Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मलाई अगाडि घचेटे, पछाडि हेर्छु त कोही छैन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १२ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लामो समय आफूसँग रहेका तर नयाँ पार्टी गठनमा साथ नदिएका दोस्रो पुस्ताबारे मुख खोलेका छन् । उनले धोका शब्द त प्रयोग गरेनन्, तर आफूलाई घचेटेर अगाडि बढ् भनेको, तर पछाडि फर्किएर हेर्दा कोही नपाएको बताए ।

उनले आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भनेका दोस्रो पुस्ताकै नेताहरुले आफूले भन्दा पहिला दुई वटा दल निर्वाचन आयोगमा दर्ता गराएको समेत खुलाए । तीनै नेताहरु अहिले एमालेमै बसेको भन्दै उनले ओली सुध्रिएका हुन् ? भनेर प्रश्न गरे ।

पूर्वप्रधानमन्त्री नेपालले २ भदौमा एमाले विभाजन गरेर नयाँ दल घोषणा गरेका थिए । तर नवौं महाधिवेशनदेखि एउटै समूहमा रहेका र संसद विघटनसँगै अध्यक्ष ओली शर्मा ओलीविरुद्ध संघर्ष गरे १० स्थायी कमिटी सदस्य एमालेमै बसे ।

उपाध्यत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य तथा स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा एमालेमै बसेका हुन् । १० बुँदे कार्यान्वयन गर्ने सहमति भएको भन्दै दोस्रो पुस्ता अडिएपछि नेपाल समूहका केन्द्रीय सदस्य र सांसदहरु पनि एमालेमै रहे ।

केही केहीको खुट्टा काम्न थाल्यो

शनिबार पेशागत महासंघ नेपाल, बाग्मती प्रदेशले शनिबार गरेको जिल्लास्तरीय भेलामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आजै पार्टी फुटाऔं, भोलि पार्टी फुटाऔं भन्ने नेताहरुको पोजिसन परिर्वतन भएको देख्दा अचम्म लागेको बताए ।

२३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएपछि आफूहरु विद्रोही आवाजका साथ एमालेमै बस्न चाहेको नेता नेपालले सुनाए । त्यसबेला आफूलाई दोस्रो पुस्ताका नेताहरुले ‘आजै पार्टी घोषणा गरौं, भोलि नै पार्टी घोषणा गरौं’ भनेर दबाव दिने गरेको नेता नेपालले सम्झिए ।

‘केपी ओली प्रतिगमनका बाहक हुन्, दक्षिणपन्थी भासमा भासिएका छन् । विदेशीसामू लम्पसार परेका छन् । त्यसैले जसरी पनि फाल्नुपर्छ । दोस्रो पुस्ताका नेताहरु भन्थे’ उनले भने, ‘तयार नभएका शेरबहादुर देउवालाई तयार गर्न साथीहरु जानुभएको थियो । माओवादीलाई एक ठाउँमा ल्याउन भूमिका खेल्नुभयो । उपेद्र यादवलाई त्यो विश्वास दिलाउनुभएको थियो ।’

आफूहरुको साथ पाउने भएपछि नै कांग्रेस, माओवादी र जसपा तयार भएको उनले बताए । नेता नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुलाई सम्झिँदै भने, ‘बलियो मोर्चा बन्न थालेपछि अगाडि बढ्नुस्, जो सुकैलाई प्रधानमन्त्री बनाए पनि हुन्छ, तर केपी शर्मा ओलीलाई फल्नैपर्छ भनेर भन्ने उहाँहरु नै हो ।’

त्यसबेला पनि आफूले ओलीलाई फाल्न त सकिन्छ, तर संसदमा आफूहरु चाहिने भनेर सम्झाएको सुनाए । ‘संसदबाट राजीनामा दिएर निस्क्यौं भने संख्या पुग्र्दैन । प्रधानमन्त्रीलाई सडकबाट फाल्न सकिँदैन, संसदबाटै हटाउनुपर्छ । त्यसैले संसदको गतिविधिमा भाग नलिऔं, बहिस्कार गरौं भने’ उनले भने ।

त्यहीअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिँदा आफूहरु संसदमा अनुपस्थित भएको अध्यक्ष नेपालले बताए । फेरि प्रधानमन्त्री बनेको ओलीले सर्वोच्च अदालतको फैसला विपरीत फेरि संसद विघटन गर्न खोजेपछि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षर जुटाउनु रेको उनले बताए ।

उनले भने, ‘त्यो बेला केहीकेहीको खुट्टा काम्न थाल्यो । हामी खुट्टा कमाउने मान्छे होइनौं । कसैको खुट्टा कामे कान्छ, म अगाडि बढेँ भनेर हिम्मत गरेँ ।’

नयाँ पार्टी गठनमा आफूलाई साथ नदिएका दोस्रो तहका नेताहरुतर्फ संकेत गर्दै उनले अघि भने, ‘मलाई घचेटेर अगाडि बढ भने, पछाडि हेर्छु त कोही पनि छैन ।’

दोस्रो पुस्ताको पोल खोले

अध्यक्ष नेपालले आफूलाई छाडेर एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरुको पोल खोलेका छन् । उनीहरुले निर्वाचन आयोगमा दुई पार्टी दर्ता गराएको उनको दाबी छ ।

‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत, कमल चिह्न भएको पार्टी यही दोस्रो पुस्ताका नेताले खोलेका हुन्,’ उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक निर्वाचन आयोगमा दर्ता भएको छ । यो पनि दोस्रो पुस्ताकै नेताहरुले खोलेका हुन् ।’

एमालेमै बसेकाहरुलाई प्रश्न : ओली सुध्रिएका हुन् ?

एकीकृत समाजवादीका अध्यक्ष नेपालले लामो समय आफूसँग रहेका, तर अहिले एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरुलाई प्रश्न गरेका छन्, ओली सुध्रिएका हुन् ?

हिजो आफूलाई पार्टी खोल्न दबाव दिनेदेखि आफैं अनेक दल दर्ता गर्ने नेताहरुले अहिले आफूलाई अर्को पार्टी खोल्न पाइन्छ भन्ने भन्न थालेको भन्दै अध्यक्ष नेपालले भने, ‘केपी ओलीले बार्दलीबाट भुकिसकेपछि ज्ञान आएछ ज्ञान !’

उनले अघि भनेका छन्, ‘प्रधानमन्त्री निवासबाट निस्किएको मोटरसाइकल र्‍यालीमा बा राजनेता जिन्दावाद सुनिसकेपछि चेत आएको हो ? केपी ओलीमा सुधार आएको हो ? उहाँको सोच र चिन्तनमा परिर्वतन भएको छ ?’

आउनुस्, अध्यक्ष छाड्न तयार छु

दुई नाउमा खुट्टा टेकेर सागर तर्न नसक्ने भन्दै उनले ढुलमुलमा नबस्न नेताहरुलाई आग्रह गरे । उनले दोस्रो पुस्ताका नेताहरु एमाले छाडेर आए अध्यक्ष छाड्न तयार रहेको बताए ।

‘आउनुस्, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको अध्यक्ष बन्नुस्’ अध्यक्ष नेपालले भने, ‘अध्यक्षबाट अहिले, केही वर्षपछि राजनीतिबाटै विदा भइहाल्छु ।’

आफूहरुको संघर्ष पदको नभई विचार सिद्धान्त, कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टीकै रुपमा अगाडि बढाउने कि नबढाउने भन्ने भएको उनले सुुनाए । उनले आफूले नेतृत्व गरेको पार्टी ओलीको पार्टीभन्दा फरक हुने समेत दाबी गरे ।

एमाले अध्यक्ष ओली दक्षिणपन्थी भाषमा गएको र दरबारिया, विदेशीबाट परिचालित तथा देशलाई टुक्राउन चाहने अवसवारदीसँग मिलेको उनको दाबी छ । अघि भने, ‘केपी ओलीजी सुध्रिनुस्, प्रतिगमनको क्रियाकलापप्रति आत्मालोचना गर्नुस् ।’

माओवादीमा मिल्दैनौं

एकीकृत समाजवादीका अध्यक्ष नेपालले वाम लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने, तर तत्काल कुनै पार्टीसँग एकता नगर्ने समेत बताएका छन् ।

पार्टीको आधार बनाउनु पहिलो प्राथमिकता भएको भन्दै उनले भने, ‘माओवादीमा गएर मिल्छ कि भन्ने भ्रम नराखे हुन्छ । अरु कुनै पार्टीसँग तत्काल एकता गर्ने छैन । अहिले यो पार्टीको आधार बलियो बनाउने छौं ।’

देशव्यापी संगठन बनाएर कार्यकर्तामा नयाँ उर्जा ल्याउने, वुथसम्म कमिटी बनाउने र एक कार्यकालपछि अध्यक्ष पदमा नबस्ने समेत उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४