भरतपुर महानगरमा चार दिनदेखि फोहर उठ्न सकेन
जन न्युज नेपाल खवर
चितवनको महानगरपालिकाको फोहर फाल्न स्थानीयवासीले अवरोध गरेका छन् । नारायणी नदी किनारस्थित नगरवन क्षेत्रमा फोहर फाल्न भरतपुर–३ का स्थानीयवासीले अवरोध गरेका हुन् । उनीहरुको अवरोधपछि चार दिनदेखि फोहर उठ्न सकेको छैन् । महानगरले नगरवन क्षेत्रबाट नारायणी किनारमा फोहर फाल्दै आएको छ । नारायणीमा फोहर फाल्दा प्रदूषण बढेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ तर महानगरले ल्यान्डफिल्ड साइट निर्माण नहुञ्जेलसम्मका लागि जनाउँदै सो क्षेत्रमा फोहर फाल्ने गरेको छ ।भरतपुर–३ को सन्सारीमाई टोल विकास संस्थाका अध्यक्ष योगेन्द्र पौडेलले प्रदूषण बढेकाले फोहर फाल्न रोकिएको बताए ।
भरतपुर र नारायणगढ क्षेत्रमा फोहर उठ्न नसक्दा महानगरका शहरी क्षेत्र दुर्गन्धित बन्न थालेका छन् । भरतपुरको मुख्य बजार नारायणगढको लाइन्सचोकदेखि शहीदचोक हुँदै पुल्चोकसम्म ठाउँठाउँमा फोहरका थुप्रोहरु देख्न सकिन्छ । सबै मानिस भित्रै रहँदा सडक झनै सफा देखिनुपर्नेमा नारायणगढ बजार र भरतपुरको दृश्य भने झन् फोहर देखिन्छ । भरतपुर महानगरले फोहर व्यवस्थापन गर्नका लागि टेन्डरमार्फत व्यवसायीहरुलार्ई ठेक्का लगाएको छ । भरतपुर महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले कोरोनाका कारण फोहर उठाउन समस्या भइरहेको बताए । “कोरोनाको त्रासले गर्दा डम्पिङ साइट क्षेत्रको स्थानीयवासीले अवरोध गरेका छन्”, उनले भने, “निरन्तर रुपमा समन्वय गरिरहेका छौँ तर कहिले फोहर उठ्छ भन्ने यकिन छैन ।”महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले ४ दिनदेखि फोहर उठ्न नसकेको बताए । उनले स्थानीयवासीको अवरोधका कारण फोहर उठ्न नसकेको जानकारी दिए ।