली नेतृत्वमा हुँदा पूर्वनिर्धारित हुन्थ्यो, यस्तो निर्णय भएको छ भनेर सुनाइन्थ्यो सकियो । तर, आज त्यस्तो भएन ।’

सांसदहरुमा उत्साह भर्ने प्रयास

बैठकको अन्तिममा पुनः सम्बोधन गरेका नेता नेपालले सांसदहरुमा उत्साह जगाउन खोजे । प्रतिनिधिसभामा चौथो दल र राष्ट्रिय सभामा आफुहरु तेस्रो दल बन्न पुगेको भन्दै निराश हुन नपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।

अब संघीय संसद र प्रदेश सबैतिर हालको सत्तारुढ गठबन्धनको बहुमत रहेकाले कानुन बनाउन र काम गर्न सहज हुने बताए । अब पार्टीको ध्यान प्रदेश र स्थानीय तहमा एमालेबाट निर्वाचित बढीभन्दा बढी प्रतिनिधिहरुलाई नयाँ दलमा आबद्ध गराउनेतिर रहेको भन्दै नेपालले बैठक अन्त्य गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४