Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परम्परागत प्रविधि : हाम्रो मौलिक निधि


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 8.5K
    SHARES

नेपालले विश्वको कूल क्षेत्रफलको जम्मा ०।०१ प्रतिशत भू-भाग मात्र ओगटेको  छ । तथापि जैविक विविधताको दृष्टिले भने नेपाल सम्पन्न मुलुककै रुपमा चिनिन्छ । जैविक विविधताको दृष्टिले नेपाल विश्वको २६ औं स्थानमा पर्दछ । त्यसो त तराईदेखि हिमाल र पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म फैलिएको नेपालको भौगोलिक बनावट, भू-स्वरुप तथा उँचाईमा ठूलो अन्तर भएकोले पनि नेपाल जैविक विविधताको हिसावले सम्पन्न मुलुकको रुपमा चिनिन पुगेको हो ।

यसबाहेक पनि नेपाली किसानहरुले १,८०० भन्दा बढी जातका धान खेती गरेको पाइन्छ । तीमध्ये कतिपय त लोप पनि भइसकेको बताइन्छ । यसका साथै नेपालमा ७०० भन्दा बढी प्रजातिका जडीबुटीहरु आयुर्वेद तथा अन्य औषधोपचारमा प्रयोग हुँदै आएको देखिन्छ । यस बाहेक प्रशोधन तथा अन्य प्रयोजनका लागि थुप्रै कृषि तथा वनस्पतिहरुको प्रयोग हुँदै आएको पाइन्छ ।

तथापि बढ्दो पश्चिमी रहनसहन र आधुनिकताको नाममा यस्ता जैविक विविधतासंग सम्बन्धीत परम्परागत ज्ञान क्रमशः ओझेलमा पर्दै गईरहेको महसूस हुन थालेको छ । यस्ता परम्परागत ज्ञान र प्रविधिको संरक्षण सम्बर्धनको कुरा छाडौँ नयाँ पुस्ताले यस किसिमको ज्ञान र प्रविधिप्रति  एक किसिमको नकारात्मक धारणा राख्ने गरेको पाइन्छ ।

यसरी परम्परागत रुपमा  नै एक पुस्ताबाट अर्को पुस्ता गरी सर्दै आएका यस्ता परम्परागत ज्ञान र प्रविधिप्रति बढ्दै गएको नकारात्मक धारणाले गर्दा हाम्रा स्थानीय जातका अन्नबाली, फलफूल , तरकारी तथा वस्तुभाउ हिजोआज नौलो र विकासे जाति प्रजातिले गर्दा क्रमिक रुपमा लोप हुन थालेका छन् । यो ज्यादै दुख लाग्दो कुरा   हो ।

घोडताप्रेको औषधियुक्त रसायन  एशियाटिकोसाइट  प्रयोग गरेर अहिले आधुनिक मलम, इन्जेक्सन आदिको नाममा यूरोपीयन बजारहरुमा समेत आउन थालेका छन् । साँच्चै भन्ने हो भने आज जति पनि एलोपेथिक औषधिहरु बनेका छन् तीमध्ये धेरै जसो विभिन्न देशका परम्परागत औषधि उपचार गर्ने प्रविधि र जडीबुटीको आधारमा नै बनेका छन् । त्यति मात्र नभई कतिपय उन्नत कृषि विउवीजनको आविष्कार पनि परम्परागत ज्ञान र सीपमा आधारित हुन्छन् ।

जस्तो हाम्रो क्षेत्र वरपर पाइने लुईँचेकै कुरा गरौँ न ।वास्तवमा भन्ने हो भने वर्तमान विश्व परिप्रेक्ष्यमा हाम्रो विकासको अधिकतम स्रोत भन्नु हाम्रो आफ्नो परम्परागत ज्ञान र प्रविधि नै हो । जस्तो कोदालोले काटेको घाउ घोडताप्रेको रस निचोर्दा ठीक हुन्छ भन्ने ज्ञान हाम्रो पुर्खाकै हो । शरीरलाई शीतल राख्न र स्मरण शक्ति बढाउन समेत यो जडीबुटी प्रयोग गरिन्छ । अनि त्यस्ता जडीबुटीमा के के तत्व छन् भन्ने परीक्षण गरेपछि त्यसैको आधारमा आधुनिक खालका एलोपेथिक औषधि बनेका हुन् ।

लुइँचे कुखुरा पाल्ने प्रचलन परम्परादेखि नै चलिआएको हो । यही परम्परा कालान्तरमा विकसित हुँदै गएर आज विश्वभरका मानिसले कुखुराको मासु र अण्डा खान पाएका हुन् । ती सबैको बंशाणुगत स्रोत लुइँचे हो । यसरी परम्परागत ज्ञान र प्रविधिबाट नयाँ-नयाँ औषधि, नयाँ खाद्यबस्तु, नयाँ घरपालुवा पशुपंक्षी र तिसंग सम्बन्धित कतिपय नयाँ प्रविधिको आविष्कार हुन्छन् । कुरा यति मात्र हो कि त्यसबाट हामीले अधिकतम लाभ लिन सक्नु पर्दछ ।

परम्परागत ज्ञानको कुरा गर्दा कुन च्याउ खान हुन्छ र कुन हुँदैन भन्ने कुरा यसै ज्ञानको आधारमा निर्धारण गरिएको हुन्छ । त्यस्तै कुन कन्दमूल खानु हुन्छ र त्यस्ता कन्दमूल कसरी खानु पर्छ भन्ने ज्ञान पनि हाम्रा पुर्खाले सिकाएर गएकै कारण अहिले सम्म जीवित रहेको छ । त्यस्तै घरछेउमा तुलसी रोप्ने कुरा पनि हाम्रै पुर्खाले आर्जेको ज्ञान हो । जुन वनस्पतिको बहुउपयोगिता अहिले वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ ।

तुलसीको उपयोगिताबारे हाम्रो पुर्खालाई धेरै अगाडिदेखि नै थाहा थियो । जबकि वैज्ञानिक अध्ययन अनुसन्धानबाट यसको पुष्टी त धेरै पछि मात्र भएको हो । त्यस्तै विभिन्न प्रकारले माछा मार्ने सीप पनि परम्परागत रुपबाट नै सर्दै आएको ज्ञान र प्रविधि हो । त्यस्तै आफ्नो स्वास्थ्य स्थिति सन्तुलित तुल्याई राख्न चाहिने ध्यान, योग र प्राणायाम, वातावरण संरक्षण तथा नदी, कुवा, इनार, वनजंगल आदिको संरक्षण सम्बर्धन अनि भिन्न प्रजातिका विरुवाका जात उत्पादन गर्दा चाहिने ज्ञान वा प्रविधि परम्परागत ज्ञानमै आधारित रहेको पाइन्छ ।

दुःख लाग्दो कुरा के छ भने यस्तो महत्वपूर्ण प्रविधिको कुनै अभिलेख वा रेकर्ड  हुँदैन । न त यसको कुनै तस्वीर, फोटो वा स्वरांकन नै रेकर्ड गरिएको हुन्छ । केवल एक पुस्ताबाट अर्को पुस्तामा अर्थात् जेनरेशन टु जेनरेशन मौखिक रुपमा वा व्यवहारिक कृयाकलापको आधारमा मात्र हस्तान्तरण गरिँदै आएको हुन्छ ।

नेपालमा खासगरी बढ्दो शहरीकरण, गाउँबाट शहरतिरको बसाईँसराई, वन तथा प्राकृतिक स्रोतमाथि भएको अनियन्त्रित दोहन आदि जस्ता कारणले गर्दा विद्यमान परम्परागत ज्ञान र प्रविधि क्रमिक रुपमा लोप हुँदैे गइरहेको छ । यसले गर्दा परम्परागत ज्ञान र प्रविधिलाई प्रयोगमा ल्याएर आफ्नो जीविकोपार्जन गर्ने समुदायहरु समेत संकटमा पर्न थालेका छन् ।

यसका साथै त्यस्ता ज्ञान र प्रविध हाम्रो आफ्नो हो भन्ने चिनारी पनि हराउन थालेको छ । त्यसो त पश्चिमी रहनसहनको शैलीले गर्दा वर्तमान नयाँ पुस्ताका कतिपय शिक्षित युवायुवतीहरु आफ्नो परम्परागत ईलम र पेशालाई चटक्कै छाडी अन्य पेशा वा व्यवसायतर्फ उन्मुख हुन थालेका छन् । जसले गर्दा हाम्रा कतिपय महत्वपूर्ण ज्ञान र प्रविधि क्रमशः लोप हुँदै गइरहेका छन् ।

निश्चय पनि गाउँ नै गाउँले भरिएको र बहुसंख्यक जनता कृषिमा आस्रित रहेको हाम्रो जस्तो मुलुकमा परम्परागत ज्ञानको संरक्षण, सम्बर्धन र आधुनिकीकरणबाट नै जैविक विविधता संरक्षणमा महत्वपूर्ण टेवा पुग्न जाने देखिन्छ । यसका साथै त्यस्ता परम्परागत ज्ञान र सीपहरुको उपयोगबाट स्थानीय जनता वा समुदायको जीविकोपार्जनमा टेवा पुग्नुका साथै आफ्नो मौलिक राष्ट्रिय पहिचान कायम राख्न पनि महत्वपूर्ण योगदान पुग्न जान्छ ।

त्यसकारण स्थानीय रुपमा उपलव्ध यस्ता प्राकृतिक स्रोत र साधनहरुको अधिकतम उपयोग र सोसंग सम्बन्धीत विभिन्न ज्ञान, प्रविधि र सीपको संरक्षण, सम्बर्धन र आधुनिकीकरणद्धारा कृषि तथा घरेलु उत्पादनमा अभिबृद्धि ल्याउनु वर्तमान सन्दर्भमा टड्कारो आवश्यकता देखिन्छ ।

त्यति मात्र नभई नेपाल अन्तर्राष्ट्रिय जैविक विविधता महासन्धीको सदस्य समेत भएको नाताले पनि जैविक विविधता संरक्षण, त्यसको दिगो उपयोग र त्यसबाट स्थानीय तहसम्म समुचित अवसर र फाइदा पुग्ने व्यवस्था जस्ता मूलभूत कुराहरुबाट लाभ उठाउन सकिन्छ ।

समग्रमा भन्नु पर्दा परम्परागत ज्ञान र प्रविधिलाई लोप हुनबाट जोगाउन सर्वप्रथम त्यस्ता ज्ञान र प्रविधिको अभिलेखीकरण गरिनु आवश्यक पर्दछ । त्यसो त हाम्रो प्राकृतिक तथा बौद्धिक सम्पदाहरुमाथिको प्याटेन्ट राइट अरुले दावी गर्न नपावस् भन्नका लागि पनि त्यस्ता ज्ञान र प्रविधिको हक दावी लाग्ने अभिलेखिकरण हुनु अति नै जरुरी देखिन्छ ।

साथै यस किसिमको अभिलेखिकरणको माध्यमबाट एक ठाउँको परम्परागत ज्ञान र प्रविधिलाई अरु समुदायमा लैजान पनि सहयोग मिल्दछ । यसबाट हाम्रो कृषि र घरेलु उत्पादनमा मौलिक र गुणात्मक अभिबृद्धि हुन गई स्थानीय समुदायलाई दूरगामी फाइदा पुग्नुका साथै नेपालका विभिन्न जिल्लाहरुमा हाल प्रमुख समस्याको रुपमा देखा परिरहेको खाद्य संकट र गरीवी निवारणमा समेत महत्वपूर्ण टेवा पुग्न जाने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४