Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गाईजात्रा : मृत्यु शोकको अनौठो उत्सव


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ५ २०७८
  • 6.4K
    SHARES

संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठले दिवंगत पिताको सम्झनामा गाईजात्राको दिन २०५२ सालमा साँच्चिकै गाईलाई नगर परिक्रमा गराए । काठमाडौं उपत्यकामा मनाइने गाईजात्रामा गाईकै प्रयोग गर्ने चलन हराउँदै गएकाले संस्कृतिको मौलिकता कायम राख्न दुवाकोटबाट गाई ल्याएर यात्रा सम्पन्न गरेको श्रेष्ठ बताउँछन् ।

उनका अनुसार, पहिले र अहिलेको गाईजात्रा परम्परामा धेरै फरक आइसकेको छ । अहिले बालक वा बाँसका संरचनालाई गाईको प्रतीक मानेर गाईजात्रा मनाउने चलन बढेको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो तीन दशकमा गाईजात्राको धेरै संस्कार बदलिएको देखिन्छ ।’

उनका अनुसार, अहिले त गाईजात्रालाई दिवंगत आफन्तको नाममा गाईजस्तो आकृति बनाएर नगर परिक्रमा गराउने पर्व भनेर बुझ्न थालिएको छ । ‘तर, गाईजात्रा यति मात्र त हुँदै होइन’, श्रेष्ठ भन्छन् ।

  • ६०० वर्ष पुरानो जात्रा

संस्कृतिविद्हरू गाईजात्रालाई शोक र उल्लासको संगम मान्छन् । यो पर्वलाई नेवारी भाषामा ‘सारुपा’ भनिन्छ । यसको प्रचलनकर्ता राजा प्रताप मल्ल हुन् भनिन्छ । उनले छोरो मरेर शोकमा परेकी रानीलाई सान्त्वना दिन नगरमा एक वर्षभित्र आफन्त मरेका परिवारलाई दरबारमा जात्रा ल्याउन निर्देशन दिएको अभिलेखहरू पाइएका छन् ।

गाईजात्रा प्रताप मल्लको समयभन्दा अघि नै थालिएको बताउने विद्वानहरू पनि छन् । प्रताप मल्लले कुनै पनि अभिलेखमा यो पर्व आफूले शुरू गरेको उल्लेख नगर्नु र गोपालराज वंशावलीमा पनि त्यस्तो उल्लेख नहुनुले यो पर्व कम्तीमा ६०० वर्ष पहिले नै शुरू भइसकेको ती विद्वानहरूको तर्क छ ।

साढे र जग्गा दानको विकल्प खोज्दै जाँदा वृषसर्ग कर्म नगरे पनि स्वर्गको ढोका खुल्ने भाद्र कृष्ण प्रतिपदाको दिन गाईजात्रा गर्दा मृतकले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छन् भन्ने विश्वास भएर नेवारहरूले यो पर्व मनाउन थालेको धौभडेलको मत छ

६०० वर्ष पहिले जयस्थिति मल्लको समयको गोपालराज वंशावली (पत्र ६१) मा ‘साँ यात’ उल्लेख छ । यो भनेको ‘गाईको यात्रा’ हो । यसले गाईजात्रा जयस्तिथि मल्लको समयभन्दा पनि पहिल्यै शुरू भएको पुष्टि गर्ने संस्कृतिविद् श्रेष्ठ र ओम धौभडेलको मत छ ।
लिच्छविकालमा मनोरञ्जनका लागि गोरु जुधाउने चलन पनि थियो । अनन्तलिंगेश्वरको अभिलेखमा ‘गो युद्ध’ उल्लेख छ । गोरु जुधाएर रमाइलो गर्ने र मृत्यु संस्कारमा गाईको यात्रा गर्ने चलन पूर्वमध्यकालमा शुरू भएको संस्कृतिविद् श्रेष्ठ बताउँछन् ।

गाई यात्रालाई जात्राको रूपमा विकास भने काठमाडौंका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लको समयमा भएको उनको मत छ । त्यो बेला गाईजात्रामा बाजागाजाको संस्कार थपिएको श्रेष्ठ बताउँछन् ।

  • गाईजात्रा किन नेवारी समुदायमा मात्र ?

गाईजात्रा मृत्युसंस्कारसँग सम्बन्धित पर्व हो । संस्कृतिविद् धौभडेलका अनुसार, अरू संस्कृतिमा परिवर्तन भए पनि मृत्यु संस्कार उही रहन्छन् । तर, पछिल्लो समय गाईजात्राको संस्कारमा पनि परिवर्तन देखिएको उनी बताउँछन् ।

धौभडेलका अनुसार गरुडपुराणमा मान्छेको मृत्युको ११औं दिनमा वृषसर्ग गर्नुपर्ने उल्लेख छ । त्यो दिन परिवारले जिउँदो साँढे र उसको लागि आवश्यक जग्गा दान दिए मात्र दिवंगत आत्माले शान्ति पाउँछ भन्ने छ । ‘तर यो संस्कारमा धेरै खर्च लाग्ने भयो’ धौभडेल भन्छन्, ‘अनि वैकल्पिक उपायको रूपमा गाईजात्रा मनाउन थालियो ।’

साँढे र जग्गा दानको विकल्प खोज्दै जाँदा वृषसर्ग कर्म नगरे पनि स्वर्गको ढोका खुल्ने भाद्र कृष्ण प्रतिपदाको दिन गाईजात्रा गर्दा मृतकले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छन् भन्ने विश्वास भएर नेवारहरूले यो पर्व मनाउन थालेको धौभडेलको मत छ ।

  • गाई यात्रा कि जात्रा ?

प्रारम्भमा ‘गाई यात्रा’ को रूपमा रहेको यो पर्व मध्यकालदेखि ‘गाई जात्रा’को रूपमा मनाउन थालियो । पहिले गाईको नगर परिक्रमाबाट मृत्यु संस्कार पूरा गरिन्थ्यो, पछि यसमा बाजागाजा पनि थपियो । यो पर्व मध्यकालदेखि ‘यात्रा’बाट ‘जात्रा’मा बदलिएको धौभडेल बताउँछन् ।

आनन्ददेवदेखि यक्ष मल्लसम्मको समयको ३६७ वर्षसम्म नेपालको राजधानी भक्तपुर थियो । यक्ष मल्लको समयपछि काठमाडौं उपत्यका विभाजित भएसँगै काठमाडौं, भक्तपुर र ललितपुरमा भिन्दाभिन्दै संस्कृति विकास भयो । अहिलेसम्म पनि यी तीन ठाउँको नेवारी भाषा-संस्कृतिमा सामान्य अन्तर पाइन्छ ।

संस्कृतिविद् श्रेष्ठका अनुसार भक्तपुरमा गाईजात्रादेखि कृष्ण जन्माष्टमीको दिनसम्म डबली र टोलहरूमा गीत, नाटक, ख्याल आदि देखाउने चलन छ । यक्ष मल्लपछि पाँचौं पुस्ताका राजा जगतप्रकाश मल्लले ब्राहृमण चन्द्रशेखरको सुझावमा नाचगान र बाजागाजा शुरू गरेको श्रेष्ठ बताउँछन् । ‘त्यही बेलादेखि यो जात्रा धुमधामसँग मनाउन थालियो’, उनी भन्छन् ।

शाहकालमा यो संस्कारमा अर्काे बदलाव आयो । रणबहादुर शाहले बिफरको महामारीबाट रानी कान्तिवतीको मृत्यु भएपछि छोरा गीर्वाणयुद्धको समेत मरण नहोस् भनेर तीनै शहरका सबै बालबच्चालाई नेपालमण्डल बाहिर निकाला गर्न आदेश दिएको संस्कृतिविद् श्रेष्ठ बताउँछन् ।

उनका अनुसार, निकालामा परेकाहरू बनेपा, पनौती, पोखरा लगायत ठाउँमा गएर बस्न थाले । त्यही बेलादेखि उपत्यका बाहिर पनि गाईजात्रा मनाउन थालियो ।

रणबहादुर शाहले सबै बालबच्चालाई बाहिर निकाल्ने योजना बनाएपछि उपत्यकामा ‘कचि मचा वायै यां केगु या याखु -भर्खरै जन्मिएको शिशुलाई पनि फाल्न लगाउने कस्तो निर्दयी राजा ?)’ भन्ने विरही गीत चलेको संस्कृतिविद् श्रेष्ठ बताउँछन् ।

  • मृतकको प्रतीकात्मक यात्रा

गाईजात्राको दिन मृतकको घरमा बिहानै लिप-पोत गरिन्थ्यो । सिमेन्टको घर बनाउने चलन फस्टाएपछि लिप-पोतको सट्टा शुद्धाशुद्धिमा ध्यान दिइन्छ । कतिले अघिल्लै दिन बाँसको सांकेतिक गाई बनाउन थाल्छन् । कसैले गाईजात्राकै दिन बिहान बनाउँछन् ।

गाईजात्राको दिन घरको मूल ढोका अगाडि सकेसम्म रातो माटो र गोबर पोतिन्छ । पण्डित बोलाएर श्राद्ध कर्मको विधिविधान पूरा गरिन्छ । त्यसपछि मृतकको नाममा गोदान गरिन्छ । त्यो बेला घरकी महिला भित्र गएर रुनुपर्छ । गाईलाई नगर परिक्रमा गराउँदा पनि हातमा धूप लिएर रुँदै हिंड्नपर्छ । रुनुको अर्थ मृतकप्रतिको सम्मान हो ।

भक्तपुर र ललितपुरमा चारवटा बाँसबाट बनेको प्रतीकात्मक गाईलाई नगर परिक्रमा गर्ने चलन छ । काठमाडौंमा भने कतिपयले बालबालिकालाई कृष्ण-राधा, शिव-पार्वतीको भेषमा घुमाएको देखिन्छ । यस्तो चलन भक्तपुरमा समेत देखिएको छ, जुन भक्तपुरको मौलिक संस्कार नभएको संस्कृतिविद् धौभडेल बताउँछन् ।

त्यसो त, यो संस्कारमा पेशागत भिन्नता पनि देखिन्छ । कृषक परिवारले बाँसको गाई बनाउने चलन छ । श्रेष्ठ परिवारमा भने बच्चालाई सिंगारेर देखाउने चलन छ ।

उहिले मृतक पुरुष, महिला वा बच्चा को हो ? भन्ने बुझाउन संकेत प्रयोग गरिन्थ्यो । मृतक बच्चा छ भने डोकोको गाई बनाएर नगर परिक्रमा गरिन्थ्यो । मृतक महिला भए रातो र नीलो कपडाको प्रयोग हुन्थ्यो । मृतक दुई जीउकी भए गाईसँगै सानो गाई बनाएर राखिन्थ्यो ।

हिजोआज भने मृतकको तस्वीर प्रतीकात्मक गाईमाथि राखेर नगरपरिक्रमा गरिन्छ ।

  • शोकमा हास्य

शोक र मृत्युसँग सम्बन्धित यो संस्कारमा हास्यव्यङ्ग्य कसरी शुरू भयो ? संस्कृतिविद् श्रेष्ठ भन्छन्, ‘नेपाली संस्कृतिले शोकसँगै हाँसोमा पनि साथ दिन्छ भन्ने प्रतीकात्मक अर्थ बोकेको पर्व हो यो ।’

गाईजात्रामा हाँसो र व्यग्ङ्ग्यको शुरुआत पनि मध्यकालमै भएको उनको मत छ । उनका अनुसार, प्रताप मल्लले गाईजात्रा गरेर मृत्यु शाश्वत सत्य हो भन्ने देखाउँदा समेत रानीको चित्त शान्त नभए पछि हास्य प्रयोग गरेको भन्ने कथा पनि छ । जसरी र जहिले शुरू भए पनि गाईजात्रा पर्व हाँसो र आँसुको संगम रहिआएको श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४