रमेश कुमार बोहोरा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउन खोजिएकाले हतारमा संसद्को अधिवेशन अन्त्य गरिएको बताएका छन् । ओलीकै कृपाले भण्डारी दोश्रो पटक पनि राष्ट्रपति भएकी छिन् । उनलाई राष्ट्रपति बनाउने विषयमा पार्टीमा चर्को विवाद भएपनि ओली एक्लैले पेलेर उनलाई राष्ट्रपति बनाएका हुन् । अप्रत्यासित ढंगले अधिवेशन अन्त्य गरेपछि यसबारेमा अनेक आशंका गरिएको छ ।
नेकपाको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीले महाअभियोगबारे अभिव्यक्ति दिएका थिए । उनले पार्टीभित्रकै अर्को समूहबाट राष्ट्रपतिमाथि महाअभियोग लगाउने थाहा पाएपछि त्यो खतरा टार्न आफूले ‘बोल्ड’ निर्णय गरेको स्पष्ट पारेका छन् । उनले सरकारमाथि पनि षड्यन्त्र भएको भन्दै चिन्ता गरेका छन् । ओलीले चलिरहेको प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका थिए । सामान्यतयाः अधिवेशन अन्त्य गर्दा संसदमा रहेका अन्य प्रमुख दलसँग पनि छलफल गर्ने प्रचलन पनि उनले तोडेका छन् । नेकपाकै नेता र मन्त्रीहरूसमेत अधिवेशन अन्त्य भएपछि अचम्मित भएका छन् । असार १८ गते संसद्को अधिवेशन अन्त्य गरिएपछि संसदमा विचाराधीन विधेयक अलपत्र परेका छन् । तर ओलीले भने कानूनमन्त्रीले संसद्को विजनेस नभएको जनाएपछि आफूले अधिवेशन अन्त्य गरेको प्रतिकृया दिएपछि ओलीको आलोचना भएको छ । संविधान अनुसार संसद्को अधिवेशन अन्त्य र आव्हान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्नेछिन् ।
पछिल्लो समयमा ओली निकै आलोचित बनेका छन् । सरकार संचालन गरेको आज २८ महिना २५ दिन भएको छ । जनताको मन जितेर नेकपाले त्यत्रो मत ल्याएपनि अहिले भने नागरिकको चित्त बुझाउने काम गर्न सरकारले सकेका छैनन् । तर ओली आफ्नो सरकार ऐतिहासिक रूपमा सफल भएको दावी गरेका छन् । जनतालाई धेरै आश्वासन दिएर दोश्रो पटक प्रधानमन्त्री भएका उनी दिनैपिच्छे कमजोर बन्दै गएका छन् । पार्टीभित्र संकटमा परेका ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नै राजिनामा दिनुपर्ने आवाज जोडदार रूपमा उठेपछि उनी घमण्ड प्रस्तुत गर्दैछन् । उनी कुनै पनि हालतमा दुबै पद नछोड्ने अडानमा रहेपछि पार्टीभित्रको संकट मिल्नुभन्दा पनि झन् बल्झदै गएको छ । ओलीले एकलौटी पाराले सरकार चलाएको, पार्टीको कुनै पनि गम्भीर निर्णय गर्दा कसैसँग समन्वय नगरेको मात्र होइन बोलीमा छुद्रता र ठट्यौली पाराको पनि विरोध भएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता हुँदा गरिएको भद्र सहमति अनुसार प्रधानमन्त्री आलोपालो हुनुपर्ने अडान फेरि दोहो¥याएका छन् । तर ओलीले प्रधानमन्त्री नछोड्ने भएपछि प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका समूह नयाँ बाटोमा खोजीमा छन् ।
पार्टीभित्र यस्तो विवाद आएपछि तनावमा रहेका ओलीले आफ्ना कार्यकर्तालाई उकासेर सडक आन्दोलन गर्न लगाएका छन् । उनका पक्षमा कार्यकर्ताहरू अन्धभक्त भएर लागिरहेका छन् । ओलीले राष्ट्रियताका चर्का कुरा गरे पनि व्यवहारमा भने जनताले केही नपाएपछि उनलाई पनि अरूजस्तै गफाडी र अदूरदर्शी शासकका रूपमा हेरिएको छ । असार १० गतेबाट शुरू भएको पार्टीको स्थायी समिति बैठक पटक पटक सारेर ओली आफ्नै कानले आफ्नो राजिनामा मागेको नसुनियोस् भन्ने दाउमा छन् । शुक्रबार बोलाइएको बैठक पनि बसेन, यसका लागि भने देशव्यापी रूपमा आएको बाढी, पहिरो र कोरानाको संख्यामा आएको बृद्धिलाई देखाइयो । स्थायी समिति बैठक साउन २ गते फेरि पनि बोलाइएको छ ।