साइबर ब्युरोका एसएसपी अर्यालका अनुसार उल्लेखित घटनाहरु पछिल्ला उदाहरण मात्रै हुन् । लकडाउन र निषेधाज्ञाको अवधिमा साइबर अपराधका घटना ह्वात्तै बढेका छन् ।
साइबर अपराधमा पनि ९५ प्रतिशत घटना सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटक र इमेलसँग जोडिएका छन् । ‘पहिले डाटा बि्रचिङ, ह्याकिङ लगायतका घटनाहरु धेरै देखिन्थे, हाल सामाजिक सञ्जालसँगै जोडिएका उजुरीहरु बढी आउने गरेका छन्’ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को साइबर शाखामा पनि काम गरेको अनुभव भएका अर्याल भन्छन्, ‘सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसँगै यसको दुरुपयोग पनि बढेको छ ।’
उनका अनुसार सामाजिक सञ्जालबाट हुने ठगीका घटना बढेका छन् । सामाजिक सञ्जालमा आपत्तिजनक तस्वीर राखेर ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्ति पनि देखिएको छ । ‘निषेधाज्ञाको समयमा मात्रै १४५ वटा लिखित उजुरी ब्युरोमा परेको छ’ उनी भन्छन्, ‘यही अवधिमा ब्युरोले २५ सय आईडी बन्द गराएको छ, जुन छद्म नामबाट बनाइएका थिए ।’
- महिला र पुरुष दुवै पीडित
साइबर ब्युरोमा केही दिनअघि एक युवक अनौठो उजुरी लिएर पुगे । उमेरले २४/२५ वर्षकी एक युवतीले उनलाई फ्रेण्ड रिक्वेस्ट पठाएकी थिइन् ।
सुरुवातमा सामान्य कुराकानी हुन्थ्यो, विस्तारै व्यक्तिगत विषय पनि साटासाट हुन थाले । दुई सातापछि उनलाई अन्तरंग तस्वीर मागियो ।
उनले धेरै नसोची तस्वीर पठाइदिए, युवतीले पनि पठाइदिइन् । अनुहार चाहिँ देखाएकी थिइनन् । अर्को दिनबाट उनलाई त्यही तस्वीर देखाएर ब्ल्याकमेल गर्न सुरु भयो । उनले राखेको प्रस्ताव पूरा गर्न समस्या हुन थालेपछि युवक ब्युरोको शरणमा पुगे ।
एसएसपी अर्याल भन्छन्, ‘पहिले साइबर अपराधमा महिला धेरै पीडित देखिन्थे भने अहिले पुरुष पीडितको संख्या पनि बढिरहेको छ ।’ उनका अनुसार सामाजिक सञ्जालको प्रयोग गरेर चिठ्ठा पर्यो भन्दै म्यासेज गरेर ठग्ने गिरोह पनि सक्रिय छ । यो समूहको निशाना कम पढेलेखेका र प्रविधिमा न्यून ज्ञान भएकाहरु परेका छन् ।
- साइबर अपराध बढ्नुका कारण
साइबर ब्युरोका अधिकृतहरु निषेधाज्ञाका समयमा मानिसहरु घरमै रहेकाले सामाजिक सञ्जाल प्रयोगको समय पनि बढेको र त्यसले अपराध बढाएको बताउँछन् । मनोविद् करुणा कुँवर पछिल्लो समय देखिएका साइबर अपराधका घटनाको निशानामा बालबालिका र किशोरकिशोरी पर्ने गरेको बताउँछिन् ।
‘अनलाइन कक्षा भएकाले हरेक बालबालिकासँग मोबाइल छ तर उनीहरु त्यसमा के गरिरहेका छन् भन्ने निगरानी गर्ने फुर्सद अभिभावकलाई छैन’ उनले अनलाइनखबरसँग भनिन्, ‘लाइक्स बढाउनलाई किशोरकिशोरी अपरिचित व्यक्तिलाई रिक्वेस्ट पठाइरहेका छन्, त्यसैमा खेलेर उनीहरुलाई शिकार बनाउने काम भइरहेको छ ।’
नेपाल प्रहरीका उपरीक्षक -एसपी) कृष्ण कोइराला चाहिँ निषेधाज्ञाले मात्र साइबर अपराधका घटना बढाएको मान्न नहुने बताउँछन् । भन्छन्, ‘खासमा प्रविधिमा पहुँच बढेसँगै विद्युतीय अपराध पनि बढिरहेको छ ।’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत कोइराला थप्छन्, ‘हामीकहाँ विशेष गरी सामाजिक सञ्जालको प्रयोग भएर भएका ठगीका घटनाका उजुरी धेरै आउने गरेका छन् ।’ उनका अनुसार उपहार र चिठ्ठा परेको नाममा भन्सार कटाउन भन्दै रकम माग्ने, सामाजिक सञ्जालबाट चिनेको व्यक्तिलाई विदेशबाट महँगो उपहार पठाउने जस्ता प्रवृत्ति पछिल्लो समय देखिएका छन् ।
साइबर सम्बन्धी विषय हेरिरहेका अधिवक्ता बाबुराम अर्याल निषेधाज्ञाको समयमा इ-कमर्स विजनेस बढ्दा दुरुपयोगका घटना पनि सतहमा आइरहेको बताउँछन् ।
- कसरी जोगिने ?
साइबर अपराधबाट कसरी जोगिने ? नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेल भन्छन्, ‘सबैभन्दा पहिले सामाजिक सञ्जालको पासवर्ड बलियो राख्नुपर्यो र ‘टु फ्याक्टर अथेन्टिकेशन’, ‘ओटीपी’, ‘फिंगरपि्रन्ट’ जस्ता कुरालाई पनि एक्टिभेट गर्नुपर्छ ।’
केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर चाहिँ अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा भेटेकै भरमा आफ्ना व्यक्तिगत गोपनीयता र घरपरिवारका कुरा साटासाट गर्न नहुने बताउँछन् । भन्छन्, ‘प्रयोगकर्ता पनि सचेत हुनुपर्छ नत्र प्रहरीले मात्र पहल गरेर हुँदैन ।’
दुरसञ्चार प्राधिकरणका निर्देशक पौडेलका अनुसार सामाजिक सञ्जालका खाता आफ्नो पहुँचबाट बाहिर गए फिर्ता ल्याउन सहज हुने भएकाले ‘रिकभरी’ इमेल र मोबाइल नम्बर प्रयोग गर्नुपर्ने बताउँछन् । उनका अनुसार हरेक सामाजिक सञ्जालको ‘प्राइभेसी सेटिङ’ हुने भएकाले कतिपय कुरालाई गोप्य राख्नुपर्छ । ‘सकेसम्म आफ्ना घरको ठेगाना, नम्बर जस्ता व्यक्तिगत विवरण राख्नु हुँदैन’ उनले भने, ‘आफू कहाँ जाँदैछु, के गर्दैछु, कोसँग छु जस्ता विवरण पनि सामाजिक सञ्जालमा हाल्नु उचित हुँदैन ।’
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह म्यासेन्जरमा आउने जथाभावी लिंकलाई पनि खोल्न नहुने बताउँछन् । भन्छन्, ‘चिठ्ठा वा कुनै पुरस्कार आउने लोभमा पनि पर्नु हुँदैन ।’
- पीडितलाई गोपनीयता भंग हुने डर
समस्यामा परेका कतिपय व्यक्तिहरु गोपनीयता भंग हुने डरले प्रहरीकहाँ जानै डराउने प्रहरी अधिकृतहरु बताउँछन् । तर ब्युरोका सह-निर्देशक अर्याल पीडितको गोपनीयता कायम गर्ने कुरा आफूहरुको पहिलो प्राथमिकता रहेको सुनाउँछन् ।
उनका अनुसार ब्युरोले निषेधाज्ञाको समयमा उजुरी गर्न सहज होस् भनेर अनलाइनबाटै जाहेरी लिने व्यवस्था पनि गरेको थियो । त्यसले उजुरीको संख्या बढाएको अर्याल बताउँछन् । ‘फोनबाट आउने मौखिक उजुरीका आधारमा पनि समस्यामा परेका नागरिकलाई सेवा दिएका छौं’ उनी भन्छन्, ‘कतिपय बोल्न डराउने अवस्था पनि हुन्छ, तर इमेल र म्यासेन्जरबाट पनि उजुरी लिएपछि उहाँहरुलाई पनि आफ्नो कुरा निर्धक्क साथ राख्न सहज भएको छ ।’
प्रहरी प्रवक्ता कुँवर पनि साइबर अपराधमा आउने उजुरीमा पीडितको सुरक्षा, इज्जत र प्रतिष्ठाको कुरालाई ध्यानमा राखेर अनुसन्धान गरिने बताउँछन् । ‘यो विषय अनुसन्धान अधिकृत र पीडितसँग सम्बन्ध रहने भएकाले के कुरा सार्वजनिक गर्ने ? के नगर्ने भन्ने विषयमा निरन्तर निर्देशन र अनुगमन गरिरहेका हुन्छौं’ उनी भन्छन्, ‘कोही पनि पीडितले आफ्नो व्यक्तिगत गोपनीयता भंग होला कि भनेर डराउनु पर्दैन ।’
- ३५ दिने हद म्यादले जटिलता
साइबर अपराधको आरोपमा पक्राउ परेकामाथि प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) अनुसार कारबाही प्रक्रिया अघि बढाउँदै आएको छ । यसमा कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय माध्यममा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनेर रोक लगाइएका सामग्री प्रकाशन गर्न नपाइने भनिएको छ ।
सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीच सम्बन्धलाई खलल पार्ने सामग्री प्रकाशन वा प्रदर्शनमा रोक लगाइएको छ । यदि गरेको पुष्टि भए सम्बन्धित व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने भनिएको छ ।
तर साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि ३५ दिने हदम्याद तोकिएको छ । साइबर ब्युरोका एक अनुसन्धान अधिकृत भन्छन्, ‘अनुसन्धानका क्रममा विभिन्न मुलुकमा रहेका सामाजिक सञ्जालका कम्पनीबाट विवरण मगाउनुपर्ने हुन्छ, त्यो प्रक्रियाले समय लिन्छ । हाम्रा लागि यही विषय चुनौतीपूर्ण हुन्छ ।