काठमाडौं । नेपाली चलचित्रका कलाकारहरूले हिजो शुक्रबार काठमाडौंमा एक समारोहबीच प्राविधिकहरूलाई आर्थिक सहयोग गरेका छन् । विगतमा विभिन्न खाद्यान्न सामग्री प्रदान गरेका कलाकारले शुक्रबार भने प्राविधिकलाई आर्थिक सहयोग नै प्रदान गरे ।
अभिनेताहरू रमेश उप्रेती, दीपकराज गिरी, जितु नेपाल, अभिनेत्रीहरू केकी अधिकारी, ऋचा शर्मा, स्वस्तिमा खड्का, दीपाश्री निरौलासहित विभिन्न सिनेकर्मीलाई शुक्रबार एक औपचारिक कार्यक्रमबीच प्राविधिकलाई सहयोग गरेका हुन् । उनीहरूले ३ लाख रुपैयाँ संकलन गरेर १ सय जना प्राविधिकलाई सो रकम दामासाही रूपमा प्रदान गरे ।
‘नेपाली चलचित्र उद्योग ठप्प भएको बेला हामीलाई गाह्रो छ भने ज्याला मजदुरी गर्ने चलचित्रका प्राविधिकहरूलाई झनै गाह्रो छ भनेर हामीले व्यक्तिगत रूपमा आर्थिक संकलन गरेर आज यो रकम प्रदान गरेका हौं,’ कलाकार जितु नेपालले राजधानीसँग भने ।
‘खाद्यान्न सहयोग उहाँहरूलाई प्राप्त विगतमा भए पनि आर्थिक अभावले कोठा भाडा तिर्नेदेखि ग्याँस किन्नेसम्म विभिन्न समस्या थियो । त्यो समस्या देखेर नै हामीले आपसमा आर्थिक संकलन गरेर नगद सहयोग गरेका हौं,’ सो सहयोगबारे अभिनेत्री केकी अधिकारीले बताइन् । आफूहरूले १ सय जनालाई जनही ३ हजार रुपैयाँ प्रदान गरेको पनि अभिनेत्री अधिकारीले बताइन् ।
जितु र केकीसहित कलाकारहरू रमेश उप्रेती, दीपकराज गिरी, केदार घिमिरे, ऋचा शर्मा, स्वस्तिमा खड्का, दीपाश्री निरौला, गौरव पहारी, साकार पन्त, अनुराग कुँवर, चलचित्र निर्माता निसान बजगाईं, सुमन गिरी, सञ्चारकर्मी लक्ष्मण सुवेदी र अनुप भट्टराईले ३ लाख रुपैयाँ जम्मा गरेर कलाकारलाई प्रदान गरेका हुन् ।
सो कार्यक्रमका संयोजक तथा नेपाल चलचित्र संघका अध्यक्ष पुष्कर लामाले आर्थिक अभावका कारण कतीपय प्राविधिकलाई घरबेटीले निकाल्न लागेको बेला यो रकमले पनि केही रहत पुग्ने बताए । संघका निवर्तमान अध्यक्ष मनोज केसीले पनि कलाकारहरूको यो सहयोगले प्राविधिकहरूलाई आफूलाई गाह्रो पर्दा चलचित्रमै सहयोगी हातहरू छन् भन्ने महसुस भएको बताए ।
मुलुकमा लकडाउन भएको पनि ८२औं दिनसम्म पुग्दा आफूहरूले ठूलो आर्थिक संकट झेलेको धेरै प्राविधिकहरूको गुनासो थियो । आफूहरूलाई प्राप्त यो सहयोगबाट धेरैजसो प्राविधिकले कोठा भाडा तिर्ने बताए ।