Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बहस : खुम्चिएको नेपाली यौन साहित्य समीक्षक भन्छन्, ‘कलामा जसरी साहित्यमा यौनको बलियो उपस्थिति छैन’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ३० २०७८
  • 21.3K
    SHARES

काठमाडौं । यौनको चर्चा हुँदा नेपाली समाजमा महर्षि वात्स्यायनले दुई हजार वर्षअघि लेखेको ‘कामसुत्र’ नै दोहोरिरहन्छ । मन्दिरका टुँडालदेखि प्राचीन कलामा यौन पाइए पनि नेपाली समाजले ‘यौन’लाई अझैसम्म खुलेर स्वीकार गरेको पाइँदैन । समाजमा जस्तै आधुनिक नेपाली साहित्यमा पनि यौनले दर्बिलो स्थान लिन सकेको देखिँदैन ।

अंग्रेजी र हिन्दीको तुलनामा नेपाली साहित्यमा निकै कममात्र यौन साहित्य लेखिएको पाइन्छ । समालोचक अभि सुवेदीका अनुसार पूर्वीय दर्शनमा यौनको विषद् चर्चा भएपनि आधुनिक नेपाली साहित्यमा यो कममात्रै लेखिएको छ । ‘प्राचीन र मध्यकालका नेपाली चित्र, मूर्ति आदिमा यौनको उपस्थिति प्रष्ट छ’ सुवेदी भन्छन्, ‘आधुनिक नेपाली साहित्यमा भने यौनलाई मुख्य विषय बनाउने स्रष्टा औलामा गन्न सकिने जति छन् ।’

आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाले फ्रायडवादी दर्शनमा आधारित कथा लेखेपछि नेपाली साहित्यमा यौनले स्थान पाएको अधिकांश समालोचक तथा लेखकहरूले स्वीकारेका छन् । कोइरालाले वि.सं १९९२ को शारदा पत्रिकामा ‘चन्द्रवदन’ शीर्षकको कथा लेखेर नेपाली साहित्यमा यौन मनोविज्ञान प्रवेश गराएको डा. ईश्वर बरालको समालोचना ‘झ्यालबाट’मा उल्लेख छ ।

त्यसपछि तारिणिप्रसाद कोइराला, भवानी भिक्षु, गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्ल, मनु ब्राजाकी, पोषण पाण्डे, पुष्कर लोहनी, दौतलविक्रम विष्ट, प्रेमा साह, सीता पाण्डे, कृष्ण धराबासी, परशु प्रधानलगायतले अष्ट्रियन दार्शनिक सिग्मण्ड प्रायडको सिद्धान्त अनुसारको यौन साहित्य लेखेको पाइन्छ ।

राणाकालमा प्रकाशित श्रृंगार-कविताहरूको संग्रह ‘सुक्तिसिन्धु’ र मोतिराम भट्टको नेतृत्वमा श्रृंगार कविता रच्ने होडले थुप्रै यौन कविताको जन्म भएको साझा प्रकाशनबाट प्रकाशित ‘सुक्तिसिन्धु र अन्य समालोचना’मा उल्लेख छ । तीक्ष्ण यौन अभिव्यक्तिका कारण नै सुक्तिसिन्धुमाथि तत्कालीन राणा सरकारले प्रतिबन्ध लगायो । पछि २०१८ सालमा पनि दौतलविक्रम विष्टको यौन कथा छापेको ‘बगैँचा’ द्वैमासिक पनि कार्बाहीमा परेको थियो ।

संकीर्णता भर्सेस साहित्य

२०४० को दशकमा युधीर थापाका उपन्यासहरू लुकीलुकी पढेको साहित्यकार राजेन्द्र पराजुलीले खुलाएका छन् । उनी ‘त्यो पहिलो पुस्तक’ निवन्धमा लेख्छन्- युधीर थापा युवा मनको प्रेम र यौनेच्छालाई मिहीन ढंगले केलाउन माहिर थिए । मैले पनि सोह्र-सत्र वर्षको उमेरमा कौतुहलका साथ पढेको थिएँ ।

प्राध्यापक राम लोहनी पनि एसएलसी परिक्षा दिएको समयताका युधीर थापाको उपन्यास सयौं पटक पढेको स्मरण गर्छन् । युधिर थापा, सुवास घिसिङ, वसन्त आदिले यौनलाई केन्द्र बनाएर लेखेका उपन्यासहरू त्यो बेला ‘हट केक’ थिए, तर लुकीलुकी पढ्नुपर्ने अवस्था थियो ।

यौन साहित्य भन्नेबित्तिकै लुकीलुकी पढ्नुपर्ने अवस्था आउनुमा ‘यौन सबथोक हो र यौन केही होइन’ भन्ने सोच कारक रहेको बताउँछन् साहित्यकार पुष्कर लोहनी । साहित्यमा यौनलाई मुख्य विषय बनाई सर्वाधिक चर्चामा रहेका ८३ वर्षीय लोहनी एकधारले यौनलाई सत्तोसराप गर्ने र अर्कोले यसैलाई सर्वोपरि ठान्ने प्रवृत्ति रहेको अनुभव सुनाउँछन् ।

‘नेपाली समाजले यौनलाई उदार ढंगले ग्रहण गर्न सकेको छैन’, उनी भन्छन्, ‘यही संकोचले गर्दा यौन साहित्य फस्टाउन सकेको छैन ।’

यद्यपि केही साहित्यकारले यौनलाई केन्द्रमा राखेर स्तरिय रचना गरेको लोहनी बताउँछन् । विश्वेश्वरप्रसाद कोइराला, गोविन्द मल्ल, कृष्णभक्त श्रेष्ठ, मदन रेग्मी प्रभृतीले स्तरीय यौन साहित्य सिर्जना गरेको उनको मूल्यांकन छ ।

समीक्षक कुमार नेपाल यौन साहित्यलाई पुरुष-महिला यौन क्रियाकलापभित्र बाँध्न नहुने बताउँछन् । उनले ‘त्रिफला’ पत्रिकामा ‘यौन धारण र नेपाली कथा’ शीर्षक निबन्धमा लेखेका छन्- कानुनी भाषामा यौनको अर्थ, मनोवैज्ञानिक भाषामा यौनको अर्थ, साहित्यको भाषमा यौनको अर्थ, चिकित्साशास्त्रमा यौनको अर्थ र साधारण भाषामा यौनको अर्थमा धेरै अन्तर पर्न जान्छ ।

साहित्यकार सरस्वती प्रतीक्षा पछिल्लो समय नेपाली साहित्यमा कलात्मकभन्दा ठाडो अभिव्यक्तिको रुपमा यौन पस्किने प्रवृत्ति हाबी भएको बताउँछिन् । ‘साहित्यमा ‘पोर्न मुभि’ उतारेजस्ता लाग्ने यौन साहित्य लेखेको देखिन्छ’, उनी भन्छिन्, ‘अर्कोतिर यौनको मुद्दा उठाएको किताबलाई हल्का रूपमा लिने पाठकीय आग्रहको शिकार पनि हुन परेको छ ।’

यौन मनोवृत्तिमाथि लेखिएको जुनसुकै साहित्यमा सृजनात्मक र कला पक्ष बलियो हुनपर्ने प्रतीक्षा बताउँछिन् ।

साहित्यमा समाजकै प्रतिबिम्ब झल्कने हुनाले नेपाली यौन साहित्य फस्टाउन नसकेको बताउँछन् कवि/कथाकार शैलेन्द्र साकार । ‘पश्चिमा समाज प्रेम र यौनको मामिलामा उदार छ’, एक दशक अमेरिका बसेका साकार सुनाउँछन्, ‘त्यसको ठिक विपरित नेपाली समाज संकीर्ण छ ।’

यो क्रम बिस्तारै परिवर्तन भएपनि यौनप्रति हामी उदार बनिनसकेको उनी बताउँछन् ।

यौन साहित्यमा रचना नै कम

साहित्य र कलाको माध्यमबाट यौनलाई अभिव्यक्त गर्ने कार्य पूर्वीय साहित्यमा आदिकालदेखि चलेको पाइन्छ । ‘कुमारसम्भव’, ‘भर्तृहरि शतक’, ‘सूक्तिसिन्धु’, कोकशास्त्र आदि कृतिमा यौन र यौन साहित्यबारे सजीव ढङ्ग वर्णन गरिएको दिव्य गिरीको लेख ‘यौन साहित्यका एक्लो बृहस्पति’मा उल्लेख छ ।

कुमारसम्भवमा कालिदासले माता पार्वतीको अङ्ग-प्रत्यङ्गलाई वासनात्मक रूपबाट वर्णन गरेको उल्लेख गर्दै नेपाली साहित्यमा यौनका कुरा निकै थोरै लेखिएको गिरीले उल्लेख गरेका छन् ।

‘नेपाली यौनकथा’ संग्रह सम्पादन गरेका प्रमोद प्रधान पनि यौन वा यौन मनोविज्ञानमा आधारित नेपाली साहित्य स्रष्टा थोरै रहेको बताउँछन् । उनी भन्छन्, ‘यौन साहित्य लेख्ने स्रष्टा हुँ भन्न सकिने अवस्था नै छैन ।’

२०५४ मा वाणी प्रकाशन (बिराटनगर) बाट पहिलोपटक प्रकाशित भएको उक्त संग्रहमा २४ जना स्रष्टा समेटिएका छन्, जसमा प्रेमा शाह, सीता पाण्डे र मञ्जु काँचुली तीन महिला कथाकार छन् । विमल भौकाजीले महिला स्रष्टाको मात्र ‘प्रतिनिधि नारी यौनकथा’ सम्पादन गरेका छन् । रत्न पुस्तक भण्डारबाट प्रकाशित यो संग्रहमा १८ जना महिला कथाकारका यौनकथा छन् ।

प्रमोद प्रधानको नेपाली यौनकथाकै श्रृंखलाको रूपमा वाणी प्रकाशनबाटै लक्ष्मणप्रसाद गौतमले दोस्रो भाग र विमल भौकाजीले तेस्रो भाग प्रकाशित गरेका छन् । चारवटा मात्र संग्रहमा करिब सयवटा नेपाली यौन कथा समेटिएको देखिन्छ । जबकी, अन्य बिषयगत कथाको संख्या हजारौं पुग्छ ।

सधै‌ं आलोचना खपेको छु : पुष्कर लोहनी

२०१२/०१३ सालदेखि म गोविन्दप्रसाद लोहनीको सर्कलमा थिएँ । उहाँले नै मलाई फ्रायडवादी साहित्यतिर रूची जगाइनुभयो । उहाँको प्रेरणामा विश्वमा भएका यौन साहित्य र सिद्धान्तहरू खोजीखोजी पढ्न थालें । यौन साहित्यको पक्ष लियो भनेर ममाथि आलोचना सुरु भएको त्यसैबेलादेखि हो ।

यौन साहित्यमा लागेपछि विभिन्न क्यारेक्टरका केटीहरूसँग संगत गरेर रमाएको मान्छे पनि हुँ म । जीवनमा धेरै महिला जोडिए पनि । विवाहपछि भने घरव्यवहार र लेखपढमै व्यस्त भएँ ।

मैले सधैं भन्दै आएको छु- यौन भएन भने कथा हुँदैन । तपाईं सीता, कुन्ती, द्रौपदी सबैको चरित्र हेर्नुस् । धार्मिकमात्र होइन, समाजमा प्रत्येक पात्रमा सेक्स घुमिरहेको पाइन्छ । यौन नभइकन कुनै पनि धर्म पूर्ण छैन । कुनै जीव र जीवात्मा पूर्ण छैन । यौनबिना अस्तित्व छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४