Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आमाको नामबाटै नागरिकता दिने प्रावधान ऐतिहासिक कदम : सांसदहरू


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १५ २०८२
  • 1.3K
    SHARES

काठमाडौँ । एकल आमाका सन्तानलाई आमाको नामबाटै नागरिकता दिने प्रावधानसहित प्रस्तुत भएको नागरिकता विधेयक सामाजिक न्याय र लैङ्गिक समानताको हिसाबले ऐतिहासिक कदम भएको सांसदहरूले बताएका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा भाग लिँदै सांसदहरूले यस्तो धारणा राखेमा हुन् ।

एकल आमाले हुर्काएका सन्तानलाई आमाको नामबाट नागरिकता दिने विधेयकमा गरिएको व्यवस्था सकारात्मक रहेको उनीहरूको भनाइ छ । केही सांसदहरूले विदेशी श्रीमानसँग विवाह गरेका नेपाली महिलाका सन्तानलाई पनि नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । नागरिकता नभएकै कारण राज्यबाट वञ्चित नागरिकहरूको समस्याहरू प्रस्तावित विधेयकले हल गर्नेमा उनीहरूको विश्वास छ ।

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले बाबु गुमाएका वा बाबुको गैरजिम्मेवारीका कारण नागरिकता नपाएका सन्तान तथा विदेशमा सन्तान जन्माएर फर्किएकी नेपाली महिलाका सन्तानको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरे । उनले विधेयकले कुनैपनि नागरिक नागरिकताबाट वञ्चित नहोस् भन्ने सुनिश्चितता गरेको बताए ।

उनले भने ‘संविधानको भावनाअनुसार आमाको नामबाट मात्र पनि नागरिकता पाइने प्रावधानको ऐन निर्माण गर्दैछौँ । यो सकारात्मक छ । कुनैपनि नेपाली नागरिकले नागरिकता पाउने कुराबाट वञ्चित हुन नपरोस् । गैरनागरिकले कुनैपनि अवस्थामा नागरिकता नपाओस् । यो विधेयकको मुख्य विषय यही हो भन्ने मलाई लाग्छ । त्यसमा हामी सबैको ध्यान जानुपर्छ । यस विधेयकमा गरिएको व्यवस्थाले एकल आमाका सन्तानले पनि आमाको नामबाट नागरिकता प्राप्त गरी स्वाभिमान देखाउन सक्ने जुन सम्भावना छ । यो एउटा निकै स्वाभिमान र सहअस्तित्व निर्माण गर्नसक्ने म विश्वास गर्न चाहन्छु । बाबुको गैरजिम्मेवारीको कारण एकल आमाले हुर्काएका सन्तान र वैदेशिक रोजगारीमा गएका महिलाले उतै जन्माएको वा गर्भमा लिएर आएको सन्तान पनि नागरिक बन्ने अवसर प्राप्त भएको छ ।’

नेकपा (एमाले) की सांसद ज्वालाकुमारी शाहले नागरिकता विधेयकले महिलाको हक सुनिश्चित गरेको दाबी गरे । उनले नेपाली महिलाले विदेशी श्रीमानसँग विवाह गरेपछि सन्तानलाई नागरिकता दिन पाउने अधिकार समेत विधेयकले सुनिश्चित गर्नुपर्ने बताए । यद्यपि यसका लागि यथोचित प्रमाण र प्रक्रिया आवश्यक पुरा गर्ने व्यवस्था हुनुपर्नेमा उनको जोड छ ।

उनले दोहोरो नागरिकताको पूर्णरूपमा निषेध गरेपनि विदेशमा जन्मेका नेपाली मूलका सन्तानलाई विशेष परिचय पत्र दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव समेत गरे ।

उनले भने ‘महिलाको हक सुनिश्चितताको विषयमा नेपाली महिलाले विदेशी श्रीमानसँग विवाह गरेपछि आफ्नो सन्तानलाई दिलाउनुपर्ने नारिकता र उसको नागरिकता पाउनुपर्ने अधिकार सुनिश्चित गर्नुपर्छ । यो कुरा विधेयकमा पनि समेटिएको छ । तर यथोचित प्रमाण र प्रक्रिया आवश्यक हुनुपर्छ । नेपालमा दैद्ध नागरिकतालाई पूर्ण रुपमा निषेध गर्नुपर्छ । तर विदेशी मुलुकमा जन्मेका नेपाली नागरिकका सन्तानले विदेशको नागरिकता पाएको भएपनि विशेष परिचय पत्र दिने व्यवस्था गर्नुपर्छ ।’

नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराई–मधेसमा नागरिकता नपाएका नागरिकहरूले भोग्नुपरेको समस्या औँल्याउँदै नागरिकता विधेयकले ती समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । उनले अहिले पनि मधेशका अधिकांश ठाउँका नागरिकले नागरिकता अभावकै कारण शिक्षा, स्वास्थ्य लगायतका आधारभूत अधिकारको समेत उपभोग गर्न नपाएको सुनाए ।

उनले भने ‘नेपालमा नागरिकताको समस्या जुन हिसाबले समाधान हुनुपर्ने हो त्यो हिसाबले समाधान हुन सकिरहेको थिएन । आज वास्तवमा आम नागरिक यो विधेयकको प्रतीक्षामा छ । नागरिकताको समस्या देशकै सबैभन्दा ठुलो समस्याको रुपमा रहेको छ । कुनै ठाउँमा कम छ भने कुनै ठाउँमा बढी छ । नागरिकताको सबैभन्दा बढी समस्या तराई मधेशका जिल्लाहरूमा रहेको छ । नागरिकता अभावकै कारण त्यहाँका कतिपय नागरिकले जग्गा किन्न नपाउने, बैंकमा खाता खोल्न नपाउने, राजनीतिक अधिकारबाट समेत वञ्चित हुनुपरेको थियो । र जागिर पनि गर्न पाउँदैनथ्यो । यी तमाम समस्याहरू आज प्रस्तुत हुने विश्वास पलाएको छ ।’

नेपाली आमाबाट जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको बाबुको ठेगाना नभएको वा बेपत्ता भएको अथवा सहयोग नगरेको मानिसलाई पनि जिल्लाबाटै नागरिकता दिने व्यवस्था नागरिकता विधेयकमा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४