Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोदो : बाली रैथाने, तर बर्सेनि ७५ करोडको आयात


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १५ २०८१
  • 5.2K
    SHARES

काठमाडौं । कोदोलाई नेपालको रैथाने खाद्य बाली हो । प्रत्येक १५ साउनमा नेपालका विभिन्न ठाउँमा ‘कोदो दिवस’ अनौपचारिक रूपमा मनाउने गरिन्छ । कोदो रोप्ने मुख्य सिजन साउन भएकाले अनौपचारिक रूपमा १५ साउनलाई कोदो दिवसका रूपमा मनाउँदै आएको कृषि मन्त्रालयले जनाएको छ ।

मुलुकका ७७ जिल्लामा कोदो खेती गरिएको पाइए पनि यो उत्पादनका हिसाबले अत्यन्तै कम छ । नेपालमा सबैभन्दा धेरै यसको खेती हुने जिल्ला खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा र सिन्धुली हुन् । कोदो कम वर्षा हुने क्षेत्र, कम उर्वर भूमि, सिञ्चित र असिञ्चित दुवै अवस्थामा पनि उब्जिन सक्ने भएकाले यसको व्यावसायिक उत्पादन हुन नसकेको कृषि मन्त्रालयका अधिकारीहरू स्विकार्छन् ।

तर, कोदो नेपालको रैथानै बाली भनिरहँदा नेपालले करोडौंको आयात गरेको तथ्यांक भेटिन्छ । भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै १ करोड ५२ लाख ९२ हजार किलो अर्थात् ७५ करोड ४१ लाख रुपैयाँको कोदो आयात भएको छ ।

यस्तै कोदोको बिउ २ लाख २८ हजार रुपैयाँ बराबर आयात भएको छ । यसो त नेपालले कोदो आयात मात्रै नभई निर्यात पनि गर्छ, तर थोरै मात्रामा ।

गत आव नेपालले आठ देशमा कोदोको बिउ निर्यात गरेको थियो । यसले नेपाली कोदोको बिउ अस्ट्रेलिया, हङकङ, जापान, क्यानडा, इटाली, कोरिया, अमेरिका, वेलायतमा निर्यात भएको देखिन्छ । जसमा सबैभन्दा धेरै दक्षिण कोरियामा २८ लाख ६५ हजार रुपैयाँ बराबर निर्यात भएको छ । यस्तै अस्ट्रेलिया, हङकङ र कोरियालाई थोरै भए पनि कोदो निर्यात गरेको देखिन्छ ।

कृषि मन्त्रालयका एक अधिकारीका अनुसार यसरी कोदो निर्यात हुनु नेपाली बिउको विश्व बजारमा माग रहेकाले नमुनाका रूपमा गइरहेको हो । ‘हाम्रो रैथाने बिउलाई धेरै देशले परीक्षण गर्न लगेको पनि देखिन्छ, अर्को चाहिँ नेपालीहरू धेरै रहेको देशमा त्यहाँका स्थानीय पसलेहरूले पनि लगेका हुन्, व्यावसायिक रूपमा कोदो खासै निर्यात हुँदैन,’ उनले भने ।

ब्रान्डिङ ढिला हुँदा उत्पादनमा आकर्षण भएन : कृषि अर्थशास्त्री

कृषि अर्थशास्त्री अभिनाश सिलवाल नेपालको रैथानै बाली ब्रान्डिङ गर्न ढिला हुँदा कोदो आयात गर्नुपर्ने अवस्था आएको बताउँछन् । ‘हाम्रो सरकार र किसान दुवैको फोकस नगदे बाली र तरकारीमा मात्रै भयो, तर संसारभरि नै हुने कुरामा फोकस गरिएन, कोदो–फापरमा ध्यान दिइएन यसको असर हो करोडौंका आयात हुनु,’ सिलवालले भने । उनले अहिले नै बेलैमा नेपालमा कोदो खेतीलाई ब्रान्डिङ गरेर उत्पादन नलिए केही समयपछि नेपालको रैथाने भन्ने अस्तित्व नै नरहने बताए । नेपालको बिउ विदेश गइरहनुलाई उनले कोदोको महत्त्व संसारभरि हुँदा नेपालले मार्केटिङ गर्न नजानेको बताए ।

के हो कोदो ?

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार वैज्ञानिक भाषामा कोदो, चिनो, कागुनो, जुनेलो, बाजरा, साँवा लगायत बाली सबै कोदो वर्गमा पर्दछन् । तर, नेपाली भाषामा कोदो भन्नाले मसिना गोलाकार दाना हुने घाँसे परिवार अन्तर्गत पर्ने परम्परागत अन्नबाली बुझिन्छ । नेपालमा खेती हुने कृषकका स्थानीय जातमा अरुण कोदो, भदौरे कोदो, बौलाहा कोदो, चरिकोटे कोदो, चुल्ठे कोदो, च्याल्से कोदो, च्याल्ठे कोदो, डल्ले कोदो, डल्ले सेतो, डुँडे कोदो, दूधे कोदो, झुप्पे कोदो, कालो बुंगे, कालो कोदो, कात्तिके कोदो, कात्तिके डल्ले, किर्ने कोदो लगायत ५० भन्दा बढी छन् । त्यस्तै उन्नत जातमा ओख्ले–१, डल्ले–१, काब्रे कोदो–१, काब्रे कोदो–२, शैलुङ कोदो–१ छन् ।

केन्द्रले निकालेको एक प्रकाशन अनुसार देशको कुल खाद्यान्न बाली क्षेत्रफलको ७.७ प्रतिशत हिस्सा ओगट्ने कोदोले कूल क्षेत्रफलको ९५ प्रतिशत पहाडी भेगमा मात्रै पर्छ । नेपालको तराइदेखि समुद्र सतहबाट ३ हजार १ सय मिटरसम्मका उच्च पहाडी क्षेत्रसम्म कोदो खेती गरिने गरेको उक्त प्रकाशनमा उल्लेख छ ।

कोदोको महत्त्व र विशेषता

परम्परागत रूपमा कोदो मुख्यतः ढिँडो, रोटी, रक्सी र पशु आहारामा प्रयोग हुने गरेको पाइन्छ । यसको ढिँडो कडा परिश्रम गर्ने श्रमजीवीको पहिलो रोजाइको खाना हो । नेपालका आदिवासी जनजाति समुदायमा कोदोको सांस्कृतिक महत्त्व पनि रहेको छ । चाडपर्व तथा पूजाआजामा कोदोको रक्सी चढाउने तथा अतिथि सत्कारमा समेत प्रयोग हुने गर्छ । खेती गर्न सजिलो हुनुका साथै कोदो ज्यादै पौष्टिक खाद्यान्न हो ।

केन्द्रका अनुसार पौष्टिक खाद्यतत्वका हिसाबले अन्य बालीभन्दा कोदोलाई उच्च स्थान दिन सकिन्छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८.८ गुणा बढी क्याल्सियम पाइन्छ । त्यस्तै चामलभन्दा २.३ गुणा, मकैभन्दा ३.७ गुणा र गहुँभन्दा १.५ गुणा बढी फलाम पाइन्छ । १ सय ग्राम कोदोबाट औसतमा ७६.३ ग्राम कार्बोहाइड्रेड, ९.२ ग्राम प्रोटिन, २.२ ग्राम खरानी, १.४ ग्राम चिल्लो, ३.५ ग्राम रेशा, ३ सय ६० मिलिग्राम क्याल्सियम, २ सय ५४ मिलिग्राम फस्फोरस, ७.४ मिलिग्राम फलाम र ३ सय ३३ क्यालोरी ऊर्जा प्राप्त हुन्छ । कोदोमा पाइने प्रोटिनमा दूधमा जस्तै मिथायोनिन र सल्फरयुक्त एमिनो एसिड पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४