काठमाडौं । सरकारले नेपाली नागरिकलाई इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न आग्रह गरेको छ ।
गत शनिबार प्योस्टाइनी आतंककारी संगठन महमासले इजरायलमा एक्कासी आक्रमण गरेपछि दुबै देशबीच युद्ध चर्केको छ । इजरायलको अवस्था अझै सामान्य नभएकाले भ्रमण नगर्न सरकारले आग्रह गरेको हो । मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न नेपालीलाई आग्रह गर्नुभयो ।
उहाँले इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारे समितिलाई जानकारी समेत गराउनुभयो । उहाँले १० जना नेपालीको हमासले गरेको आक्रमणमा परी मृत्यु भएको जानकारी पनि समितिलाई दिनुभयो । शवहरु, बंकरबाट सुरक्षित स्थानमा सारिएको र नेपाल आउन इच्छुक अन्य नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । नेपाल फर्किन इच्छुकका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।