काठमाडौं, /भारतसँग खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप आइतबार नेपाल आइपुगेको छ ।भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादिन ‘कोभिशिल्ड’ खोप ल्याइएको हो ।
नेपाल सरकारले २० लाख डोज खोप खरिदका लागि यही फागुन ५ गते गरेको सम्झौताअनुसार आज १० लाख डोज खोप ल्याइएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।बाँकी १० लाख डोज पनि छिट्टै लाइने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।उहाँले भण्डारण लगायतमा समस्या नहोस् भनेर पहिलो खेपमा १० लाख डोज ल्याउन लागिएको बताउनुभयो ।
उहाँले उक्त खोप हाललाई टेकुस्थित ‘कोल्डरुम’मा भण्डारण गरिने बताउनुभयो ।आइतबार आउने खोप समुदायस्तरमा यही फागुन २३ गतेदेखि सञ्चालन हुने दोस्रो चरणको खोप अभियान अन्तर्गत पहिलो चरणमा ६० वर्ष उमेर भन्दा माथिका व्यक्तिलाई दिइने छ ।
मन्त्रालयले उक्त खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशभरिका खोप केन्द्रहरुमा वितरण गरिने जनाएको छ ।यसअघि भारतले नेपाललाई १० लाख र चीनले ५ लाख डोज खोप अनुदानमा दिएका थिए ।
नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो ।यसअघि फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा शबबाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाईकर्मी, पत्रकार, राजदूतावासका कर्मचारीहरु र यूएन एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो ।