काठमाडौँ । बिहीबार आयोजित समारोहमा श्याम कुँवर, रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । २०७५ देखि २०७९ सम्म क्रमशः सम्मानित हुने उनीहरुलाई जनही ११ हजार १११ रुपैयाँ र सम्मानपत्र प्रदान गरियो । यस्तै, राजु भण्डारी र सावित्री खनाललाई प्रेस चौतारी सम्मान अर्पण गरिएको प्रेस चौतारी कास्की सचिव रञ्जन अधिकारीले बताए ।
प्रेस चौतारी नेपालका इञ्चार्ज एवं नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्मान गर्दै समाजलाई सचेत पार्ने काम मिडियाको हो भने । उनले राष्ट्रिय स्वाधीनतामा आँच आउन लागेको, संघीयताविरुद्ध काम भइरहेको, सिंगो मुलुकलाई संकटमा पार्न लागिएको भन्दै सचेत रहन आग्रह गरे ।
नेता गुरुङले जसको कुनै नीति, सिद्धान्त र विकासको रोडम्याप छैन, त्यसले समाजलाई भ्रममा पारिरहेको टिप्पणी गरे । उनले मूलधारका दलहरुमा पनि सुधारको खाँचो औंल्याए । गण्डकीका पूर्व मुख्यमन्त्री समेत रहेका उनले प्रदेश सरकारहरुले संघीयताअनुरुप काम गर्नुपर्ने, समस्या कहाँ छ, पत्ता लगाउनुपर्ने सुझाव दिए । ‘मुलुकले खोजेको सुशासन र विकास हो । भिजन नयाँ हुनुपर्छ,’ उनले भने, ‘दक्षिणपन्थी अवसरवाद परास्त गर्नुपर्छ ।’ ८० वर्षको वृद्धमा पनि नयाँ भिजन छ भने उही नेतृत्वमा जान सक्ने उनको भनाइ थियो ।
मूलधारका दलहरुमा पनि सुधारको खाँचो-पृथ्वीसुब्बा गुरुङ
एमाले सचिव एवं गण्डकी इन्चार्ज पद्मा अर्यालले समाजमा अराजकता बढ्न नदिन सचेत हुनुपर्ने बताउँदै विश्वराजनीतिको केन्द्र दक्षिण एशिया किन भइरहेको छ, खोजी गर्नुपर्ने सुझाइन् । उनले अहिलेको पत्रकारिता अनुसन्धानमूलक हुनुपर्ने पनि बताइन् ।
एमाले संगठन विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य खगराज अधिकारीले गण्डकीमा संविधानको धाराअनुसार सरकार नबनेर आफूखुसी सरकार बनाउन लागिएको टिप्पणी गरे । उनले समाजलाई सही दिशामा डो¥याउन मिडिया चनाखो हुनुपर्ने सुझाव दिए ।
प्रेस चौतारी केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पोखराको पत्रकारिताले प्रदेशको सिंगो पत्रकारितालाई अगुवाइ गरेको बताए । उनले विभिन्न आन्दोलन र प्रेस स्वतन्त्रताका लागि खबरदारी गर्नुपर्ने बताए । पत्रकार महासंघका नेताहरु संविधानविरोधी काममा लागेको आरोप लगाउँदै यसको खबरदारी गर्नुपर्नेमा उनको जोड छ ।
प्रेस चौतारी केन्द्रीय सचिव एवं गण्डकी इन्चार्ज सुष्मा पौडेलले आफू २ दशकदेखि पत्रकारितामा क्रियाशील रहेको भन्दै यो पुरस्कारले गौरवान्वित बनाएको बताइन् । समस्यामा फसेकाहरुको समाधान होस् र सुव्यवस्थित समाज निर्माणमा आफू विभिन्न अभियानका साथ अघि बढेको उल्लेख गरिन् ।
प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्रप्रसाद पौडेले देशभरका १२ हजार पत्रकारमा गण्डकीमा मात्र ७ सय ८२ पत्रकार रहेको बताए । उनले संगठन सुधारमा आफूहरु अघि बढेको उल्लेख गरे ।
पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकारिता पेसालाई समाजप्रति उत्तरदायी बनाउनु अहिलेको चुनौती हो भनिन् । श्रमजीवीको हकहितका लागि सरकार जवाफदेही बन्नुपर्ने अध्यक्ष भण्डारीको धारणा छ ।
प्रतिभा छनोट समिति संयोजक पुण्यप्रसाद पौडेलले छनोटको प्रक्रियाबारे बोलेका थिए ।
यसअघि प्रेस चौतारी पुरस्कार पुण्यप्रसाद पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङलाई दिइएको थियो । तर विभिन्न परिस्थिति एवं कोरोना भित्रिएसँगै पुरस्कार वितरण रोकिएको थियो ।
प्रेस चौतारी कास्की अध्यक्ष अर्जुन गिरीले जिल्लामा आफ्नो नेतृत्व आइसकेपछि विभिन्न कार्यक्रम गर्दै आएकोमा पुरस्कारलाई पनि निरन्तरता दिएको बताए । कार्यक्रममा स्वागत उपाध्यक्ष मोतीसागर अधिकारी र सञ्चालन रञ्जन अधिकारीले गरेका थिए । सो अवसरमा प्रेस चौतारी नेपाल गण्डकीको क्यालेन्डर विमोचन गरिएको थियो ।