सो अवसरमा उहाँहरुले सर्जक सङ्केतको यो कृति युद्ध साहित्यमा रुचि राख्नेका लागि एक महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । युद्ध साहित्यमा अहिलेसम्म महत्वपूर्ण कृति प्रकाशित नभएको उल्लेख गर्नुहुँदै वक्ताले नेपाली साहित्यमा यस कृतिको खास महत्व प्रमाणित हुने धारणा राख्नुभयो । पुस्तकमा युद्धको बर्बर अवस्थाबाहेक माया, प्रेम, यौवनलगायत व्यङ्ग्यका पक्षलाई बेजोडसँग समेट्न कृतिकार सफल भएको वक्ताको भनाइ थियो ।
लेखक स्वयं युद्धमा संलग्न हुनुभएकाले त्यसको सजीव चित्रण पुस्तकमा गरिएको जनाइएको छ । साङ्ग्रिला बुक्सले सो पुस्तक प्रकाशित गरेको हो । तीन सय ९५ पृष्ठको पुस्तकको मूल्य रु ५९५ राखिएको छ । यसअघि लेखकका ‘आफैँ जलिरहेको देश’ (कविता सङ्ग्रह), ‘एथेन्सको झरी’ (नियात्रा), ‘सङ्केतका कविताहरू’लगायतका कृति प्रकाशित भएका छन् । सर्जक सङ्केत विभिन्न पुरस्कारबाट समेत पुरस्कृत भइसक्नुभएको छ ।