काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पछिल्ला भिआइपी पूर्वउपप्रधानमन्त्री तथा पूर्व माओबादी नेता हाल नेकपा एमालेका नेता केन्द्रीय सचिब टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिने भएको छ ।
आइतबार साँझ बुढानीलकण्ठ नगरपालिकाको पासिकोट भन्ने स्थानबाट पक्राउ परेका रायमाझीलाई आइतबार नै काठमाडौँ परिसर लगिएको थियो । प्रहरीले आज उनको स्वास्थ्य परीक्षण गरेर म्याद थपका लागि जिल्ला अदालत लैजानुभन्दा अगाडि केही समय बयान लिने तयारी गरिरहेको छ ।
गत २० गते पक्राउ पुर्जी जारी भएता पनि उनी फरार रहेकै अवस्थामा आइतबारमात्र पक्राउ परेका हुन् । यसअघि यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डेलगायतका १२ जना पक्राउ परिसकेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर, त्यसयता टोपबहादुर फरार थिए, छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् ।
अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्नेछ ।
रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ । उनको सहयोगमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने गिरोहले गृहमन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अधिकृतहरु बताउँछन् ।
यसअघि यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत उच्चपदस्थ व्यक्तिहरू पक्राउ परेका छन् । उनीहरू माथि म्याद थप गराइ प्रहरीले अनुसन्धान गरिरहेको छ ।