काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका तत्कालीन सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको पक्षमा प्रधानमन्त्री ओली नै खुलेर लागेका छन् । विहीबार पार्टीको बागमती प्रदेश स्तरीय कार्यक्रममा ओलीले बाँस्कोटाको अडियो प्रकरणबारे खुलेरै बचाउ गरेका छन् ।
ओलीले त्यो आवाज बाँस्कोटाको रहेको भन्ने प्रमाण नभएको मात्र भनेनन सरकार विरुद्धमा एउटा शक्ति लागेकाले आफूहरुलाई बदनाम गर्न खोजेको समेत टिप्पणी गरे । सत्यतथ्य केहो भन्ने विषय अहिले छानविनको क्रममा रहेको छ । केहीदिन अघि बाँस्कोटा र विजय प्रकाश मिश्रबीचको अडियो सार्वजनिक भएको थियो । अडियोमा बाँस्कोटाले प्रेस खरिदमा आफूलाई ७० करोड कमिनश आफूलाई चाहिन्छ भनेर बोलेका थिए । २७ अर्व लाग्ने मेशिन खरिदमा बाँस्कोटाले नै एक अर्व बढाउन र कमिशनको मात्रा बढी दिलाइदिन समेत मिश्रलाई अनुरोध गरेको खुलेको थियो । बाँस्कोटाको बचाउमा प्रधानमन्त्री मात्र होइन, प्रधानमन्त्रीका आसेपासेहरु र अरौटे भरौटेहरु समेत खुलेरै लागेका छन् ।
बाँस्कोटाले आफुनो राजनीति सकेका छन् । यो प्रकरणले सरकारलाई समेत असर पुगेको छ । सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने नारा बोकेर आएर सरकार गठन भएको पनि २ वर्ष बितिसकेको छ । यसवीचमा जनताले अनुभूत गर्नेगरी कुनै पनि काम हुन सकेका छैनन् । भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीको नारा केवल भाषणमा मात्रै सीमित भएको छ । झनै यो प्रकरणले त सरकारको वास्तविक चरित्र के भन्ने प्रष्ट हुन पुगेको छ । बाँस्कोटा ओलीका अत्यन्तै प्रिय पात्रका रुपमा चिनिन्छन् । बाँस्कोटा मन्त्री भएपछि ओलीकै बालकोटस्थित घरमा बसे र अहिले पनि उनी त्यही बसिरहेका छन् ।