Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पञ्चासिंह १५ वर्षदेखि फरार सूचीमा, दोस्रोपटक पक्राउ पुर्जी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ९ २०८०
  • 2.8K
    SHARES

काठकाडौं । १५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ ।

कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी लक्ष्मण शाहीका अनुसार १५ वर्षअघिको उक्त हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका कालीकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएकी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंह, सोही ठाउँका ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

किटानी जाहेरीमा नाम उल्लेख भएका उनीहरुमाथि गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पक्राउपुर्जी जारी भएको प्रहरीले जनाएको छ । ‘किटानी जाहेरीका आधारमा ६ जना विरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ । उनीहरुको घर-ठेगानामा खोजतलासका लागि पत्राचार गरिसकेका छौं,’ सुर्खेत प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रसिंह थापाले भने ।

घटनाको अनुसन्धान गर्न पछिल्लो पटक सुर्खेत प्रहरीले प्रहरी निरीक्षक कृष्ण खड्कालाई अनुसन्धान अधिकारी तोकेको छ । त्यसो त यो घटनामा अनुसन्धान अधिकृत तोकिएको यो पहिलो पटक होइन । उक्त घटनाका आरोपीलाई पक्रिन भन्दै यसअघि प्रहरीले ३१ जनालाई अनुसन्धान अधिकृत तोकिसकेको थियो । तर ‘हाइप्रोफाइल’ व्यक्ति जोडिएको भन्दै आरोपितलाई पक्राउ गर्ने आदेश भने थिएन ।

‘यो अलि हाइप्रोफाइल जोडिएको घटना भयो । अनुसन्धान अधिकारी तोकिए पनि समातिहाल्ने आदेश भने थिएन,’ पुराना एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘यो राजनीतिसँग जोडिएको घटना भएकाले त्यति चासोका साथ नहेरिएकै हो ।’

कसरी भयो घटना ?

कालीकोटका राजबहादुर सुर्खेतको जन उच्च माविमा कक्षा ११ मा पढ्दै आएका थिए । कालीकोटकै पाखास्थित विद्यालयबाट एसएलसीमा प्रथम भएका उनी उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरेका थिए । मृतकका बुवा नन्दबहादुर मल्ल भन्छन्, ‘पढाइमा सानैदेखि तेज थियो । एसएलसीमा त विद्यालय प्रथम नै भयो । त्योभन्दा माथिको पढाइ झन् राम्रो गर्ला भनेर सुर्खेत पठाएका थियौं । पढ्न पठाएको छोराको हत्या गरिदिए ।’

नन्दबहादुर भन्छन्, ‘उनीहरू शक्तिकै आडमा पक्राउ परेका थिएनन् । अहिले अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अब छोराले न्याय पाउँछ कि भन्ने आश जागेको छ ।’
नन्दबहादुरका पाँच सन्तानमध्ये राजबहादुर साहिँला छोरा हुन् । विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेका राजबहादुर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सचिव थिए । स्ववियु सचिव हुँदा माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूसँग उनको विवाद बढेको थियो ।

गाउँमा आफूसँगै ६-७ कक्षा पढेर माओवादी बनेकाहरू एकाएक भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर उच्च शिक्षाका लागि भर्ना भएपको भन्दै राजबहादुरले त्यसको विरोध गरेको बुवा नन्दबहादुर बताउँछन् । ‘त्यही विवादले नै मेरो छोराको ज्यान लियो । नत्र बाटोमा हिँड्दै गरेको एउटा केटालाई खुकुरीले हानेर मार्नुपर्ने त्यस्तो के अपराध गरेको थियो र मेरो छोराले ?’ नन्दबहादुर प्रश्न गर्छन् ।

राजबहादुरको २०६५ फागुन २६ गते बेलुका बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गर्दा बाटोमै आक्रमण भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राजबहादुरको सुर्खेत वीरेन्द्रनगरको बुद्धपथस्थित देउती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

नन्दबहादुरले छोराको हत्यामा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहितका नेता-कार्यकर्ताहरूको संलग्नता देखिएको भन्दै १३ साउन २०७९ मा पूरक जाहेरी दिएका थिए । दैलेखका थप दुई जनाको भने पहिचान नखुलेकाले जाहेरीमा नाम नराखिएको उनी बताउँछन् ।

हत्याको आरोपीहरुमध्येका एक वीरबहादुर मल्ल नन्दबहादुरकै छिमेकी हुन् । उनी पहिलो स्थानीय तहको निर्वाचनमा खाडाचक्र नगरपालिका-९ बाट वडाध्यक्षका उम्मेदवार बनेका थिए । ‘भेट भएका बेला वीरबहादुरले त्यो हत्यामा मेरो संलग्नता छैन भन्छ । देउताको कसम पनि खान्छ,’ नन्दबहादुरले भने, ‘मुखले भनेर त भएन, जे गर्छ अब कानुनले गर्छ ।’

छोराको हत्याको खबर पाउँदा पनि नन्दबहादुर सुर्खेत आउन पाएका थिएनन् । किनकीछोराको मृत्युको खबर सुनेर आमा गोरीकलाले होस गुमाएकी थिइन् । श्रीमती स्याहारेर बस्न परेपछि उनले आफ्नो कान्छो भाइ नवराजलाई सुर्खेत पठाए । ‘नवराजले नै सुरुको जाहेरी दिएको थियो । त्यसपछि पोस्टमार्टम भएर शव कालीकोट पुर्याइएको थियो’ उनले भने ।

यो १५ वर्षको अन्तरालमा नन्दबहादुर न्यायको खोजीमा कालीकोटबाट धेरै पटक सुर्खेत धाए, प्रहरी र अदालतको ढोका ढकढक्याए । तर न्याय पाएनन् । अहिले फेरि अदालतबाट पक्राउ पुर्जी जारी भएपछि न्यायको आश जागेको उनी बताउँछन् ।

‘मेरो छोरालाई मार्नेहरु मेरै गाउँ-ठाउँका हुन् । कोही टीभीमा देखिन्छन्, कोही बाटामा भेटिन्छन् । सरकार नै अपराधीको संरक्षक बनेपछि हाम्रो त के लाग्छ र ?’ नन्दबहादुर भन्छन्, ‘उनीहरू शक्तिकै आडमा पक्राउ परेका थिएनन् । अहिले अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अब छोराले न्याय पाउँछ कि भन्ने आश जागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४