Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवा चुनावी सरकारको प्रधानमन्त्री बन्लान् ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 4.6K
    SHARES

काठमाडौं । संसदको विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै धेरैको चासो छ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सरकारको प्रधानमन्त्री बन्लान् ?

कांग्रेस नेताहरु भन्छन्, ‘सम्भव हुँदा देउवा आफैं चाहेनन्, अब गणितले साथ दिन्न ।’

प्रश्न उठ्न सक्छ, २० चैतमा देउवाकै सभापतित्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले त प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो त ?

बैठकले निर्णय त गरेको थियो । तर न निर्णय देउवाको इच्छाअनुसार भएको थियो, न त्यसअनुसार उनले पहल नै गरे । तीन दलको एकाध बैठक राख्नुबाहेक उनले आफ्नो पक्षमा सहमति जुटाउन खासै जोडबल गरेनन् ।

एक नेताका अनुसार देउवाको बुझाइ थियो, ‘२० चैतको केन्द्रीय कार्यसमितिको निर्णयपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ । प्रधानमन्त्री ओलीले विश्वास लिन सदनमा आउँछन् । ओली विश्वासको मत नपाउने र कांग्रेस नेतृत्वमा सरकार गठनका लागि बहुमत पनि नपुग्ने अवस्था सिर्जना भएर मुलुक मध्यावधि चुनावमा जान्छ ।’

प्रधानमन्त्री ओलीले संसदको विशेष अधिवेशनमा बोलाएर विश्वासको मत दिने निर्णय लिएपछि नयाँ सरकार गठनको सम्भावना झन् कमजोर बन्दै गएको छ ।

तर माओवादी केन्द्रले समर्थन फिर्ता लिएन । माओवादी नेताहरुका अनुसार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहकै नेताहरुले पनि हतारमा समर्थन फिर्ता नलिन आग्रह गरेका थिए ।

त्यही कारण समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैदिन गर्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु थुप्रै पटक बुढानीलकण्ठ धाए, जनता समाजावादी पार्टी (जसपा)लाई सहमतिमा ल्याउने प्रयासमा लागे । नेताहरुका अनुसार देउवा बारम्बार प्रश्न गर्थे, ‘जसपाले निर्णय गरेको छैन । संख्या नपुगी कसरी अविश्वासको प्रस्ताव राख्ने ?’

देउवाले भनेको जस्तो कांग्रेस, माओवादी र जसपाको एउटा पक्षको मत सरकार बनाउन पर्याप्त थिएन । तर नेकपा एमालेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट माधवकुमार नेपाल पक्षले कर्णाली प्रदेशमा जस्तै केन्द्रमा पनि फ्लोर क्रस गर्ने संकेत दिएको थियो ।

३ वैशाखको फ्लोर क्रसपछि रमेश लेखक, वर्षमान पुनलगायतका दोस्रो तहका नेताहरुले अविश्वासको प्रस्ताव दर्ताका लागि गृहकार्य गरेका थिए । कांग्रेस संसदीय दलको कार्यालयले सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो । देउवाले जसपाको संस्थागत निर्णय खोजेपछि बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतले अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय समेत गर्‍यो ।

तर देउवा, प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न तयार भएनन् । जसपाका एक नेता भन्छन्, ‘१६ जना भए पनि हुन्छ भनेपछि हामीले जोखिम मोलेर कार्यकारिणीको बहुमत सदस्यहरु बसेर निर्णय पनि गर्‍यौं । अहिले २५ जना चाहिन्छ भन्नुहुन्छ, हामीले कहाँबाट ल्याउने ?’

कांग्रेस नेताहरुले पनि देउवाले अविश्वासको प्रस्ताव दर्ता गर्ने थुप्रै अवसर खेल फालेको बताउँछन् । ‘हिजो नेकपा विभाजित हुँदा त्यो अवसर थियो, अहिले पनि थियो, तर हामीले खेल फाल्यौं’ एक केन्द्रीय सदस्यले बताए ।

देउवाले अहिले प्रधानमन्त्री बन्नुभन्दा जति सक्यो चुनावमा जाँदा बढी लाभ हुने देखेको नेताहरु बताउँछन् । डेढ÷दुई वर्षपछि चुनाव गर्ने हो भने माओवादी र एमाले मिल्ने, एमाले एकढिक्का हुने सम्भावना रहने भएकाले अहिले चुनावमा जाँदा कांग्रेसलाई लाभ हुने उनको विश्लेषण छ ।

देउवाका विश्वास पात्र मानिएका केन्द्रीय सदस्य नेता रमेश लेखक भने प्रष्ट बहुमत नभएकाले जोखिम नलिएको बताउँछन् । ‘माओवादी केन्द्र, जसपा सबैसँग सरसल्लाह भइरहेको छ, तर प्रष्ट बहुमत नभई अविश्वासको प्रस्ताव राख्दा एक वर्ष सरकार जाने भएकाले जोखिम नलिएका हौं’ उनले भने ।

अब गणितले साथ दिन्न

प्रधानमन्त्री ओलीले संसदको विशेष अधिवेशनमा बोलाएर विश्वासको मत दिने निर्णय लिएपछि नयाँ सरकार गठनको सम्भावना झन् कमजोर बन्दै गएको छ ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत पाउन जति कठिन छ, नयाँ सरकार गठनका लागि बहुमत जुटाउन कांग्रेस–माओवादी केन्द्रलाई त्योभन्दा कठिन छ ।

२७१ सदस्यीय प्रतिनिधिसभामा प्रमुख विपक्षी नेपाली कांग्रेसका ६१ (दुई निलम्बित बाहेक) सांसद छन् । ४९ सांसद भएको माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका १६ सांसद कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पक्षमा छन् ।

यो जोड्दा १२६ हुन्छ । जबकी नयाँ सरकार गठनका लागि १३६ सांसद चाहिन्छ । एक नेताका अनुसार प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा एमालेको माधव नेपाल समूहले फ्लोर क्रस गरेर बहुमत पुग्न सक्थ्यो, तर अब एमालेबाहेक बहुमत जटाउनुपर्छ, जुन असम्भव जस्तै छ ।

देउवा निकट केन्द्रीय सदस्य एनपी साउद पनि जसपाले संस्थागत रुपमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरे मात्र नयाँ सरकार बन्ने बताउँछन् । प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने सम्भावना पनि पनि नदेखेको भन्दै उनले भने, ‘अल्पमतको सरकार बन्ने र संवैधानिक व्यवस्थाअनुसार चुनावमा जाने सम्भावना बढी छ ।’

सहमहामन्त्री डा. प्रकाशशरण महतले भने भोलि पदाधिकारी बैठक बस्ने र विश्वासको मत लिने प्रधानमन्त्रीको कदमलाई कसरी फेस गर्ने भन्ने निर्णय लिने बताए । उनले पनि मध्यवधिको सम्भावना बढी रहेको सुनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४