बुटवल । भारतबाट आएको सलहको बथान प्रदेश ५ का आठवटा जिल्लामा पुगेको छ । शनिबार रुपन्देही र पाल्पामा मात्रै देखिएको सलह फट्यांग्रा अन्य जिल्लामा पनि फैलिएको हो । प्रदेशको रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाची, गुल्मी, दाङ, नवलपरासी र बर्दियामा सलह देखिएको प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयत अन्तर्गतको कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले सहल छवटै जिल्लामा फैलिए पनि धेरै क्षति नभएको बताए । ‘ठूला रुखहरु सिख्रै गराएको देखियो, तर बालीमा त्यति धेरै नबसेकाले क्षति भएको छैन’, उनले भने । कृषि ज्ञान केन्द्रका कर्मचारीहरु सलह बसेको स्थानको निरीक्षणकै क्रममा रहेको उनले बताए ।
आइतबारदेखि कपिलवस्तुमा अत्याधिक संख्यामा सलह देखिएको छ । कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिकाको धनकौलीमा तरकारी र फलफूलमा क्षति गरेको किसानहरुले बताएका छन् । धनकौलीमा तरकारी, आपका बोटहरु नोक्सान गरेको किसानको भनाइ छ । ‘छपक्कै छोपिने गरी सलह बसेका छन्, उडिरहेका पनि उत्तिकै छन’, स्थानीय रामप्रित यादवले भने,‘हरियो तरकारीका पात खाएका छन् ।’
कपिलवस्तु कृषि ज्ञान केन्द्रले सलहले कति क्षति ग¥यो भन्ने विवरण प्राप्त नभएको जनाएको छ । रुपन्देहीमा देखिएका भन्दा कैयौँ गुणा धेरै सलह कपिलवस्तुमा रहेको स्थानीयले बताएका छन् । कपिलवस्तुका सबै पालिकामा सलह उडेका र बसेका छन् । प्राय ठूला रुखहरुमा बसेका छन् । वाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेषबहादुर केसीले लाखौंको संख्यामा आएको सलह झुण्ड झुण्डमा बाडिएकाले डराउनुपर्ने नदेखिएको बताउँदै सतर्क रहन भने आग्रह गरेका छन् ।
रुपन्देहीका सैनामैना वडा नम्बर ६ मा मकै, तरकारी र धैचा खाएको किसान युवराज विश्वकर्माले बताए । ‘धानमा मल होला भनेर धेचा छरेका थियौं, अहिले ठेटा मात्रै बनाएर छाडेको छ’, उनले भने,‘तरकारी र मकैका पाससमेत खाएका छन् ।’ सहल आएपछि किसानले भाँडा ठटाउने र आगो लगाएर धुवार्ने गरिरहेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयले विषादी छर्किन र मारेर जम्मा पार्नसमेत किसानलाई आग्रह गरेको छ ।
कृषि विकास निर्देशनालयका निर्देशक देवकोटाले रुपन्देहीको देवदह र सैनामैनामा सलह बसे पनि त्यति धेरै क्षति नपु¥याएको बताए । अर्घाखाचीको शितगंगाको वडा नम्बर १ सुवर्णखाल र वडा नम्बर १० सिद्धारामा बाक्लो रुपमा सलह देखिएको छ । मकैबारीमा सलह बसेपछि किसानले थाल ठटाउने, आगो बाल्ने गरेर धपाइरहेका छन् । यो क्षेत्र कपिलवस्तुसँग जोडिएको छ । अर्घाखाचीका अन्य स्थानमा भने सामान्य मात्रामा फट्यांग्रा देखिएको बताइएको छ । दाङका केही क्षेत्रमा मात्रै सामान्य रुपमा सलह देखिएको भन्दै किसानले ज्ञान केन्द्रमा खबर गरेका छन् ।