बर्दिया । बर्दियाका १५० क्वारेन्टाइनस्थल बिस्तारै रित्तिँदै गएका छन् । क्वारेन्टाइन रित्तिँदै जाँदा गाउँ भने भरिभराउँ हुँदै गएको छ ।
सरकारी मापदण्ड भन्दै १४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना भाइरसको कुनै लक्षण नदेखिएपछि धमाधम घर फर्काउन थालियो । जसका कारण क्वारेन्टाइन बिस्तारै रित्तिदै गएका हुन् ।
स्वास्थ्य कार्यालय बर्दियाले दिएको पछिल्लो तथ्याङ्ग अनुसार हाल ९ सय ७५ जना मात्र क्वारेन्टाइनमा छन् । जबकी जेठ महिनाको मध्ये तिर जिल्लाका विभिन्न क्वारेन्टाइनमा करिव साढे ५ हजारको हाराहारीमा मानिस थिए । १४ दिन क्वारेनटाइनमा बस्दा कुनै लक्षण नदेखिएका व्यक्ति घर फर्के पछि क्वारेन्टाइनमा बस्नेको संख्या कमी हुँदै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । अर्को तर्फ भारतलगाएत अन्य स्थानबाट आउने क्रम पनि बिस्तारै कम हुँदै गएपछि क्वारेन्टाइन रित्तिँदै गएको स्वास्थ्य कार्यालयको भनाई छ ।
पछिल्लो विवरण अनुसार गेरुवा गाउँपालिकाको क्वारेन्टाइनमा १ सय जना, गुलरियामा १ सय ७२ जना, बासगढीमा ८७ जना, बारबर्दियामा ६९ जना मात्र क्वारेन्टाइनमा छन् । यसैगरी ठाकुरबाबामा १ सय ५६, राजापुरमा ९०, मधुवनमा १ सय ४० र बढैयातालमा १ सय ६१ जना क्वारेन्टाइनमा छन् । जिल्लामा अझै पनि १ सय ४५ स्थानमा क्वारेन्टाइन छन् । जसमा ४ हजार १ सय ४८ जनाको क्षमता छ । क्वारेन्टाइन रित्तिदै गएपछि केही क्वारेन्टाइन बन्द गरिएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीका अनुसार जिल्लामा हालसम्म ३ हजार ७९ जनाको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिएको छ । जसमा हालसम्म १ सय ६३ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये ८० जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । वाँकीको जिल्ला तथा जिल्ला बाहिर विभिन्न स्थानमा उपचार भइरहेको छ । पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएका मध्ये हालसम्म १ सय ८० जनाको रिपोर्ट आउन वाँकी छ ।
सरकारको पछिल्लो निर्देशनअनुसार १४ दिनसम्म आइशोलेसनमा बसेका व्यक्तिमा कोरोनाको कुनै पनि लक्षण नदेखिएपछि निको भएको भन्दै घर पठाउन थालिएको छ । जसका कारण समुदायमा कोरोना फैलन सक्ने भन्दै स्थानिय त्रसित भएका छन् । क्वारेनटाइनमा बसेकाहरुको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरेर मात्र घर पठाउन चौतर्फी माग गरिए पनि केन्द्रको कार्यविधी भन्दै आरडीटी गरेर मात्र घर पठाउने गरिएको छ ।
क्वारेन्टाइनबाट घर फर्केकाहरु मध्ये केही एक साताको होम क्वारेन्टाइन बस्ने गर्छन् भने केही बस्दैनन् । क्वारेन्टाइनबाट फर्केकाहरु बिस्तारै घरको कामकाजमा लाग्न थालेका छन् । गाउँमा चहलपहल बढ्दो छ । मजदुरी तथा अन्य कामका लागि घर बाहिर गएकाहरु क्वारेन्टाइन बसाइको अवधी सकेर घर खेतीपातीमा लागेका छन् । यसपटक खेतपातीको बेलामा गाउँमा ज्याल मजदुरी गर्ने मानिस पाइएन भन्ने कसैको गुनासो छैन । विगतमा बाझो हुने जमिनमा पनि यसपटक स्थानियले अधिया बटैयामा खेती गरेका छन् । विगतमा ज्याल मजदुरी लगाएर खेत गर्नेहरु यसपाली घरपरिवारकै सदस्य मात्रैले खेती गरेका छन् ।
घरमा काम गर्ने मान्छे धेरै भएपछि केटाकेटी र बुढापाका यतीखेर फुर्सदिला भएका छन् । केही युवाहरु पनि फुर्सदमा देखिन्छन् । कोरोनाका कारण राजगार गुमेकोमा युवाहरुको दुखेसो छ । ‘जग्गा जमिन भएकाहरु त खेतीपातीमा लागेका छन् । हामी जग्गा जमिन नभएका मजदुरी गरेर खानेहरु त्यत्तिकै बरालिनु परेको छ ।’ ठाकुरबाबा–४ बर्गदा गाउँका जंजिरे थारुले गुनासो सुनाए । कमाउन घर बाहिर गएकाहरु सबै घर फर्केको हुँदा गाउँघरमा काम नै नपाएर खाली बस्नु परेको स्थानिय युवाहरुको भनाई छ ।