Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतीय संसदमा नेपाली भूमि समेटिएको नक्सा राखिएकोमा चर्को आपत्ति


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १७ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । भारतीय संसदको नयाँ भवनभित्र राखिएको ‘अखण्ड भारत’ को भित्ते नक्सामा नेपालको भू–भाग समेत समेटिएको विषय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्कोगरी उठाएको छ । त्यो नक्सामा नेपालको बिराटनगर लुम्बिनी र कपिलवस्तु समेटिएकाले भारत सरकारसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुरा उठाउनुपर्ने नेकपा एमाले नेताहरुले सुझाव दिएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार केन्द्रीय मूख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा भारतीय कदम उचित नभएको बताएका छन् । ‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस्, त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ’, ओलीले भने, ‘यति कुरा गर्न सक्नु हुन्न भने भारत भ्रमणमा किन जाने ?

नेकपा एमालेका अरु नेताहरुले पनि नेपालको भू-भाग समेटिएको मुरल भित्ते नक्सा भारतको संसद भवनभित्र राखिनु आपत्तिजनक भएको बताएका छन् ।

मंगलबार बिहान पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सञ्जालबाट विवादास्पद नक्साले छिमेकहरुबीच अनावश्यक र हानिकारक कुटनीतिक विवाद निम्त्याउन सक्ने उल्लेख गरेका छन् । ‘यसले भारतका निकटतम छिमेकहरुबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वास बढाउने सम्भावना छ’ भारत र नेपालका प्रधानमन्त्रीलाई मेन्सन गर्दै भट्टराईले लेखेका छन्, ‘त्यसैले भारतीय नेतृत्वले यस नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुन्छ ।’

सरकारको नेतृत्व गरिरहेको दल, नेकपा माओवादी केन्द्रको संसदीय दलमा पनि यो विषय उठेको छ । मंगलबार बसेको बैठकमा सांसदहरु पूर्णबहादुर घर्ती, लेखनाथ दाहाल, माधव सापकोटा लगायतले यो विषय उठाएका छन् । तर, प्रधानमन्त्री प्रचण्डले त्यो नक्साको आधिकारिकता बुझ्ने जवाफ दिएका छन्  ।

‘मैले पनि न्युज सुनेको हुँ, थप बुझौंला । आधिकारिकता के हो बुझ्छु’ प्रधानमन्त्री प्रचण्डको जवाफ थियो ।

सरकारले भने मंगलबार साँझसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन । भारत भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलन गरेका परराष्ट्रमन्त्री एनपी साउदले समेत यसबारे केही बोलेनन् । ‘भोलि प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ, त्यसैले कुरा नउठेको हुनसक्छ’, एक पूर्व राजदूत भन्छन्, ‘प्रधानमन्त्री आफैं दिल्ली जाने भएकाले त्यही कुरा गर्ने भन्ने होला ।

प्रधानमन्त्री प्रचण्ड चारदिने भारत भ्रमणमा भोलि (मंगलबार) दिल्ली जाँदैछन् । समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता र संयुक्त प्रेस मिटको कार्यक्रम तय भएकाले त्यो नक्साबारे त्यही कुरा उठाउने आश्वासन प्रधानमन्त्रीले दिएको नेकपा माओवादी केन्द्रका एक नेता बताउँछन् ।

‘अखण्ड भारत’मा अन्य देशका भूमि !

नेपाली भूमि समेत समेटिएको अखण्ड भारत ‘प्राचीन भारत’को नक्सा राखिएको नयाँ संसद भवनको उद्घाटन भारतीय प्रधानमन्त्री मोदीले आइतबार उद्घाटन गरेका थिए ।

सन् १९२७ मा ब्रिटिस उपनिवेदशकालमा बनेको संसद भवनलाई संग्राहलयमा परिणत गरी बनाइएको नयाँ संसद भवन उद्घाटन भारतमै विवादित बनेको थियो । त्यहाँका विपक्षी दलहरुले संसद भवनको उद्घाटन राष्ट्रपतिबाट गरिनुपर्ने तर्क गरेका थिए ।

तर हिन्दू धार्मिक तामझामका साथ मोदीले संसद भवन उद्घाटन गरे । यसलाई विपक्षी दलहरुले संवैधानिक र संसदीय प्रणाली उल्लङ्घन भनेका छन् । मोदीले भने संसद भवन बन्नुलाई प्रगतिको नयाँ उचाइ भनेका थिए । मोदीले ट्वीटमा लेखेका थिए, ‘यसले हाम्रो महान राष्ट्रलाई प्रगतिको नयाँ उचाइमा पुर्याउन सक्छ ।’

त्यो भवनभित्र भारतको इतिहास झल्काउने तस्वीर राख्ने क्रममा सरदार वल्लभ भाइ पटेल, भीम राय अम्बेडकर, चाणक्य लगायतको तस्वीरसँगै ‘अखण्ड भारत’को भित्ते नक्सा राखिएको छ । उक्त नक्सामा पाकिस्तानमा पर्ने तक्षसिलासहित नेपालको कपिलवस्तु र लुम्बिनी नाम राखिएपछि त्यसको विरोध भइरहेको छ ।

‘अखण्ड भारत’ (प्राचीन भारत) भनेर राखिएको उक्त नक्सालाई भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् संसदीय मामिला मन्त्री प्रह्लाद जोशीको ट्वीटलाई बढी आपत्ति जनाइएको छ । विपक्षीले बहिष्कार गरेको संसद भवन उद्घाटन कार्यक्रमपछि त्यही नक्सा राखेर ‘संकल्प प्रष्ट छ, अखण्ड भारत’ लेखेका छन् ।

अर्का सांसद मनोज कोटकले पनि मन्त्री जोशीकै जस्तो सन्देश जाने ट्वीट गरेका छन् । उक्त नक्सा अगाडि उभिएको तस्वीरमा कोटकले लेखेका छन्, ‘नयाँ संसदमा अखण्ड भारत । यसले शक्तिशाली र आत्मनिर्भर भारत ।’ तर भारतीय अधिकारीहरुले भने त्यो प्राचीन भारतको नक्सा भएकाले अहिलेको परिस्थिति र अरु स्वतन्त्र देशको राजनीतिक परिस्थितिसँग तुलना गर्न नमिल्ने प्रष्टोक्ति दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४