Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विदेशको मरुभूमिमा पसिना बगाउनुपर्ने बाध्यताको अन्त्य कहिले ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २८ २०७८
  • 5.1K
    SHARES

काठमाडौं । आज १२ अगष्ट, २२औ अन्तर्राष्ट्रिय युवा दिवस । नेपाल सहित विश्वभर ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ युवा दिवस मनाइँदैछ । युवासँग सम्बन्धित गैरसरकारी संघ–संस्थाहरू पनि यो दिवस मनाउन जुटेका छन् । युवाका सवाल सम्बोधन गर्न संयुक्त राष्ट्रसंघले सन् १९९९ मा हरेक वर्ष अगष्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेसँगै २००० देखि विश्वभर युवा सम्बन्धी विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवा दिवस केवल औपचारिकतामै सीमित हुने गरेको छ । राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको भिडियो सन्देशलाई यही औपचारिकताको सिलसिला मात्र मानिएको छ । युवा उद्यमी मञ्चका अध्यक्ष उदीपनारायण श्रेष्ठ कुल जनसंख्यामा ४० प्रतिशत युवा रहे पनि उनीहरूको सवाललाई नीतिनिर्माणदेखि कार्यान्वयनसम्म बेवास्ता गरिएको बताउँछन् । ‘धेरैजसो नेपाली युवा विदेशको मरुभूमिमा पसिना बगाउन बाध्य छन्’ उनी भन्छन्, ‘कोरोना महामारी पछि त उनीहरूलाई विदेश जान पनि सकस परेको छ ।’
सरकारले आन्तरिक उत्पादनहरूलाई प्राथमिकता दिए धेरै युवा उद्यमी जन्मने र अहिले झेलिरहेका समस्या कम हुने उनी बताउँछन् । यस दिशामा ‘मेड इन नेपाल’ अभियान घोषणा एकदमै राम्रो कदम भएको श्रेष्ठले बताए ।

‘कोभिडकालमा स्वावलम्बी बन्न एकदमै गाह्रो परिरहेको बेला ‘मेड इन नेपाल’ अभियान मार्फत आन्तरिक उत्पादनलाई प्राथमिकता दिनु राम्रो हो’ उनले भने, ‘यो बाटोमा अगाडि बढ्दा धेरै युवा स्वरोजगार बन्न सक्छन्, धेरैलाई अवसर जुट्नेछ । युवा उद्यमी मञ्चका प्रथम उपाध्यक्ष रितेश लामिछाने युवा विदेश गएर रेमिट्यान्सबाट स्वदेशको अर्थतन्त्र धान्नुपर्ने अवस्था हट्नुपर्ने बताउँछन् । विदेशबाट ठूलो संख्याका युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा राम्रै टेवा पुगेको छ । सधैं रेमिट्यान्सकै भर पर्न नहुने बताउँदै लामिछाने भन्छन्, ‘अब त युवाले स्वदेशमै केही गर्न सक्ने वातावरण सिर्जना गर्नु पर्‍यो ।’

रेमिट्यान्सबाट अर्थतन्त्रमा वृद्धि होस् भन्ने अपेक्षा गर्नु भन्दा पनि आफ्नै देशमा केही सानो व्यवसाय भए पनि गर्न सक्ने वातावरण युवाका लागि हुनुपर्छ’ युवा उद्यमी मञ्चका प्रथम उपाध्यक्ष समेत रहेका लामिछानेले भने, ‘स्वदेशकै बसेर, यहींबाट इकोनमीको ग्रोथ हुँदा हामी सबैलाई र देशकै लागि राम्रो हुन्छ ।’ सरकारले स्वदेशमै उद्यमी बनेकाहरूलाई आवश्यक सहयोग गरे अरू धेरै युवालाई प्रोत्साहन हुने उनी बताउँछन् ।

बैंकर मनोज ज्ञवाली युवालाई उद्यमी बनाउन सरकारले गरेको लगानी प्रभावहीन देखिएको बताउँछन् । ‘प्रधानमन्त्री रोजगार कार्यक्रममा यस वर्ष १२ अर्ब बजेट छ, अघिल्लो वर्ष पनि ठूलो बजेट खर्च भयो’ उनी भन्छन्, ‘अब यसका कमी–कमजोरी पहिचान गरेर प्रभावकारी बनाउनुपर्छ ।’

युवा उद्ममी मञ्चकी उपाध्यक्ष सहारा जाेशी युवाहरुमा जागिर खाने होइन जागिर दिन सक्ने सोचेको विकास हुनुपर्ने बताउँछिन् ।

विदेशमा सिकेको ज्ञान, सीप र दक्षतालाई नेपालमा लगाउनु पर्ने उनले बताइन् । ‘स्वदेशमा अवसर नभएका कारण युवाहरु नयाँ अवसरको खोजीमा देश छाडिरहेका छन्, तर मलाई लाग्छ विगत भन्दा यहाँ केही परिवर्तन् पनि हुँदैछ’ उनले भनिन्, ‘सीप सिकेर बाहिर पनि गइरहनु भएको छ, र बाहिर सिकेको सीपको सदुपयोग गरेर नेपालमै उद्यमशीलयताको यात्रा पनि सुरु हुन थालेको छ ।’ धेरै मान्छेहरु जागिर खोज्ने मानसिकताबाट उद्यमशील बनेर जागिर दिने मानसिकतामा सर्नुपर्ने उनले बताइन् । युवाहरुलाई प्रोत्साहित गर्ने र युवा उद्यमीहरु बढाउनका लागि देशमै राम्रो भविष्य रहेको उनले बताइन् ।

उनका अनुसार, युवा उद्यमशीलताका लागि बैंकिङ क्षेत्रबाट पनि लगानी भइरहेको छ । युवा उद्यमशीलतामा लगानीका लागि स्पष्ट नीति र छुट्टै संयन्त्र बनाएर काम गर्ने हो एकपछि अर्को सफलताको कथा तयार हुने ज्ञवाली बताउँछन् ।

‘राज्य युवामैत्री बन्नुपर्‍यो’

नेकपा (एमाले)की युवा नेतृ नवीना लामा युवाका लागि राज्यले लगानी बढाउनुपर्ने बताउँछिन् । उनीहरूको क्षमता, योग्यता अनुसार कहाँ, कसरी रोजगारी दिन वा स्वरोजगार बनाउन सकिन्छ भन्ने विषयमा स्पष्ट खाका बनाएर काम गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार, विदेश जाने नेपाली युवा दुई वर्गका छन् । ‘कोही रहरले युरोप–अमेरिका जान्छन्, बाध्यतामा रहेका अर्का थरी मलेसिया या खाडी मुलुक गइरहेका छन्’ लामा भन्छिन्, ‘विशेषतः बाध्यतावश विदेशिइरहेकाहरूलाई गौरव बोधका साथ स्वदेशमै काम गर्ने वातावरण बनाउनु सरकारको दायित्व हो ।’

सरकार र राजनीतिक दलहरूले नीतिनिर्माण तहमा युवा सहभागिता बढाउनुपर्ने नेतृ लामाको धारणा छ ।विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे राज्य नै युवामैत्री नहुँदा समस्या भएको ठान्छन् । यसले गर्दा नेपाली युवा समग्रमा ‘हेल्पलेस–होपलेस’ भएको उनी बताउँछन् । ‘त्यसकारण सरकारबाट युवा भावना जगाउने, योगदान बढाउने नीति र कार्यक्रमहरू आउन आवश्यक छ’, उनी भन्छन् ।

नेपालमै गरिखान र उद्यमशील समाज बनाउन कानूनी कठिनाइहरू पनि रहेको पाण्डे बताउँछन् । उनका अनुसार, अहिले त नेपालमा कम्पनी खोल्न मात्र होइन, कर तिर्न पनि सकस छ, भएको लगानी सुरक्षित छैन । ‘उद्यम थाल्न चाहने युवालाई सहुलियत चाहिन्छ, जुन छैन’ उनी भन्छन्, ‘भएका सहुलियत–सुविधा पार्टी कार्यकर्ताहरूले पाउने परिपाटी छ ।’ सबै पार्टीमा एउटै पुस्ताले तीन पुस्ताको समय खाइदिंदा यस्तो समस्या भएको पाण्डे बताउँछन् । ४० वर्ष मुनिकाहरूले देश हाँक्न पाउने हो भने अहिलेका धेरै समस्या समाधान र नीतिनिर्माण तहमा युवाको भूमिका सुनिश्चित हुने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४