Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्युत् प्राधिकरणले देशभर ‘उज्यालो र शहर सफाइ अभियान’ चलाउने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ६ २०७८
  • 4.8K
    SHARES

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई बृद्धि गर्न ‘उज्यालो र शहर सफाइ अभियान’ चलाउने भएको छ । उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिने छ ।

यसबाट सहरको सौन्दर्य अभिवृद्धि  हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरुमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरु हटाउने, तारहरुलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाइने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान संघीय राजधानी काठमाडौं उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरी नै सञ्चालन गरिने छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्ययोजनामार्फत वितरण लाइन तथा सबस्टेशनको क्षमता बृद्धी गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र शहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने घोषणा गरेका थिए ।

यही घोषणालाई कार्यान्वयन गर्न प्राधिकरणले ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउन लागेको हो ।

‘अहिले सडकमा प्रयोगमै नरहेका अनावश्यक पोलहरु जताततै देखिन्छन्, त्यसलाई हटाउन सुरु गरिसकेका छौं, विद्युतीय तारलाई भूमिगत बनाउन पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा धमाधम काम भइरहेको छ, सहरलाई कुरुप बनाएका विभिन्न सेवा प्रदायकहरुको तारको जालोलाई हटाएर हाम्रै भूमिगत प्रणालीमा राखिने छ’, घिसिङले भने, ‘हाल भइरहेको जमिन माथिको -ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको जालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने भएकाले यसलाई देशका प्रमुख सहरहरुमा विस्तार गर्दैछौं ।’

प्राधिकरणले अहिले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्ऽअन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ । दोस्रो चरणमा काठमाडौंका बाँकी रहेका ठाउँहरु, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढाइसकेको छ ।

विद्युतको तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।

सडक र पर्यटकीय क्षेत्रमा उज्यालो

प्राधिकरणले स्थानीय तहहरुसँगको सहकार्यमा ऐतिहासिक धार्मिक, सांस्कृति, विश्व सम्पदामा सूचीकृत स्थानहरु र सडकलाई राति उज्यालो बनाउन स्मार्ट वत्ति जाडान गर्न अभियान नै चलाउने छ । ललितपुर महानगरपालिकाको सकृय सहभागितामा पहिलो चरणको स्मार्ट सडक वत्ति जडान भइसकेको छ । डडेलधुराको अमरगढी नगरपालिकाको मुुख्य सडकमा सडक बत्ती जडान कार्य सम्पन्न भैसकेको छ ।

भरतपुर महानगरपालिका, झापाको कन्काई,  दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको  भीमदत्त नगरपालिकामा स्मार्ट सडक वत्ति जडान भैरहेको छ ।

काठमाडौ, पोखरा र ललितपुरको दोस्रो फेजको स्मार्ट सडक वत्ति जडानको लागि ठेक्का सम्झौता हुने अन्तिम चरणमा रहेको छ । उज्यालो सहर अभियानअन्तर्गत काठमाडौंको कोटेश्वर- भक्तपुर र कोटेश्वर-कलंकी सडक खण्ड, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राखिएका वत्तिलाई हटाएर स्मार्ट लाइट जडान प्रकृया अगाडि बढिसकेको कार्यकारी निर्देशक घिसिङले बताए ।

हाल देशभरबाट थप मागहरु आइरहेको र करिव २० वटा नगरपालिकाबाट प्राप्त मागलाईर् कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । जसमध्ये कैलालीको धनगढी, बाँकेको कोहलपुर, दाङको लमही तथा तुलसीपुर, मकवानपुरको हेटौडा, उदयपुरको गाईघाट, मोरङको सुन्दर हरैंचा, धनुषाको जनकपुर, काठमाडौंको  कीर्तिपुर, बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, काभ्रेको धुलिखेल, नुवाकोटको विदुर लगाएतका नगरपालिकाहरु रहेका छन् । प्राधिकरणले स्मार्ट लाइट जडानका लागि देशभरका नगरपालिकाहरुसँग प्रस्ताव माग गरेको छ ।

नगरपालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान हुने छन् । लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्ने छ । नगरपालिकाहरुले आफै शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले वोलपत्र प्रकृया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ ।

विश्व सम्पदा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रमा स्थानीय नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिने छन् । सडकका मुख्य चोकहरुमा बढी उज्यालो दिने ठूलो बत्ती (लाइटिङ मास्ट) राखिने छ ।

‘उज्यालो नुहँदा हाम्रा ऐतिहासिक धरोहरहरु र पर्यटकीय स्थलहरु राति अँध्यारो नै रहने गरेका छन् भने सडक पनि अँध्यारोनै हुन्छ, त्यसैले त्यस्ता ठाउँहरुमा स्थानीय तहहरुको साझेदारीमा स्मार्ट बत्ती राख्न उज्यालो अभियान चलाउँदै छौं,’घिसिङले भने,’यसबाट एकातर्फ यातायात व्यवस्थापन,शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने छ भने अर्कोतर्फ सहरी सौन्दर्यमा वृद्धि हुने छ ।’

उनले सर्वसाधारणले पनि आफ्नो घरआँगनमा उज्यालो हुने गरी बत्तीहरु जडान गर्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४