काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले सोमबारदेखि देशभर अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार, ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक सवारी साधनहरू ग्यारेजमै थन्क्याउने निर्णय गरिएको हो। निजी प्रयोजनका लागि किनेका सवारीसाधनलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने प्रावधान खारेज गर्न आग्रह गर्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।
राईका अनुसार, यससम्बन्धी ध्यानाकर्षण पत्र सम्बन्धित निकायमा बुझाइएको भए पनि सरकारले कुनै चासो नदिएको भन्दै बाध्य भएर सवारी सञ्चालन रोकिने निर्णय गरिएको हो ।
आइतबार जारी गरिएको समितिको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनबाट उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले वहन गर्नुपर्नेछ । आम नागरिक, यात्रु, मजदुर, कर्मचारीहरूलाई आन्दोलनमा सक्दो साथ र समर्थन जनाउन आग्रह गर्दछौं ।’
सरकारले समस्या समाधानतर्फ कुनै स्पष्ट कदम नचालेको भन्दै समितिले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएको छ ।