Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खानेपानीका धारामा बरफ जमेर पानी आउन छाड्याे, ग्यास सिलिण्डरसमेत जम्न थाल्याे


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १४ २०७७
  • 2.5K
    SHARES

कर्णाली, १४ पुष । साविकको कर्णालीका नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको छ । मङ्सिरयता चिसो बढ्दै गएपछि विशेषगरी जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो ।

कालिकोट, जाजरकोट र रुकुमपश्चिमका उत्तरी भेगमा बसोबास गर्दै आएका नागरिकसमेत चिसोले प्रभावित बनेका छन् । जुम्लाको न्यूनतम तापक्रम यतिबेला माइनस ८.५ डिग्री सेल्सियसमा झरेको छ ।

जाडो बढे पनि साविकको कर्णालीका कुनै जिल्लामा वर्षा तथा हिमपात नभएको हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख आशामपुरा कार्कीले जानकारी दिनुभयो ।

“चिसो बढ्ने क्रम जारी छ”, प्रमुख कार्कीले भन्नुभयो, “हिमपात भने भएको छैन । यद्यपि, यहाँका नागरिकको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।” कठ्याङ्ग्रिने जाडो नघट्दासम्म हिमाली बासिन्दाको खासगरी बिहान र बेलुकाको दैनिकी अझ बढी कठिन हुने कार्यालय प्रमुख कार्कीले जनाउनुभयो ।

जाडो बढ्दै जाँदा खानेपानीका धारामा बरफ जमेर पानी आउन छाडेको छ । मोटरसाइकल गाडीमा पेट्रोल डिजेल जम्दा सञ्चालमा ल्याउन सकस भएको छ । यसले गर्दा यातायात व्यवसायीलाई पनि सेवा प्रवाह गर्न गाह्रो भएको यातायात व्यवसायी ज्वारीलाल भट्टराईले बताउनुभयो । शौचालयका धारा बन्द भएपछि नागरिकलाई शौच गर्नसमेत कठिनाइ भएको छ ।

चिसोले पानीका पाइप फुट्न थालेका छन् । मुख्यतयाः मानव जीवनका लागि दैनिकरूपमा नभई नहुने पिउनेपानी आउन छाडेपछि यहाँका नागरिकले बढी सास्ती खेप्नुपरेको खलङ्गा खानेपानी उपभोक्ता समितिका अध्यक्ष पन्नाबहादुर रोकायले जानकारी दिनुभयो ।

“हाम्रो काम उपभोक्ताको धारामा पानी पठाइदिने हो । पाइप भाँचिए टुटेफुटेको अवस्थामा मर्मत गरी पानी पठाएकै छौँ”, अध्यक्ष रोकायले भन्नुभयो, “बरफ बनेर बन्द भई धारामा पानी नआउनु प्राकृतिक अवस्था हो । यसमा हामीले के नै गर्न सक्छौँ र ?” करिब दुई हजार उपभोक्तामार्फत २२ हजारभन्दा बढी नागरिकलाई खानेपानी सेवा दिइरहेको उहाँको भनाइ थियो ।

त्यतिमात्र होइन, घरमा राखिएका ग्यास सिलिण्डर पनि जम्न थालेको चन्दननाथ नगरपालिका–६ जुम्लाका स्थानीय पदमलाल महतले जानकारी दिनुभयो । “गाउँका स्थानीयवासी दाउरा बाल्ने भएकाले केही सहज भए पनि हामी बजारमा बस्नेलाई अहिले निकै गाह्रो भइरहेको छ”, महतले भन्नुभयो, “जमेको धारामा तातोपानी खन्यायो भने बरफ पग्लिएर पानी आउँथ्यो तर दाउरा छाडेर बाल्दै आएका सिलिण्डर ग्याससमेत जमेपछि झन् ठूलो सङ्कट निम्तिएको छ ।”

धारामा बरफ जम्दा घरमा न पानी छ न त आगो बाल्ने दाउरा छ । सिलिण्डर ग्यासको विकल्पमा दाउरा खोज्नुपर्ने त्यहाँ बाध्यता आइलागेको छ । धारा र पाइपमा बरफ जमेपछि स्थानीयवासी पानी जोहोका लागि प्राकृतिक मूल खोजी गर्न थालेका छन् । “जमेको पानी पग्लाउन आगो बालेर पानी तताउनुहुन्थ्यो तर धाराबाटै पानी खस्न छाडेपछि के तताउने ? स्थानीय सविना शाहीले भन्नुभयो, “तताउनका लागि दाउरा छैन । सिलिण्डरको ग्यास पनि फ्रिज भएको छ ।”

मूलमा पानी नजम्ने भएकाले त्यस्ता स्रोत नजिक भएका गाउँहरुलाई सजिलो भएको शाहीले जनाउनुभयो । उहाँले भन्नुभयो, “घरमा पानी नआउँदा मूल नजिकै बनाइएका परम्परागत काठ तथा ढु्ङ्गेधारा धाउनुपरेको छ । मेलापात, धारा, पानी पँधेरामा महिला सहभागी हुने भएकाले यसको बढी सङ्कट पनि महिलाले नै भोग्दै आएका छन् ।”

चिसोले विपन्न, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति र सुत्केरी बढी प्रभावित भएका छन् । यो समयमा दम, निमोनिया, रुघाखोकी, कोल्ड डाइरियाका रोगी अस्पतालमा बढी आउने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा अर्जुनप्रसाद तिवारीले जानकारी दिनुभयो ।

“यतिबेला ज्येष्ठ नागरिक, दीर्घरोगी र बच्चा अस्पतालमा बढी आउने गरेका छन्”, डा तिवारीले भन्नुभयो, “चिसोले ‘अपरेसन थियटर’मा बेहोस बनाएर उठाउँदा अलि कठिनाइको महसुस हुन्छ ।” उहाँले यो समयमा सबैले आफूलाई न्यानोमा राख्न, झोलिलो चिज खान र ज्येष्ठ नागरिक र बालबालिकालाई बरफमा लड्नबाट जोगाउन सल्लाह दिनुभएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४