पोखरा । पोखरा महानगरपालिका वडा नं.११ कालिखोला देखि काँहुकोटसम्म पुग्ने कालिखोला–काँहुकोट अग्र्यानिक पदमार्ग निर्माण गरिने भएको छ । पदमार्गको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधवार शिलान्यास गरे ।
कालिखोलादेखी काँहुकोटसम्म १.८ कि.मि लम्बाईको अग्र्यानिक प्रकृतिको पदमार्ग निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताए । “पोखरा आसपासमा थुप्रै पदमार्गहरू छन्, तिनीहरूलाई व्यवस्थित गर्दै नयाँ निर्माण पनि गर्नु पनि आजको आवश्यकता हो, प्रमुख आचार्यले भने , अब निर्माण गरिने पदमार्गहरू स्थानीय विशेषता झल्कने र पहिचान सहितका हुनेछन्, त्यस कारण यसलाई हामीले अग्र्यानिक पदमार्ग भनेका छौँ, यो पदमार्गमा यात्राका क्रममा अग्र्यानिक उत्पादनहरूको स्वाद लिन सकिनेछ ।”
पोखरा बजार क्षेत्रमा घुम्नका लागि आउने पर्यटकहरूलाई काँहुकोटसम्म पदयात्रा मार्फत जानका लागि यो उपयुक्त हुने उनले विश्वास व्यक्त गरे । मर्नीङ वाक र इभिनिङ वाकमा जानेहरूका लागि पनि यो पदमार्ग सरल र सहज हुने प्रमुख आचार्यले बताए । पोखराको प्राकृतिक भ्युपोइन्टका रूपमा रहेको काँहुकोटको पर्यटन विकास र प्रवद्र्धनमा पदमार्ग निर्माणले महत्वपुर्ण सहयोग पुग्ने उनले बताए ।
निर्माण समितिका अध्यक्ष तीर्थ बहादुर बस्नेतका अनुसार पदमार्ग स्थानीय कटिङ् डुङ्गाले निर्माण गरिनेछ, भने, ६ इन्च अग्ला ४ हजार सिँढीहरू निर्माण गरिनेछन् । विभिन्न ४ स्थानमा कफिसप सहितका विश्राम स्थलहरू हुनेछन् भने, १० स्थानमा भ्युपोइन्टहरु निर्माण गरिनेछन् । १० फिट चौडाइको पदमार्गको बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने उनले बताए ।

१ घण्टा १५ मिनेटमा पुग्न सकिने पदमार्गको सुरुवाती बिन्दु कालिखोलामा प्राकृतिक पौडी पोखरी निर्माण गरिने छ । पहिलो चरणमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र प्रदेश सरकारको तर्फबाट ३० लाख बजेट विनियोजन भई काम भइरहेको पदमार्ग २०८० सालभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । निर्माण सम्पन्न गर्न ३ करोड अनुमान गरिएको पदमार्गका लागि थप श्रोतको सुनिश्चितताका लागि आवश्यक पहल गर्ने प्रमुख आचार्यले प्रतिबद्धता जाहेर गरे ।