Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीमतीको शव टापुमा छ, घाइते श्रीमान पैदलयात्रामा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १५ २०८१
  • 1.5K
    SHARES

काठमाडौँ  । खाँडादेवी गाउँपालिका–३, रामेछापका विश्व माझी र उनकी श्रीमती अञ्जना बिरामी आमालाई भेटेर शुक्रबार अपराह्न राजधानी फर्किन गाडी चढेका थिए ।

मंगलटार आएपछि पहिरो गएको भन्दै प्रहरीले उनीहरु चढेको गाडीलाई बाटोमै राक्यो । माझीले भक्तपुर बोडेस्थित लर्ड बुद्ध स्कुलमा क्यान्टिन चलाउँथे । त्यसैले आइतबारसम्ममा उनी जसरी पनि घरमा पुगिसक्नु पर्ने थियो ।

उनलाई लागेको थियो, शनिबारसम्ममा बाटो कसो नखुल्ला ! तर, शनिबार पनि पानी रोकिएन । बरु थप केही ठाउँमा पहिरो गएको सूचना आयो । ‘अर्को दिनपछि फेरि गाडीमै बसेर समय नकटाउने भन्ने भयो’, माझीले सुनाए, ‘कति मान्छेहरु हिँड्न थालिसकेपछि हामी पनि जाने भयौं ।’

माझीका अनुसार, शनिबार साँझ ५ बजेतिर उनीसहितको समूह डम्फु पार्क नजिकै रहेको भ्याकुरे खोलामा पुग्यो । ‘त्यहाँ बाटो नै बगाएको थियो, नतरी अघि बढ्न सक्ने स्थिति भएन’, उनले भने, ‘त्यसपछि हात समातेर छिर्ने कुरा भयो ।’

उनका अनुसार, अगाडि दुई जना खोलामा पसे । उनी र श्रीमती अञ्जना पछाडि हात समातेर बसे । अञ्जनाको हात उनले कसिलो गरी समातिरहेका थिए । तर, कट्न लागेका बेला अगाडि रहेका व्यक्ति एक्कासी चिप्लिए ।

‘हेर्दा त खोला खासै ठूलो थिएन, तर पानी एकदमै धेरै रहेछ’, माझीले भने, ‘अगाडिको मान्छे दह्रो भएन, ऊ लडेपछि सबै बिग्रियो ।’ चार जना हात समातेर हिँडिरहेकोमा एक जना लडेपछि उनी र अञ्जना पनि खोलामा लडे । चिसो पानीमा दुवै उठ्नै सकेनन् ।

माझीका अनुसार, अँध्यारो पनि हुन थालिसकेको थियो । ‘भुल्टुङ भुल्टुङ गर्दै बुढी र मलाई बगाउन थाल्यो’, मलिन हुँदै उनले सम्झिए,बुढीलाई बचाउन सकिनँ ।’ माझीका अनुसार, उनलाई पनि बगाएर डेढ किलोमिटर तलसम्म पुर्‍याएको थियो । ‘अरु दुई जना तैरिएछन्, म निकै तल पुगेँ’, उनले थपे, ‘खै कसले हो मलाई तान्यो, बुढीको अनुहारै पनि हेर्न पाइनँ ।’

बोडेमा रहेकी कक्षा ४ मा पढ्ने छोरीलाई आमा बितेको अहिलेसम्म थाहा छैन । ‘मेरो बुढी त मर्‍यो, मर्‍यो । म पनि बालबाल बचेँ’, माझीले भने, ‘छोरी एउटा मात्र हो, उसलाई मैले कसरी ममी छैनन् भनुँ ?’ अन्तिम पटक भएपनि आमाको मुख हेर्नलाई ल्याउन चाहे पनि नसकेको उनले बताए ।

आइतबार बिहानसम्ममा उनकी श्रीमती अञ्जनाको शव त भेटियो । तर, भक्तपुर ल्याउनलाई सडकका कारण सम्भव भएन । ‘मन्त्री, गृहमन्त्रीदेखि सबैलाई फोन गरिसक्यौं, तर हिजोदेखि लास त्यत्तिकै छ’, माझीले भने, ‘बुढीलाई टापुमा छाडेर आएको छु, दुई/चार जना गाउँलेले राखेका छन् ।’

उनी पनि घाइते अवस्थामा पैदल हिँडिरहेका छन् । हात जिउ र खुट्टामा चोटै चोट लागेको छ । उनीसँगै आउँदै गरेका लालबहादुर गुरुङका अनुसार, माझीले आइतबार मात्र सामान्य उपचार पाए ।

‘आइतबार मात्र हेलिकप्टरमार्फत उहाँलाई भकुण्डेसम्म सेनाले ल्यायो’, गुरुङले भने, ‘त्यहाँ मात्र उहाँको खुट्टामा ब्याडेजदेखि प्राथमिक उपचार भयो ।’

गुरुङका अनुसार, माझीसँगैको समूहमा कम्तीमा ३०/४० जना अघि बढिरहेका थिए ।

‘कतिपय विदेश जान लाग्नुभएको थियो, शनिबार फ्लाइट थियो, त्यसपछि खोला नतरी नहुने स्थिति भयो’, उनले भने, ‘त्यसक्रममा ग्रुप बनाएर तर्न खोज्दा धेरैलाई बगाएको थियो ।’ कतिपयलाई त्यहीँ हिँडेका मानिसहरुले तानेर उद्दार गरेका थिए ।

उनका अनुसार, शनिबार माझीकी पत्नी अञ्जनालाई बगाउँदा प्रहरी त्यहाँ आइपुगेकै थिएन । ‘प्रहरी पनि थिएन, सबैलाई आ–आफू कसरी बाँच्ने भन्नेमा थिए’, उनले भने, ‘त्यसैले उद्दारका लागि केही राम्रो प्रयास गर्न सकेनौं ।’

माझी पत्नीको ज्यानै गयो, अरु थुप्रै पनि घाइते भएको उनी बताउँछन् ।

मंगलटारदेखि हिँडेर काभ्रेको नमोबुद्ध नगरपालिका–२, बेला सम्म आइपुगका सुनसरीका मनोजकुमार राउतका अनुसार, माझी, खड्काहरुसँगै मंगलटारबाट हिँडेको उनको समूह चाहिँ पहाडको बाटो छिचोल्दै आएको थियो ।

‘बाटो बगाएपछि एउटै घुम्ती कट्नलाई चार घन्टाभन्दा धेरै लाग्ने पहाड चढेर हिँड्यौं’, उनले भने, ‘त्यहाँ बाटो पनि थिएन, सबैले हात समात्दै हिँडेको हो ।’

घाँस समात्दै आफैं बाटो बनाउँदै हिँडेको उनले बताए । बाटोमा रहेका प्रहरीले १० मिनेटको बाटो भनेपछि आफूहरु हिँडेको उनले बताए । ‘मलाई त माथि चढेपछि मर्छु कि बाँच्छु होला जस्तो भयो’, उनले भने, ‘बाटोमा खान पनि केही पाइएन । भेटिएको ठाउँमा खानाको दुई सयदेखि तीन सय रुपैयाँसम्म लिए ।’

उनका अनुसार, एक जना साथी पहाडमै समेत खसेका थिए । ‘कतिपय आफैं माथि उक्लिएर आए, कतिलाई साथीभाइले ताने’, उनले भने, ‘कुन दिनमा हिँडिएछ जस्तो भो ।’

इलाका प्रहरी कार्यालय, मंगलटारका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण गिरीका अनुसार, शुक्रबारदेखि अविरल वर्षापछि बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा कम्तिमा ७ हजार यात्रुहरु अलपत्र परेका थिए । त्यसक्रममा ३ सय बढीलाई हेलिकप्टरबाट उद्दार गरिएको उनी बताउँछन् ।

‘५ सय बढीलाई मंगलटारमै होल्ड गरेर राख्यौं’, उनले भने, ‘डम्फु पार्कबाट झण्डै १६ सयभन्दा बढीलाई पारि कटायौं ।’ गिरीका अनुसार, विपी राजमार्गका ११ स्थानमा ठूलो पहिरो गएर सडक अवरुद्ध भएको थियो ।

‘३५ सय बढी मानिसहरुलाई बाटोमा शनिबार राति मंगलटार वरिपरिको स्थानमा राखेका थियौं’, उनले भने, ‘स्थान अभाव भएपछि पुरानो हिरासत कक्षमा राखेर समेत व्यवस्थापन गर्‍यौं ।’

हेलिकप्टरमार्फत उद्दार सामग्रीहरु आएपछि केही सहज भएको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेका प्रमुख विकास तामाङका अनुसार, सोमबार मात्रै कम्तिमा ८ सय व्यक्तिहरु पैदल हिँडेर काठमाडौंतर्फ आएका छन् ।

‘स्थानीय निकाय, समाजसेवी र सडक विभागसँग मिलेर बाटो खुलाउने प्रयास गरिरहेका छौं’, उनले भने, ‘भोलि बिहानसम्ममा भकुण्डेसम्म यातायात सञ्चालन गर्न सक्ने बनाउने प्रयासमा छौं ।’

अत्यधिक वर्षा हुनेबारे जानकारी भएपनि यो तहको क्षति होला भन्ने कल्पना नहुँदा बढी क्षति भएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल बताउँछन् । ‘स्थानीय तह, संघसंस्था लगायतसँग मिलेर बाटोमा आउनेलाई खानालगायतका व्यवस्थापन गरेका छौं’, उनी भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४