काठमाडौँ । गर्मी मौसमको आगमनसँगै कतिपय रोगव्याधी सल्बलाउन थाल्छन् । गर्मीयामसँगै बालबालिका अझ बढी जोखिममा हुन्छन् । कोरोना भाइरसको जोखिमसँगै अन्य रोगले पनि बालबालिकालाई सताउने हुँदा सतर्क हुनु जरुरी रहेको चिकित्सकको सुझाव छ ।
गर्मी बढेसँगै झाडापखाला, आउँ, टाइफाइड, मलेरिया, कालाजार, डेङ्गु, हेपाटाइटिस, छालामा हुने समस्यालगायतका बिरामी बढ्ने गरेको विशेषज्ञको भनाइ छ । बालबालिकालाई यस्तो रोगबाट जोगाउन अझ बढी सतर्क रहनुपर्छ । गर्मीयाममा समयमा खाना, पानी, बसाइ तथा कपडा प्रयोग गर्दा बालबालिकालाई रोगबाट टाढा राख्न सकिन्छ ।
सामान्य रुघाखोकीदेखि गर्मी मौसममा जाडो मौसमभन्दा धेरै किसिमका इन्फ्ल्युएन्जा भाइरल रोगले सताउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गर्मीमा सबैभन्दा बढी सङ्क्रमण पानीबाट हुने गर्छ । त्योसँगै गर्मी मौसममा बढी हावा चल्ने हुन्छ । हावाले उडाएर ल्याउने धुलोका कारण छाला र आँखामा पनि समस्या देखापर्ने गर्छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।