काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को चैत २९ गते हुने नयाँ नेतृत्वको लागि वासु नेपालको समूह अगाडि देखिएको छ । २ वर्षको लागि नयाँ नेतृत्व चयन हुँदैछ । झण्डै २ सय सदस्य रहेको शैक्षिक परामर्शदाताहरुको साझा संस्था फेकन २०६५ सालमा स्थापना भएको हो । सदस्य, वरिष्ठ उपाध्यक्ष भइसकेका नेपालले अहिले अध्यक्षको दावी गरेका हुन् । उनले सबै व्यवसायीको पक्षमा साझा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, २ जना सचिव, कोषाध्यक्ष र ६ सदस्यीय निर्वाचनबाट आउने छन् । उपाध्यक्ष, सहकोषाध्यक्ष र तीन सदस्य मनोनीत गर्ने प्रावधान रहेको छ । २२ गते साधारणसभा गर्ने फेकनले जनाएको छ । अध्यक्षका उम्मेदवार दिने तयारीमा रहेका नेपालले आफ्नो उम्मेदवारीबारे पनि मतदाताहरुलाई जानकारी दिइसकेका छन् । संस्था स्थापनामा महत्वपूर्ण योगदान गरेका नेपालले शैक्षिक क्षेत्रमा देखिएका समस्याको अन्त्य गर्ने, सरकार र शैक्षिक परामर्शदातावीच छलफल गरी कुनै पनि विषयको टुंगो लगाउने र आफूहरु विरुद्धमा शिक्षा मन्त्रालयले बनाएका नीति नियमको विरुद्धमा गएर सहजीकरण गर्ने पनि बताएका छन् । उम्मेदवारी दिइरहँदा उनले २ वर्ष सम्मका आफ्ना योजना पनि तयार पारेका छन् । व्यवसायीलाई मर्यादित र सबैको विश्वासिलो बनाउने उनको योजना छ । व्यवसायमा देखिएका नकारात्मक भावनालाई चिर्दै अभिभावक, विद्यार्थी र समाजमाझ व्यवसायीलाई चिनाउने पनि उनले योजना बनाएका छन् । झण्डै डेढ दशक अघिदेखि सक्रिय उनी प्रोफेशनल भिजा एण्ड एजुकेशन सर्भिसका प्रबन्ध निर्देशक हुन् ।