काठमाडौँ । संघर्षका दिनहरू कसैका सजिला हुँदैनन् । त्यसमा पनि नयाँ परिवेशमा, नयाँ देशमा, नयाँ भाषामा र नयाँ भेषमा ढलेर आफ्नो नाम बनाउन उत्तिकै कठिन । तर जहाँ समस्या त्यहीं समाधान पनि हुन्छ र त्यही समस्यासँग जुध्ने नयाँ शाहस र आत्मबल पनि बढ्दै जान्छ । तिनै समस्या र चुनौतीलाई आत्मसात गर्दै भारतमा जम्न सफल एक नेपाली मोडल र कलाकार हुन् डा. रितु अवस्थी । रितुको जन्म डडेलधुरामा भएको हो । शिक्षा लिने क्रममा उनी छिमेकी देश भारत पुगिन् । त्यहींबाट सुरु भयो उनको शिक्षासँगै अभिनयको यात्रा । पेशाले उनी डाक्टर हुन्, उनी भारतको मणिपाल हस्पिटलमा हाडजोर्नी सर्जनको रूपमा कार्यरत छिन् । पेशा एउटा भए पनि उनले मोडलिङको यात्रालाई पनि अगाडि बढाएकी छिन् । उनी दुबैलाई सँगसँगै लिएर जाने बताउँछिन् ।
भारतीय बजारमा चिर परिचित नाम हो डा. रितु अवस्थी । डाक्टरीसँगै ग्ल्यामरस क्षेत्रमा पनि हात हालेकी उनले भारतीय चर्चित सिरियल, कनाडा फिल्म तथा सिरियल र केही टिभि विज्ञापनमा समेत काम गरिसकेकी छिन् । नेपालबाट भारतमा गएर ‘करियर’ बनाउन धेरै मानिसहरू चाहन्छन् तर रितुले जस्तो सफलता कम नै व्यक्तिहरूले पाउन सक्छन् । उनको जीवन साँच्चै नै लोभलाग्दो छ र उनले जहाँजहाँ काम गरेकी छिन् त्यहाँ सफलता पनि पाएकी छिन् । प्रत्येक ठाउँमा पाएको सफलताले उनमा थप ऊर्जा मिलेको छ । उनले भारतीय सिरियल कुमकुम भाग्य, प्यार की डोरी, माँ शक्ती, कन्नड फिल्म शिवम, लक्स साबुनको विज्ञापन लगायतमा काम गरेर आफ्नो पहिचान बनाइसकेकी छिन् । ५ फिट ९ इन्च हाइटकी रितुको परिचय कलाकार, मोडल र डाक्टरमा मात्र सीमित छैन । ३० वर्षको उमेरसम्म आइपुग्दा उनी एक सक्षम बिजनेस वुमन समेत बनिसकेकी छिन् । उनले आफ्नै लज समेत सञ्चालन गर्दै आएकी छिन् । करिब ७० देखि एक करोड भारतीय रुपैयाँसम्म उनले कुनै एक शोबाट पारिश्रमिक लिने गरेकी छिन् । मेकअपमा सौखिन उनी कमाईको ठूलो हिस्सा आफ्नै सुन्दरताको लागि खर्चिन्छिन् ।