असोज १५ देखि दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउने
जन न्युज नेपाल खवर सह-सम्पादक नमुना दहाल कार्की !
खाद्य र साल्टबीच ‘एक्सचेन्ज व्यापारको सहमति भएको छ
काठमाडौं । दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आगामी असोज १५ गतेदेखि सञ्चालनमा आउने भएको छ । सरकारी स्वामित्वका दुई व्यवसायिक संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी असोज १५ गतेदेखि मङ्सिर ७ गतेसम्म उपत्यका सहित देशैभरी सुपथ पसल सञ्चालन गर्ने भएका हुन् ।
सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बैठकबाट खाद्य र साल्ट बीच एक आपसमा व्यवसायिक सहकार्य गर्दै आउँदो १५ गतेदेखि देशभर कुल ५७ स्थानबाट सुपथ मूल्यका पसल संचालन गर्ने निर्णय भएको खाद्यका नायव प्रवन्ध निर्देशक श्रीमणि खनालले जन न्युज नेपाल खवरलाइ बताए ।
नायब प्रवन्ध निर्देशक खनालका अनुसार खाद्यले उपत्यकाका ५ स्थान र उपत्यका बाहिरका २४ स्थान गरी २९ स्थान र साल्ट ट्रेडिङले उपत्यकाको ५ स्थानसहित उपत्यका बाहिरका २३ स्थान गरी देशैभरीबाट कुल ५७ स्थानबाट सुपथ मूल्यका पसल सञ्चालन गर्नेछ ।
गत वर्ष उपत्यकासहित कुल २३ स्थानमा मात्र सुपथ मूल्यका पसल सञ्चालन गरिएकोमा यस पटक थप ६ स्थान थप्दै खाद्यले २९ स्थानबाट पसल सञ्चालन गर्न लागिएको खनालले बताए । यता साल्टले पनि गत वर्ष उपत्यका सहित बाहिरी जिल्लाहरुबाट कुल २४ स्थानमा मात्र सुपथ मूल्यका पसल सञ्चालन गरेकोमा यस पटक थप ४ स्थान सहित कुल २८ स्थानबाट सपुथ मूल्य पसल संचालन गर्ने तयारी गरेको साल्टका डिभिजन म्यानेन्जर ब्रजेश कुमार झांले जन न्युज नेपाल खवरलाइ बताए । तर अहिले नै के कति र कहाँकहाँ सञ्चालन गर्ने निक्योल नभइसकेकाले यसमा थपघट हुन सक्ने झांको भनाइ छ ।
खाद्यले भने आफ्नो केन्द्रीय कार्यालय थापाथलीसहित रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट बिक्री काउन्टर स्थापना गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने र उपत्यका बाहिर २५ जिल्लामा रहेका आफ्ना प्रादेशिक तथा क्षेत्रीय कार्यालहरुबाट पसल संचालन गर्ने गरी तयारी गरेको नायव प्रवन्ध निर्देशक खनालले जानकारी दिए ।
एक्सचेन्जमा सामान बिक्री गरिने
खाद्य कम्पनी र साल्ट ट्रेडिङबीच सामान एक्सचेन्जका आधारमा सुपथ मूल्यका पसल सञ्चालन गर्ने सहमति भएको छ । खाद्यले साल्टको सामान बेच्ने र साल्टले खाद्यको सामान एक अर्काले एक्सचेन्ज (साटासाट)गरे बेच्ने सहमति भएको खाद्यका नायव प्रवनध निर्देशक खनालले बताए । यसरी दुई सस्थाले बेच्ने खाद्यान्न लगाय दैनिक उपभोग्य वस्तुमा बजार भाउ भन्दा ५ देखि १० रुपैयाँ सस्तो पर्ने गरी छुट दिने तयारी भएको खनालले जानकारी दिए ।
आकस्मिक टेन्डर मार्फत तेल आयात गर्दै खाद्य
दशैं–तिहारकै लागि भन्दै खाद्यले १० हजार लिटर बराबरको खाने तेल आयात गर्ने तयारी गरेको छ । सनफ्लावर तेल र तोरिको तेल गरी कुल १० हजार लिटर तेल ल्याउने गृहकार्य गरेको हो । यद्यपी खरिद गर्ने भनिएपनि अहिले सम्म टेन्डर भने भइनसकेको खाद्यका प्रवक्ता सर्मिला न्यौपाने अधिकारीले जन न्युज नेपाल खवरलाइ बताइन् ।
दशैं–तिहारकै लागि उपलब्ध गराइने भनिएपनि तत्काल सम्भव नभए अन्य कम्पनीहरुसँगको सहकार्य गरेर भनेपनि उपलब्ध गराइने र पछि खाद्यको बिक्री केन्द्रमा रहने गरी ल्याइने न्यौपानेले बताइन् ।
खाद्य कै नायव प्रवन्ध निर्देशक श्रीमणि खनालले पनि आकस्मिकरुपमा भनेपनि संस्थानले पाएको अधिकारभित्र रहेर तेलको आयात गरिने बताए ।
‘दशैं अघि नै तेल ल्याउनु पर्ने छ । तर हामीसँग समय एकदम थोरै छ । यस्तो अवस्थामा सार्वजनिक टेन्डरमा गएर एकैपटक सबै तेल आयात गर्न सकिँदैन । समय र आवश्यकतालाई मध्यनजर गर्दै अब हामी आकस्मिक रुपमा भएपनि तेल आयात गर्छौ । त्यो कम्पनीको क्षेत्रअधिकार भित्रै रहेर गर्छौँ । खनालले भने । खनालका अनुसार बाँकी तेल भने, दशैं–तिहार पछि विस्तारै प्रक्रिया पु¥याएर नै ल्याइनेछ ।
अन्य खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरुमा भने यस वर्ष अहिले खाद्यसँग भएको मौज्दात नै प्रयाप्त रहेको प्रवक्ता न्यौपानेले जानकारी दिइन् । हाल खाद्यसँग विभिन्न ६ क्वालिटीका गरी कुल १४ हजार मेट्रिकटन चामल स्टक रहेको छ भने १० हजार मेट्रिकटन चामल आयात हुने क्रममै रहेको प्रवक्ता न्यौपानेले जन न्युज नेपाल खवरलाइ जानकारी दिइन ।