Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बन्द भए धनबहादुर दाजुका मिर्मिरे आँखा !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १३ २०७७
  • 5.5K
    SHARES

नयाँ पुस्तालाई सारंगी सिकाउँदै स्वर्गीय धनबहादुर गायक

अब सारंगीमा सुनिन्नन्, मादलुमा घन्किन्नन्

 पोखरा । बाल्यकालमै सरकारी जागिर मिल्यो, तर छाडेर भागे । लाहुरेको अफर थियो, खान्न भनेर फर्के । आर्थिक संकट हुँदासमेत हुँदाखाँदाको जागिर र लाहुरे हुने अफर किन छोडेर हिँडेको त ? ‘जागिर खाएको भए धनी हुन्थें, अरु के हुन्थ्यो ? यो प्रश्न आफैंलाई पनि गर्थे । एक वर्षअघि कुराकानीमा धनबहादुरले भनेका थिए, ‘मलाई लोकभाका, संगीत, संस्कृति मन पर्थ्यो ।’
त्यसैले त धनबहादुर कहिले सांरगीका धुनमा सुनिए । कहिले मादलको घिन्ताङसँगै घन्किए । कहिले लोकभाका टपक्क टिपेर दिए र लाखौंका ओंठहरुमा गुञ्जिए । कहिले खुट्टा फालेर उठीबसी नाचिरहेको भेटिए । कहिले चलचित्रका पर्दामा । कहिले नाटकका पात्रमा । कहिले स्कुलमा । कहिले संगीतका पाठशालामा । कहाँ भेटिएनन् धनबहादुर ? पोखरामा संस्कृति, संगीत, वाद्यवादन, मौलिक नृत्यका विशेष कार्यक्रम होस् वा सानाठूला मेला महोत्सवमा भेटिइरहे धनबहादुर गायक ।

दौरा सुरुवाल, स्टकोट, ढाकाटोपी त कहिले सेतो सर्ट, कालो पाइन्ट, कोट र कालै जुत्तासँगै रातो मफलर गलामा गुथेर विशेष मञ्चहरुमा छाइरहे धनबहादुर । छेउ-छाउमा प्राय नयाँ पुस्ताका कलाकारसहित धनबहादुरले पोखरामा विभिन्न प्रस्तुति दिइरहे ।
एउटै व्यक्तिमा यति धेरै ऊर्जा आउनुका पछाडिको कारण के होला ? उनलाई केही प्रश्नहरुले लेखेटिरहृयो । किन मलीन हुँदै गइरहेको छ, सारंगीको धुन ? पूर्खाकै हातबाट कसरी खिइयो कर्खाको संगीत ? किन नयाँ पुस्ताले घन्काउँदैनन् मादल ? किन हराउँदै गइरहेको छ मालश्री धुन ? जब बुझ्ने भए धनबहादुरको मनमा यस्तै यस्तै प्रश्न उठिरहृयो ।

तिनै प्रश्नहरुको खोजी गर्दा गर्दै धनबहादुर ‘यो दाजुको मिर्मिरे आँखा’ गीतमा लयवद्ध भए । जुन नेपाली लोक संगीतको क्षेत्रमा प्रवीण गुरुङ र बिमाकुमारी दुराको आवाजसँगै सर्वाधित रुचाइएको गीत बन्यो । ‘यो मायालाई हिजै हो देखेको, देब्रे गाला चन्द्रमा लेखेको, फूल मायामा नभुल’ अर्को चर्चित गीतको लय, संगीत तथा रचना पनि उनै धनबहादुरले नै सिर्जना गरे । जसमा उनै प्रवीणले स्वर भरे ।

कहिले सिर्जनामा ‘बेली र चमेली’ समेटे, अहिले ‘घर राम्रो मकैको सुलीले’ भन्दै गाउँको मौलिक बिम्वलाई गीतमा उतारे । पानीको कलधारा बेइमानीको संगतै नगर बिग्रेला घरबार, चन्दन-ज्यान पर्‍यो बन्धन लगायत मौलिक शब्द खोजेर धनबहादुरले लय भरे । मौलिक लोकभाका, लोक संस्कृति, नृत्यकै हुटहुटीले झलकमान गन्धर्व पाठशाला खोले । धनबहादुर निरन्तर साधनामा लागिरहे ।
उनी लोकभाकाका चर्चित सर्जकमात्रै होइनन्, उनले थुप्रै चलचित्रमा नृत्य पनि गरेका छन् । सिन्दुर, कान्छी, सन्तान, के घर के डेरा, फेरि भेटौंला, पहिलो प्रेम, अग्नि परीक्षा जस्ता चलचित्रमा नृत्य गरे ।

११ वर्षमै गीत रेकर्ड, नाचघरमा जागिर

यो मायाले साइँली दिएन भर पनि
ब्यार्थै मैले साइँली बिगारें घर पनि
गयो माया साइँली पुतली रेलैमा
धान काटेर साइँली दाइँ हाल्ने बेलैमा

पोखरा बाटुलेचौरतिर खुबै गाइने लोक भाका थियो, यो । त्यही लोकलयलाई टपक्क टिपेर रेडियो नेपालमा रेकर्ड गरायो, त्यो पनि ११ वर्षीय बालकले । गीत सकिएपछि गायक तथा चर्चित प्रस्तोता पाण्डव सुनुवारले बालकलाई धाप मार्दै भने, ‘ल केटा गीत त गजबै गाइस् । तैंले गरिखान्छस् ।’

यो २०३१ सालतिरको कुरा हो । पोखराबाट भागेर नेपाल (काठमाडौं) पुगेको बालक झलकमान गन्धर्वलाई पछ्याउँदै रेडियो नेपालमात्रै छिरेन, यस्ता ३ वटा गीत नै रेकर्ड गरायो । त्यो बेला एउटा गीतको २० रुपैयाँका दरले ६० रुपैयाँ दिने भनियो । त्यसमा पनि २०/२० थपेर १ सय रुपैयाँ थमाउँदै उनै पाण्डव सुनुवारले भने, ‘ल केटा हो पैसा लिएर पोखरा फर्क ।’

ती बालक थिए, पोखरा बाटुलेचौरका धनबहादुर र बेगनास तालका बेनबहादुर गन्धर्व । उनीहरु काठमाडौं पुग्नुका पछाडि पनि अर्को रोचक किस्सा थियो । धनबहादुर, बेनबहादुर र रामबहादुर गन्धर्व पोखरा बसपार्कमा सारंगी बजाउँदै रहेछन् । एकजना गाडी चालकले गीत गाउन लगाएर भनेछन्, ‘म तिमीहरुलाई काठमाडौं लैजान्छु ।’

उनीहरुले गीत त गाए तर ड्राइभरले अर्को सर्त राखे । ड्राइभरले भने, ‘ल तिमीहरु दौडेर जो छिटो गाडीमा छिर्छ, ऊ मसँग काठमाडौं जान पाउँछ ।’ सबैभन्दा पहिले धनबहादुर गाडीभित्र छिरे, दोस्रोमा बेनबहादुर । रामबहादुर दौडिँदै गर्दा लडे । ड्राइभरले उसलाई लैजान इन्कार गर्‍यो र ऊ छुट्यो । धनबहादुरकै भाषामा दौड जितेको उपाधि स्वरुप ड्राइभरले सुन्धारामा लगेर ओरालिदियो । सुन्धराबाट झलकमान भेट्न रेडियो नेपाल पुगेका २ केटाले ‘चिठ्ठा’ मा गीत नै रेकर्ड गराउने अवसर पाए ।

रेडियो नेपालबाट गीत गाएर घर फर्किने बेलासम्म ‘सारंगी भिरेर पोखराबाट आएका २ जना केटाले गजबै गीत गाए,’ नाचघरमा चर्चा पुगिसकेको थियो । त्यहीँका जागिरे लालबहादुर गन्धर्वमार्फत उनीहरुलाई नाचघर झिकाइयो ।

‘ल केटा हो, सारंगीमा १/२ वटा गीत गाओ,’ नाचघरमै रहेका गायक कुमार बस्नेतले भने । गायिकाद्वय तारादेवी र ज्ञानु राणा लगायतले सही थापे । उनीहरुले गीत गाए । पोखरा बाटुलेचौरतिरकै भाका हालेर बालकहरुले सारंगी रेटेपछि नाचघरका कलाकार यसरी प्रभावित भए कि उनीहरुले बाल कलाकारका रुपमा जागिर दिने पक्का भयो ।

‘ड्राइभरले राखेको दौड प्रतियोगिता जितेर काठमाडौंमात्रै पुगिएन, गीत नै रेकर्ड गराउन पाइयो । नाचघरमा बाल कलाकारको जागिर नै पाइयो,’ धनबहादुरले कुराकानीमा पुराना किस्सा सुनाइरहन्थे, ‘नाचघरमा ४ वर्ष काम गरेपछि घरको याद आयो र पोखराबाट भागे झैं काठमाडौंबाट भागियो ।’

गन्धर्व जात होइन, संस्कृति

तिनै धनबहादुर गायक कहिले काठमाडौं त कहिले पोखरा भागे । तर, सारंगी र लोकभाकाबाट भाग्न सकेनन् । पिता पुर्खाको जीवन धानेको सारंगीलाई उनले पनि लहैलहैमा समाए । मीठो खान पाइने र पैसा पनि पाइने भएपछि स्कुल हापेर सारंगी सिके । सिंगै जीवन नै सारंगी साधनामा बिताइदिए ।

धनबहादुर काठमाडौंबाट घर त फर्के तर स्कुल फर्किन सकेनन् । लोकभाका, लोक संस्कृति, वाद्यवादन, नृत्य नै उनको स्कुल बन्यो । उनले केही पितापुर्खाबाट सिके, केही गुरुहरुबाट, केही जागिरबाट सिके । गन्धर्व संस्कृति, लोकभाका, लोक बाजा, लोकनृत्य संरक्षण गर्ने हुटहुटीबाट उनले सबैभन्दा बढी सिके र धनबहादुर आफैं एक स्कुल बने । जुन स्कुलले मौलिक कला, संस्कृति, संगीत, वाद्यवादन, नृत्यमा पोखरालाई ठूलो योगदान पुर्‍यायो ।

झलकमान गन्धर्वबाट धनबहादुर प्रभावित थिए । उनी झलकमानकै भाञ्जा पनि हुन् । त्यसैले उनले झलकमान गन्धर्व सारंगी पाठशाला नै चलाएर नयाँ पुस्तालाई सारंगी बनाउन, बजाउन पनि सिकाइरहेका थिए । डाँफे कला मन्दिरमा लामै समय धनबहादुरले जागिर खाए । पछि उनले पोखरा संगीत प्रशिक्षण केन्द्र र सारंगी पाठशालामा सारंगी, मादल बजाउन प्रशिक्षण दिए, त्यो पनि नि:शुल्क ।

                                                                                                       धनबहादुर गायक

गन्धर्व पाठशालामा विदेशीलेसमेत सारंगी सिकेका छन् । उनले थुप्रै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गरिसकेका छन् ।

‘बुढाबुढी मरेर जाँदा उनीहरुमात्रै मर्दैनन्, उनीहरुसँगै उनीहरुको ज्ञान, सीप र संस्कृति पनि मर्छ,’ धनबहादुर भन्थे, ‘अघिका पुस्ता बितेर गए, उनीहरुको ज्ञान सबै हामीले ग्रहण गर्न सकेका रहेनछौं । हामीले जानेको पनि नयाँ पुस्तालाई सिकाइएन भने संस्कृति नै मर्छ ।’

उनले गन्धर्वलाई जात होइन, संस्कृति मान्थे । उनका बुबा सारंगी बजाउँदै गाम/ठाम डुल्थे । विशेषत बाली भित्र्याउने बेला र चाडबाडमा सारंगी बजाउन जाने बाटुलेचौरका गन्धर्वहरुका आ-आफ्नै निश्चित घर हुन्थ्यो । उनी पनि बुबासँगै २/४ पटक बुबासँगै गएका थिए । ‘चाडबाडमा सारंगी बजाउन जानुको दुई कारण थिए । एउटा बाली उठाउन र मासु खान पनि भयो, अर्को खसीको आन्द्रा दुहेर सारंगीको तार बनाउन पाइन्थ्यो,’ काराकानीमा धनबहादुरले ती दिनको किस्सा सुनाएका थिए, ‘तर, मैले पनि चाहिँ लहैलहैमा सारंगी सिकेको हुँ ।’

धनबहादुर ४ कक्षामा पढ्दै गर्दा साथीले उनलाई गोराले पैसा दिन्छ भनेर लेकसाइड पुर्‍याएका थिए । ‘साथीले सारंगी बजाउँथ्यो । मैले सघाउँथें,’ धनबहादुरले बाल्यकाल सुनाउँथे, ‘नभन्दै मीठो खान नि मिल्ने, पैसा नि मिल्ने । त्यही लोभले पढाइ छुट्यो तर सारंगी जोडियो ।’

त्यतिबेलादेखि नै सारंगीलाई उनले साथीमात्र बनाएनन् नयाँ पुस्तासम्म पनि जोडे । उनले लाहुरे हुने अफरलाई पनि त्यागेर फर्किएका थिए । डाँफे कला मन्दिरबाट भारतको दिल्लीसम्म कार्यक्रम गर्न पुगेका थिए । त्यही क्रममा गोरखपुरमा कार्यक्रम भयो । त्यही क्रममा सारंगी, मादल पनि बजाउने र नाच्ने पनि उस्तै भएकाले उनलाई भारतीय सेनामा भर्ती गराइदिने अफर आयो ।

‘गोरखपुरमा भर्ती खुल्थ्यो, हाम्रो कार्यक्रम त्यही थियो । सेनामा ठूला मान्छेले अफर गरे, ल म भर्ती गराउँछु, नाच्ने गाउने गरेमात्र पुग्छ,’ धनबहादुर भन्थे, ‘पृथ्वीमान, दानबहादुर गुरुङ, नरेन्द्र आलेमगरसहित ४ जना थियौं । पृथ्वीमानका बुबा मानेनन् । दानबहादुरले प्रेमिका सम्झेर फर्के । नरेन्द्रले मलाया लाहुरे हुन्छु, इन्डियन हुन्न भने । म पनि एक्लै भएँ फर्किएँ ।’ पछि घरव्यवहारले कोर्रा हानिरहँदा धनबहादुर त्यो दिन सम्झेर चुक्चुकाए । तर, नेपालमा जे गरिरहेका थिए, त्यसले खुसी मिलेको भन्दै चित्त बुझाउँथे ।

सारंगी एकेडेमीको सपना

जीवन नै सारंगी साधनामा लगाएका धनबहादुर गायकको सारंगी एकेडेमी खुलेको हेर्ने सपना थियो । सारंगी लगायत मौलिक बाजाको संरक्षण, प्रवर्द्धन र पाठ्यक्रम मै समावेश गरेर कक्षा नै चलाउने गरी सारंगी एकेडेमी खुलेको हेर्न सपना आफूसँग भएको उनले सुनाउँथे ।

‘संस्कृति बचाउन लागिपरेका छौं । सारंगी भन्नेबित्तिकै घरघरै डलेर मागेर खानुपर्छ भन्ने छैन,’ उनको भनाइ थियो, ‘राज्यको चासो छैन भने कुनै जातिलेमात्र बचाउन सक्दैन ।’ लोकभाका, संस्कृति, परम्पराको अध्ययन गर्न चाहनेलाई प्रोत्साहन र त्यस्ता कलाकारको जीवन रक्षा खर्च गर्ने गरी झलकमानको नाममा अक्षयकोष निर्माण गर्न चाहेका थिए । तर, अब भने उनको यो सपना अधुरो भएको छ ।

२०१९ सालमा जन्मेर निरन्तर जीवन नै मौलिक तथा लोकबाजा, संगीत र नृत्यमा गुजारेका गायकको सोमबार बिहान हृदयाघातका कारण निधन भएको छ । पोखरेली कला, साहित्य, संगीतका साधकहरुले भनेका छन्, ‘धनबहादुरको निधनसँगै पोखराको ऊर्जाशील तारा खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४