Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पढाइमा अब्बल बन्दै चेपाङ बालबालिका


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १३ २०८२
  • 893
    SHARES

काठमाडौँ । चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हात पार्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका-१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ ।

कक्षा ८ मा अध्यापन सुरू गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो । यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया बताउँछन् ।

शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उनको भनाइ छ । थपलियाका अनुसार यस वर्ष १३ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । त्यसमध्ये एक जनाले ए प्लस, सात जनाले ए र दुई जनाले बि प्लस ल्याएका छन् । ‘पहिलो वर्षमा नै यसरी उत्कृष्ट नतिजा ल्याउँदा निकै खुसी छौँ । शिक्षक र विद्यार्थीको अथक मेहनतले यहाँसम्म आइपुगेका हौँ’, उनले भने ।

चेपाङ बालबालिका मात्र अध्ययनरत यस विद्यालयको नतिजाले सबैलाई उत्साहित बनाएको भन्दै प्रअ थपलियाले आवासीय सुविधासहित छात्रावास सञ्चालनले चेपाङ बालबालिकाको शिक्षामा सुधार देखिएको बताए । राप्ती नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय छन् । त्यसमध्ये कान्देश्वरी आधारभूत विद्यालयसहित तीनवटा स्कुलले कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको नगरपालिकाको शिक्षा शाखाकी प्राविधिक सहायक लक्ष्मी लामिछानेले बताइन् ।

बजार क्षेत्रका विद्यालयसँगै विकटमा रहेको विद्यालयले पनि प्रतिस्पर्धा गर्न सक्छन् भन्ने उदाहरण कान्दाको विद्यालय बनेको उनले बताइन् । कान्दा चितवनको सबैभन्दा विकट ठाउँका रूपमा चिनिन्छ । सवारीसाधन र बिजुली समेत नपुगेको यस ठाउँ शिक्षाको क्षेत्रमा रुपान्तरण हुँदै गइरहेको सीताबहादुर चेपाङ बताउँछन् । पछिल्लो समय बालबालिकामा पढाइप्रति लगाव बढेको भन्दै हरेक अभिभावकमा आफ्ना छोराछोरी स्कुल पठाउनुपर्ने धारणा विकास भएको उनले बताए ।

यहाँ पुग्न अझै पनि दुई/तीन घण्टा हिँड्नुपर्ने बाध्यता छ । कक्षा ८ उत्तीर्णपछि अन्य ठाउँमा जानुपर्ने बाध्यता छ । गरिबीका कारण यहाँका बालबालिकाले बीचमै पढाइ छाड्ने गर्छन् । पछिल्लो समय ८ कक्षा उत्तीर्ण बालबालिकालाई लक्ष्मी प्रतिष्ठानले काभ्रेमा सञ्चालन गरेको छात्रावासमा कक्षा १२ सम्म पढाउन लैजाने गरेको छ ।

यहाँ २०७२ साल अगाडि कक्षा ३ सम्ममात्रै अध्यापन हुने गरेको थियो । २०६७ मा एकै घरका आठ जनाले विषालु च्याउ खाएर ज्यान गुमाएपछि विभिन्न सङ्घसंस्था र राज्यको ध्यान केन्द्रित हुन थाल्यो । लक्ष्मी प्रतिष्ठान र मितेरी फाउण्डेशनले चेपाङ समुदायको उत्थान र बालबालिकाको शिक्षाका लागि काम गर्न थाले ।

स्कुलमा लक्ष्मी प्रतिष्ठानले छात्रावास सञ्चालन गरिदिएको छ भने फाउण्डेशनले दुई शिक्षकको व्यवस्था गरिदिएपछि कक्षा ८ सम्मको पढाइ सम्भव भएको हो । त्यसभन्दा अघि यहाँका अधिकांश बालबालिकाले कक्षा ३ पढेपछि बीचमै पढाइ छाड्ने गरेको प्रअ थपलिया सुनाउँछन् ।

विभिन्न दाताको सहयोगमा कक्षा ८ सम्मको पढाइ गरे पनि दरबन्दी अभावका कारण कक्षा सञ्चालन गर्न समस्या आएको उनको भनाइ छ । निमावि तहमा १० जना शिक्षकको दरबन्दी भएपनि अहिले ७ जनाको मात्र रहेको साथै शौचालय, पुस्तकालयको अभाव रहेको उनले गुनासो गरे । पचास जना विद्यार्थी पनि नहुने यस विद्यालयमा अहिले १५० जना पढिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४