नेता गगन थापाले पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले अलमल गर्न नहुने बताए । होइन भने पदाधिकारी बैठकको निर्णय सच्याउनुपर्ने उनको तर्क थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको चुनाव नहुने बरु देश अँध्यारो सुरुङमा जाने भन्दै थापाले बैठकमा भने, ‘हामीले अदालतलाई पर्खिने होइन, संसद विघटन असंवैधानिक छ, यसलाई सच्याओस् भन्ने हो ।’ संसद विघटन असंवैधानिक छ भनेर सडकमा जानुपर्ने र संवैधानिक परिषद्ले गरेका निर्णयहरू अस्वीकार्य छ भनेर केन्द्रीय कार्यसमितिबाट भन्नुपर्ने उनले बताए ।
नेता बलबहादुर केसी र आनन्दप्रसाद ढुंगानाले पनि संसद विघटन असंवैधानिक र संविधान विपरीत भएको बताए । सडक र अदालत दुवै मोर्चामा यसको विरोध गर्नुपर्ने भन्दै ढुंगानाले भने, ‘सडकमा जाँदा कम्युनिस्टहरूसँग मिलेर होइन, कांग्रेसले एक्लै आदोलन गर्नुपर्छ । १६५ निर्वाचन क्षेत्रमा कार्यकर्ता परिचालन गर्नुपर्छ ।’
- देउवा र पौडेलको बाझाबाझ
चार नेता बोलेपछि सभापति देउवाले अहिले नै सडकमा जान हतार गर्न नहुने आशय व्यक्त गरे । संसद विघटनबारे परेको रिटमा सर्वोच्च अदालतको आदेश र नेकपाको आधिकारिकताको प्रश्नमा निर्वाचन आयोगको निर्णय पर्खिनुपर्ने उनको तर्क थियो । तर वरिष्ठ नेता पौडेलले त्यसको प्रतिवाद गरे । ‘कसले के भन्छ भन्ने छाडौं, कमसेकम हामीले के गर्ने त्यो भनौं’ उनले भने, ‘संसद विघटन असंवैधानिक छ, अलोकतान्त्रिक छ भनेर सडक जाऔं ।’
बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच केहीबेर चर्काचर्की नै भएको थियो । त्यसपछि बैठक भोलि बिहीबार फेरि बस्ने गरी स्थगित भएको छ। एक पदाधिकारीका अनुसार भोलिको बैठकले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने कार्यक्रम तय गर्नेछ ।बैठकमा वरिष्ठ नेता पौडेलले सडकमा जानुपर्छ भन्दा सभापति देउवाले पुस १६ मा कार्यक्रम गर्ने भनेका थिए । तर त्यो दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन विरोध कार्यक्रम ? भन्दै नेताहरूले प्रश्न गरेपछि त्यसअघि नै देशभर प्रदर्शन गर्ने तयारी गरिएको एक नेताले बताए ।
