काठमाडौं । भारतको पश्चिम बंगालमा ममता बनर्जी लगातार तेस्रोपटक मुख्यमन्त्री बनेकी छिन् । उनले बुधबार मुख्यमन्त्री पदको शपथ लिएकी हुन् ।
पश्चिम बंगालका राज्यपाल जगदीप धनखडले उनलाई मुख्यमन्त्रीको शपथ ग्रहण गराएका हुन् । बनर्जी भारतकी एक्ली महिला मुख्यमन्त्री हुन् ।कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै यसपटक बनर्जीको शपथ ग्रहणमा निकै कम मानिसलाई मात्र जाने अनुमति दिइएको थियो ।
यसैबीच विपक्षी पार्टी बनेर उदाएको भारतीय जनता पार्टी (भाजपा)ले पश्चिम बंगालमा आफ्ना कार्यकर्तामाथि हिंसा भएको भन्दै धर्ना सुरु गरेका छन् ।विभिन्न आठ चरणमा सम्पन्न भएको पश्चिम बंगालमा ममता बनर्जीको तृणमूल कांग्रेसले २ सय १३ सिटमा जित हात पारेको थियो । भाजपाले पनि ७७ स्थानमा जित हात पारेको थियो ।
पश्चिम बंगालमा तृणमूल कांग्रेसले अघिल्लो निर्वाचनको तुलनामा तीन सिट सुधार गर्दा भाजपा भने ४५ सिट बढाएको छ ।यद्यपि तृणमूल कांग्रेस पश्चिम बंगालमा सुविधाजनक बहुमतमा छ । बनर्जीको मन्त्रिपरिषद्का अन्य सदस्यले भने मे ९ मा शपथग्रहण गर्नेछन् ।