एजेन्सी । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ ।
विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । सुरुमा विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगलाई कटौती गरेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको पक्षमा बोलेको भन्दै सहयोग रकम नै रोकेका थिए ।अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक बैठकमा उहाँले अमेरिकाले उक्त रकम यसै महिनाको अन्त्यसम्ममा विश्व स्वास्थ्य संगठनलाई दिने बताउनुभएको छ ।
विदेशमन्त्री एन्टोनीले अमेरिकाको एउटा दायित्व अन्तर्गत नै आफूहरूले विश्व स्वास्थ्य संगठनलाई यो रकम उपलब्ध गराउन लागेको बताउनुभएको छ । अमेरिकाको यो सहयोगले महामारीसँग जुध्न सहयोग पुग्ने अमेरिको विश्वास छ ।गत वर्ष मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिएको सहयोग रोक्ने मात्र नभएर सो संगठनबाट अमेरिका बाहिरिएको निर्णय गर्नुभएको थियो । अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन आएपछि विश्व स्वास्थ्य संगठनको सदस्यबाट बाहिरिने ट्रम्पको निर्णय खारेज गर्नुभएको थियो ।